काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उत्कृष्ट स्वास्थ्यका लागि व्यवहारिक विज्ञानसम्बन्धी प्राविधिक सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतमलाई नियुक्त गरेको छ।डा गौतम हाल वाटरएड युकेमा हाइजिन लिडका रूपमा कार्यरत छन्, जहाँ उनले एसिया र अफ्रिकाका विभिन्न देशहरूमा संगठनको वैश्विक व्यवहार परिवर्तन कार्यक्रमहरूको नेतृत्व गरिरहेका छन्। व्यवहार परिवर्तन वैज्ञानिक तथा जनस्वास्थ्य विज्ञको रूपमा उनीसँग २२ वर्षभन्दा बढीको अनुभव छ। विशेषगरी पानी, सरसफाइ र स्वच्छता, बाल स्वास्थ्य, खोप, रोग नियन्त्रण, एचआईभी/एड्स, सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्था, तथा खाद्य स्वच्छता जस्ता क्षेत्रमा उनले काम गरेका छन्।एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन बाट पीएचडी गरेका गौतमले बंगलादेश बाट जनस्वास्थ्यमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय, नेपाल बाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले बेलायत तथा युरोपका विभिन्न विश्वविद्यालयहरूमा गेस्ट लेक्चरर का रूपमा पनि कार्य गरेका छन्।अध्यक्ष भने डा लोरी फोस्टर छिन्। जो अमेरिकास्थित नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयमा मनोविज्ञानकी प्रोफेसर हुन्। साथै, उहाँ दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयमा मानार्थ प्रोफेसरको रूपमा समेत कार्यरत छिन्।
सामाग्री श्रोत :
swasthyakhabar

