काठमाडौं- स्वास्थ्य बिमाको विषयमा गरिएको छलफल कार्यक्रमको प्रतिवेदन राष्ट्रिय बिमा बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको छ। विनयतारा फाउन्डेशन र स्वास्थ्य खबर फाउन्डेशनले ‘नेपालमा स्वास्थ्य बीमा: वर्तमान चुनौती र अवसरहरु’ शिर्षकमा गरेको एड्भोकेसी डायलग गरेको थियो।

स्वास्थ्य बिमाका बिज्ञ, पूर्वा पदाधिकारी, सरोकारवाला र नीति निर्माताहरुबीच भएको उक्त छलफल कार्यक्रमबाट प्राप्त निष्कर्ष र सुझाव समेटर प्रतिवेदन तयार पारिएको छ। मन्त्रालयका सचिव डा विकास देवकोटा र बोर्डा अध्यक्ष चन्द्रबहादुर थापालाई भेटेर प्रतिबेदन बुझाइएको हो।
विनयताराका तर्फबाट कन्ट्री डाइरेक्टर हरि तिवारी र स्वास्थ्य खबरका तर्फबाट कार्यकारी सम्पादक डिबी खड्का र कार्यक्रम अधिकृत रोमिका न्यौपानेले प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै सचिव देवकोटा र अध्यक्ष थापाले छलफलबाट निकालिएका निष्कर्षहरु आगामी दिनका लागि मार्गदर्शन बन्ने बताएका छन्। डा देवकोटाले भने, ‘यस्ता छलफलले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन भूमिका खेल्छन्। प्रतिवेदनले औंल्याएका विषयलाई हामी स्वास्थ्य बिमाको आगामी नीति तथा कार्यक्रमहरु निर्माण गर्दा समावेश हुनेछन्।’

यसैगरी बोर्डका अध्यक्ष थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन र आर्थिक दिगोपना सुनिश्चित गर्न आफूहरुले प्रयास गरिरहेको बताए। ‘नेपालमा स्वास्थ्य बीमाको सफल कार्यान्वयनका लागि विभिन्न सरोकारवालाहरु, संघसंस्थाहरु, व्यक्ति र विज्ञहरुका अध्ययन, अनुसन्धान, सुझाव र छलफलका निष्कर्षहरुले हाम्रो नीतिलाई व्यवहारिक प्रयोगका लागि भूमिका खेल्दछन्,’ उनले भने, ‘यसरी आएको सल्लाह र सुझावहरुले नै स्वास्थ्य बीमा बोर्डलाई अझै समृद्ध र यसको कामलाई अझै प्रभावकारी बनाउँछ। हामी यो प्रतिवेदन मिहिनताका साथ अध्ययन गरेर यसले दिएका सुझाव स्वास्थ्य बीमा कार्यान्वयनका क्रममा समेट्नेछौं।’
कार्यक्रमको प्यानलिस्ट डा. भगवान कोइराला, डा. गुणराज लोहनी, डा. सुधा शर्मा र डा. सरोज शर्मा रहेका थिए। सहभागीका रुपमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य मन्त्रालय, बिभिन्न अस्पतालका निर्देशक, स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारी तथा सरोकारवालाहरु थिए।
उक्त कार्यक्रमका अध्यक्ष तथा आयोजक विनयताराका संस्थापक तथा अध्यक्ष डा विनय शाहले स्वास्थ्य बिमा बोर्ड बलियो भएमा मात्रै स्वास्थ्यमा रहेका असमानता घट्ने र सेवा, सुविधा र पहुँचमा रहेको खाडल पुरिदै जाने बताएका छन्। उनले थपे, ‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य बिमालाई नै बलियो बनाउनुपर्छ। त्यसकारण हामीले यसपल्ट एड्भोकेसी डायलगमा स्वास्थ्य बिमामाथि छलफल गर्यौं । बिभिन्न कोणबाट कुरा उठेका छन्। त्यसबाट निकालिएका निष्कर्ष हामीले सम्बन्धित निकायमा बुझाएका छौं। ती निष्कर्षलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिने अपेक्षा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ