काठमाडौं–नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्यावधि निर्वाचन माग्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माओवादी केन्द्र जनतामा लोकप्रिय बन्दै गएको दावी पनि गर्ने गरेको भन्दै ज्ञवालीले माओवादी लोकप्रिय भन्ने विश्वास भए मध्यावधि चुनाव माग्न सुझाव दिएका हुन्।
ज्ञवालीले भनेका छन्, ‘कामरेड ‘प्रचण्ड’को सत्ता अधीरता अचम्म लाग्दो छ। एकातिर कार्यकर्ताका बिचमा हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौं, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन। अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न। भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौं संस्करण सार्वजनिक भएको छ।’
कुनै पनि एक दलले बहुमत प्राप्त गर्न नसकेको संसद्मा बहुमत संख्या जुटाउन सक्नेले सरकार बनाउने ज्ञवालीले प्रचण्डलाई स्मरण गराएका छन्।

‘हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन्। निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ ज्ञवालीले अगाडि लेखेका छन्, ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ