काठमाडौँ । बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा एक पत्र भाइरल बनेको छ । जसमा सैलुनका लागि एसी र इन्भर्टर खरिद गर्न हेटौँडा उपमहानगरपालिकाको तोक आदेश लगाइएको भनिएको छ । उपमहानगरले सो पत्रमा प्रक्रिया अघि बढाएको देखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।

भाइरल पत्रमा द नाइन्टिन सैलुनले लेखेको छ- “उद्घाटन कार्यक्रममा तपाईँले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, मएसी जडानको लागि सहयोग गर्छु’ कुरा सम्झेर, ‘यो औपचारिक निवेदन लिएर उपस्थित भएका छु,” पत्रमा द नाइन्टिन सैलुनले लेखेको छ । उक्त पत्रमा विद्युत आपूर्तिले समस्या पार्ने भएकाले सैलुनको लागि इन्भर्टरका लागि पनि सहयोग माग गरिएको छ ।
पत्रमा मेयर मिनाकुमारी लामाले सैलुनलाई सहयोगका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिँदै आर्थिक प्रशासन शाखालाई निवेदन हेर्न सिफारिस गरिएको देखिन्छ । सोपछि शाखाबाट पुरुषोत्तम नाम गरेका कर्मचारीलाई सैलुनको माग अनुसारको लागत अनुमान गर्न निर्देशन दिइएको छ ।
वास्तवमा के भएको थियो ?

स्नातक तहमा अध्ययनरत नौ जना विद्यार्थीहरू मिलेर द नाइन्टिन सैलुन खोलेको मेयर लामाले जानकारी दिइन् । “उनीहरूले उद्घाटनमा निम्तो दिएका थिए, म गएँ । सेवा लिएँ, भुक्तानी गरेर फर्किएँ,” उनले टेकपानासँग भनिन् ।
त्यस क्रममा सैलुन सञ्चालकले फ्यानले कपाल उडाउने समस्या रहेको भन्दै एसी राखिदिन आग्रह गरेका थिए । मेयर लामाले “निवेदन लेखेर ल्याऊ, उपमहानगरको युवा लक्षित कार्यक्रममा बजेट छ कि छैन, कानुनी रूपमा दिन मिल्छ कि मिल्दैन हेरेर प्रक्रिया अघि बढाउँला” भनेकी थिइन् ।
उनका अनुसार बुधबार सैलुनले निवेदन ल्याएपछि कानुनी सल्लाह लिइसकेपछि मात्र निर्णय हुने छ । “कानुन सम्मत मिल्छ कि मिल्दैन भन्ने राय आउन बाँकी छ,” उनले भनिन्, लेखा शाखामा जानु छ । कसैले सहयोग माग्न आए भने सिधै तँलाई दिन्न भन्न मिल्दैन ।”
साथै, उपमहानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका वा यहीँ व्यवसाय गर्न चाहने युवालाई प्रोत्साहनस्वरूप कृषि, पशुपालन, सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको जानकारी उनले दिइन् ।
उपमहानगरपालिकाबाट लागत अनुमान गर्न निर्देशन दिएपछि द नाइन्टिन सैलुनको टिकटक अकाउन्टबाट बुधबार नै मेयर लामासँग भेटघाट गरिएका फोटोहरू सार्वजनिक भए । तिनै फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यस विषयमा बुझ्न द नाइन्टिन सैलुनका सञ्चालक सुसन घलानलाई सम्पर्क गर्दा उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनाका कारण मानसिक दबाबमा रहेको बताए । उनले “अहिले बोल्न सक्ने अवस्थामा छैन” भन्दै फोन राखे ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १७:१
सामाग्री श्रोत :
टेक पाना