काठमाडौँ । नेपाली विद्यार्थी मनोज कुमार चौधरीले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । कैलालीको भजनी नगरपालिका-४ निवासी चौधरीले ‘बगक्राउड’ कम्पनीको बग बाउन्टी प्रोग्राममार्फत नासाको सिस्टममा रहेको कमजोरी फेला पारेका हुन् । यस उपलब्धिका लागि नासाले चौधरीलाई ‘नासा भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ अन्तर्गतको ‘हल अफ फेम’ मा समावेश गर्दै कदरपत्र प्रदान गरेको छ ।

नासाले आफ्नो सिस्टममा महत्त्वपूर्ण सुरक्षा रिपोर्ट उपलब्ध गराउने व्यक्तिहरूलाई ‘हल अफ फेम’ मा समावेश गर्दै आएको छ । चौधरीले २०२४ डिसेम्बर २० मा नासाको वेबसाइटमा रहेको ‘Cache-Control’ सम्बन्धी एचटीटीपी हेडरमा समस्या रहेको पत्ता लगाएका थिए । उनले वेबसाइटले प्रयोगकर्तासँग सम्बन्धित निजी जानकारी ब्राउजर क्यासमा सुरक्षित भई बस्न सक्ने र त्यसलाई साइबर आक्रमणकारीले फिशिङलगायत विभिन्न किसिमका आक्रमणमा प्रयोग गर्न सक्ने जोखिम देखाएका थिए ।
करिब दुई महिनापछि नासाले चौधरीलाई कदरपत्र प्रदान गरेको हो । नासाले पठाएको पत्रमा भनिएको छ, “तपाईंको रिपोर्टिङले अज्ञात रहेका सुरक्षा कमजोरीबारे जानकारी गराउन सहयोग पुग्यो, जसले नासाको सूचना सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।”

चौधरीले नासाबाट प्राप्त कदरले आफ्नो करिअरमा थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् । “आईटी क्षेत्रमा चिनिनका लागि यो उपलब्धि निकै महत्त्वपूर्ण छ,” उनले टेकपानासँग भने ।
हाल बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बीसीए आठौँ सेमेस्टरमा अध्ययनरत चौधरीले स्नातक पहिलो वर्षदेखि नै बग हन्टिङ सुरु गरेका थिए । सन् २०२१ बाट सक्रिय रुपमा विभिन्न कम्पनीहरूका सुरक्षा कमजोरी पत्ता लगाइरहेका उनले हालसम्म बगक्राउडमार्फत चार हजार ९४५ डलर (करिब ६ लाख ८० हजार रुपैयाँ) आम्दानी गरिसकेको जानकारी दिए ।
त्यस्तै, गुगलको सुरक्षा कमजोरी पत्ता लगाई ५०० डलर (करिब ७० हजार रुपैयाँ) पुरस्कारसमेत प्राप्त गरिसकेका चौधरीले अध्ययनपछि नेपालमै साइबर सुरक्षा क्षेत्रमा काम गर्ने योजना रहेको सुनाए ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १४:५८
सामाग्री श्रोत :
टेक पाना