२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

टेकपाना फ्याक्टचेक: लाइक-कमेन्टको लोभमा ४ वर्ष पुरानो फोटो भाइरल बनाउँदै ईशा गुरुङसहितका पेज

काठमाडौँ । शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुकमा एक बालक हर्राे बेच्दै गरेको फोटो एकाएक भाइरल छ । धेरैले यो फोटो पोस्ट गर्दै ‘यी बालकले ८० रुपैयाँको हर्रो बेच्दा सरकारले १५ रुपैयाँ कर उठाएको’ दाबी गर्दै पोस्ट गरेका छन् ।

कसैले यो घटना अहिलेको भएको दाबी गरेका छन् भने अधिकांशले सन्दर्भ नै न‍खुलाई भाइरल भएकाे लेखेका छन् । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने ईशा गुरुङले पनि यही फोटो राखेकी छिन् । तर ​टेकपाना फ्याक्टचेकले यो फोटो अहिलेको नभई चार वर्ष पुरानो भएको र १५ रुपैयाँ सरसफाइ शुल्क उठाइएको पत्ता लगाएकाे छ । 

दाबी

शुक्रबार, १८ अप्रिल २०२५ मा आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने ईशा गुरुङले एक बालकको फोटो फेसबुकमा अपलोड गरिन् । उनले लेखेकी छिन्, “#दुखद ८० रुपैयाँको हर्रो बेच्दा यो बाबुबाट १५ रुपैयाँ कर लिएछन्, रसिद त्यहीँ देखिएको छ ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २१०० भन्दा बढी रियाक्सन, २५० भन्दा बढी कमेन्ट र १३० शेयर भएको देख्न सकिन्छ। हेर्नुहोस् ओरिजिनलआर्काइभ लिङ्क

शुक्रबार यो पोस्ट पहिलो पटक राख्ने ईशा गुरुङ होइनन् । उनीभन्दा अगाडि अमृता पौडेल (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क), सुप्रिमखबर (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क), अरुण नेपाली लुइँटेल (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क), खुशी राई (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क), उमेश बोहरा (ओरिजिनल लिङ्कआर्काइभ लिङ्क) लगायतका फेसबुक पेज र प्रयोगकर्ताले पोस्ट राखेका थिए । ईशा गुरुङले पोस्ट राखेपछि त्यही पोस्ट शेयर गर्ने र डाउनलोड गर्नेहरू बढ्दै छन् ।

तथ्य जाँच

ईशा गुरुङले बालकको फोटोसहित सन्दर्भ नखुलाई पोस्ट राखेको फेला परेपछि हामीले फेसबुकमा त्यही क्याप्सन कपी पेस्ट गरेर हेर्‍यौँ । त्यस क्रममा उनीभन्दा पछि सयौँ प्रयोगकर्ता र उनीभन्दा अघि केही प्रयोगकर्ताले त्यसरी नै सन्दर्भ नखुलाई पोस्ट राखेको देखियो ।

भाइरल भइरहेको सो फोटोमा एक किशोर पृष्ठभूमिमा हाटबजार लागेको जस्तो देखिने ठाउँमा हर्रो बेचिरहेका देखिन्छन् । उनको झोलामा तीन ठाउँमा ८-८ दाना भाग लगाएको हर्रो देखिन्छ । त्यही झोलामा कागज पनि देखिन्छ । तर त्यो कागज के हो भन्ने फोटो हेर्दा प्रस्ट हुँदैन ।

कतैबाट सन्दर्भ नखुलेपछि हामीले उक्त फोटो डाउनलोड गरी गुगलमा रिभर्स इमेज सर्च गरी हेर्‍यौँ । त्यस क्रममा कान्तिपुरले १८ वैशाख २०७८ मा प्रकाशित गरेको भिडिओ सामग्री भेटियो । दीपेन्द्र शाक्यले लेखेको उक्त समाचारको शीर्षक थियो ‘८० रुपैयाँको हर्रो बेच्दा ९ वर्षीय बालकलाई १५ रुपैयाँ कर’। यहाँ क्लिक गरेर कान्तिपुरको समाचार पढ्न सक्नुहुन्छ। समाचारभित्र फोटो भने देखिँदैन, तर गुगल र फेसबुकमा उक्त फोटो इन्डेक्स भएको देखिन्छ ।

कान्तिपुरका अनुसार फोटोमा देखिने ती बालक सङ्खु‍वासभा जिल्लाकाे पाँचखपन नगरपालिका–३ माक्सुवाका भुवन कार्की हुन् । यो फोटो खिच्ने बेला २०७८ मा उनी ९ वर्षका थिए ।

सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे हाटमा ती बालकले कापी कलम किन्न घर छेवैमा फलेको हर्रो बेच्न ल्याएका थिए । “उनले गत शनिबार ७ दाना हर्रोको १० रुपैयाँ लिँदै बिक्री गरे । ३ घण्टामा ८० रुपैयाँको हर्रो त बेचे, तर १५ रुपैयाँ भने हाट कर बापत तिरे । खाँदबारी नगरपालिकाले टुँडिखेलमा लाग्ने साप्ताहिक बजारका लागि हाट कर निर्धारण गरेअनुसार ठेकेदारले कार्कीसँग १५ रुपैयाँ कर उठाएका हुन्,” कान्तिपुरले लेखेको थियो ।

शनिबारे हाट बजारमा जति रुपैयाँको सामान बिक्री गरे पनि ठेकेदारले सरसफाइको नाममा करबापत १५ रुपैयाँ उठाउँदै आएका थिए । कोरोना सङ्क्रमणको समयमा ती बालक जङ्गल गएर हर्रो, बर्रो, अमला सङ्कलन गर्थे र शनिबारे बजारमा बिक्री गर्थे । बिक्री नहुँदा पनि उनले त्यहाँ १५ रुपैयाँ सरसफाइ शुल्क बुझाउँदै आएका थिए ।

कान्तिपुरमा समाचार आएपछि उक्त घटनाको विषयमा त्यतिबेला पनि धेरैले चासो दिएका थिए । त्यसरी जङ्गलमा गएर हर्रो, बर्रो र अमला सङ्कलन गरी आफ्नो कापी किताबको खर्च जोहो गर्ने बालकबाट ठेकेदारले सरसफाइ शुल्क उठाउनु जायज नभएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यति बेला चर्को आलोचना गरेका थिए ।

दाबी

अहिले हर्रो बेचिरहेका एक बालकबाट सरकार र स्थानीय तहले करबापत १५ रुपैयाँ उठायो भन्ने दाबी ।

दाबीकर्ता

ईशा गुरुङ, अमृता पौडेल, सुप्रिम खबर, अरुण नेपाली लुइँटेल, खुशी राई, उमेश बोहरा लगायतका फेसबुक पेज र प्रयोगकर्ता ।

तथ्य

कुनै पनि सन्दर्भ नखुलाई शुक्रबारदेखि एक बालकले हर्रो बेचिरहेको देखिने फोटो सामाजिक सञ्जाल फेसबुकमा आइरहेको छ । स्थानीय सरकारले कर उठाएको भनिएको छ, तर फोटो कहिलेको हो, कसले खिचेको हो, कुन सन्दर्भमा खिचिएको हो, कस्तो कर हो, किन उठाएको हो भन्ने स्पष्ट जानकारी दिइएको छैन ।

स्पष्ट सन्दर्भ र जानकारी बिना राखिएको पोस्टलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखिरहेका छन् । केही भने घटनाको सन्दर्भ खुलाउनुपर्ने भन्दै पोस्ट राख्नेमाथि खनिएका पनि छन् । टेकपाना फ्याक्टचेकका क्रममा यो फोटो ४ वर्ष अघिको भएको खुलेको छ । फोटोमा देखिने बालक सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका–३ माक्सुवाका भुवन कार्की हुन् । त्यति बेला उनी ९ वर्षका थिए । उनी सदरमुकाममा लाग्ने हाट बजारमा हर्रो बेच्न गएका थिए ।

स्थानीय सरकारले जुनसुकै व्यवसायीलाई सरसफाइ बापत करको रुपमा १५ रुपैयाँ लिँदै आएको थियो । त्यसरी नै स्थानीय सरकारको मातहतमा काम गरिरहेका ठेकेदारले बालकबाट १५ रुपैयाँ उठाएका थिए । त्यति बेला ती बालकले ८० रुपैयाँको हर्रो बेचेको कान्तिपुरको समाचारमा उल्लेख छ । ती बालकले त्यसअघि पनि हर्रो, बर्रो र अमला बेच्ने गरेको कान्तिपुरले उल्लेख गरेको छ । फरक सन्दर्भमा उक्त फोटो अहिलेको भन्दै भाइरल भइरहेको हो । 

निष्कर्ष

ईशा गुरुङ, अमृता पौडेल, सुप्रिम खबर, अरुण नेपाली लुइँटेल, खुशी राई, उमेश बोहरा लगायतका फेसबुक पेज र प्रयोगकर्ताले राखेको उक्त पोस्टमा कुनै पनि सन्दर्भ खुलाइएको छैन । पोस्ट मात्र राखेकाले यो घटना अहिलेकै ताजा हो भनेर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखिरहेका छन् । ४ वर्ष पुरानो घटना अहिलेको जस्तै गरी सामाजिक सञ्जाल प्रयोगकर्ता र पेजले भ्रम फैलाइरहेको पाइएको हो ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १९:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट