काठमाडौँ । यातायात व्यवस्था विभागले ट्याक्सीको रूपमा प्रयोग हुने सवारी साधनसम्बन्धी राष्ट्रिय मापदण्ड, २०७९ अन्तर्गत विद्युतीय (हाइड्रोजन फ्युल सेल सहित) सवारी साधनलाई पनि ट्याक्सीको रूपमा प्रयोग गर्न अनुमति दिएको छ । विभागले नयाँ मापदण्डमार्फत विद्युतीय ट्याक्सीलाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ ।

मापदण्डअनुसार साधारण ट्याक्सीका लागि ४० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, ६५ न्युटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २३०० एमएमको ह्विलबेस र १६० लिटरको बुट स्पेस हुनुपर्नेछ ।
विशेष ट्याक्सीका लागि ५० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, ८० न्युटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २५०० एमएम वा सोभन्दा माथिको ह्विलबेस र २०० लिटरको बुट स्पेस आवश्यक हुने व्यवस्था गरिएको छ ।
साथै, टच स्क्रिन डिस्प्ले, अगाडि र पछाडि विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल तथा जाडो, गर्मी सबै मौसमका लागि उपयुक्त वातानुकूलन प्रणालीसमेत अनिवार्य गरिएको छ ।

विशिष्ट ट्याक्सीका लागि भने १०० किलोवाट वा सोभन्दा माथिको मोटर पावर, १७० न्यूटन मिटर वा सोभन्दा माथिको मोटर टर्क, २७०० एमएम वा सोभन्दा माथिको ह्विलबेस र ४०० लिटर वा सोभन्दा माथिको बुट स्पेस हुनुपर्नेछ ।
अन्य सुविधामा विद्युतीय स्विचबाट झ्याल खोल्ने-बन्द गर्ने व्यवस्था, हावाको गुणस्तर नियन्त्रक सहितको स्वचालित वातानुकूलन प्रणाली, पछाडिको सिटमा पनि एसी, हेडरेस्ट, आर्मरेस्ट, कप होल्डर, मोबाइल तथा अन्य विद्युतीय उपकरण चार्ज गर्न डीसी वा एसी पावर आउटलेट र वाई-फाई सुविधा व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यातायात व्यवस्था विभागले तयार पारेको यो मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत भई बिहीबारदेखि लागू भएको मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले जानकारी दिइन् । उनको भनाइअनुसार अब ट्याक्सी व्यवसायीहरूले आफ्नो ट्याक्सीको वर्गअनुसार विभागमा दर्ता गराउन सम्पर्क गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १८:५८
सामाग्री श्रोत :
टेक पाना