काठमाडौं । श्रमिक महिला प्रति राज्य अझै पनि अनुदार नै रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । अझ विशेषगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको समस्याको सुनुवाईमा राज्यले ध्यान नदिएको उनीहरुको भनाई थियो ।
तरंगिनी फाउण्डेसनको आठौं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी सदस्य सावित्रा कुमारी शर्माले श्रमिक महिलाको अधिकार रक्षाका लागि आयोगले काम गरिरहेको बताइन् । उनले महिला भित्र पनि जात लगायतको आधारमा विभेद रहेको भन्दै कुनै त्यस्तो शोषण, अधिकार हनन्का घटनाहरु भएमा आयोगमा उजुरी गर्न आग्रह वनि गरिन् । उनले श्रम क्षेत्र मर्यादित र व्यवस्थित हुनु पर्ने भन्दै महिलाको हक र अधिकार प्राप्त हुनुपर्ने धारणा राखिन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिलि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्वर ७ की सदस्य रुपा थापा क्षेत्रीले रात्रीकालिन मनोरञ्जनको क्षेत्रमा काम गर्ने श्रमिकहरु मारमा परिरहेको बताइन् । उनीहरुलाई काम सकेर घर फर्किन सुरक्षित गाडीको व्यवस्था हुनु पर्ने भन्दै त्यसका लागि महानगरको नगरसभामा पनि कुरा उठाइने जानकारी दिइन् । आफ्नो अधिकारको विषय दरिलोसँग उठाउन आग्रह गर्दै उनले श्रमिकको परिचयपत्र, उनीहरुको सामाजिक सुरक्षामा आवद्धता जस्ता विषयहरु महत्वपूर्ण रहेको बताइन् ।
बुढानिलकण्ठ नगरपालिकाका श्रम रोजगार शाखा प्रमुख राजीव गौतमले नगरपालिकाले श्रम डेस्क स्थपना गरी श्रमिकहरुको पञ्जिकरणको काम गरिरहेको, श्रमिकहरुलाई परिचयपत्र वितरण गरिएको जानकारी गराए ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) की कार्यक्रम संयोजक कमला पोखरेलले श्रमिक महिलाको हक र अधिकार स्थापित गर्ने अभियान गाउँ गाउँ र टोल टोलसम्म पुगेको धारणा राखिन् । ओरेक नेपाल र तरंगिनी फाउण्डेसनको कामका कतिपय क्षेत्र समान रहेको भन्दै सहकार्य गरेर अगाडी बढ्ने काम भइरहेको र भविष्यमा पनि सहकार्य रहने उनको भनाई थियो । सामाजिक सुरक्षामा आवद्धता, परिचय पत्र, न्यूनतम र समान ज्यालाको प्राप्त लगायतका मुद्धामा भविष्यमा पनि संयुक्त रुपमा आवाज उठाइने पोखरेलको भनाई थियो । स्थानीय सरकारले यो विषयलाई अझ प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् ।
तरंगिनी फाउण्डेसनकी रुपा भट्टराईले सबै श्रमिकले समान अधिकार प्राप्त गर्नुपर्छ भन्दै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सम्मान र पहिचान दिइनु पर्दछ भनेर फाउण्डेसनले आवाज उठाइरहेको बताइन् । उनले हालै फाउण्डेसनले अनौपचारिक क्षेत्रका श्रमिकको विषयमा तीन दिवसिय कार्यक्रम आयोजना गरी वृहत छलफल गरी निश्कर्षहरु ज्ञापनपत्रको रुपमा विभिन्न सरोकारवाला निकायमा बुझाइएको जानकारी दिइन् ।
कार्यक्रममा तरंगिनी फाउण्डेसनकी कार्यक्रम संयोजक अदिती भट्टले फाउण्डेसनका तर्फबाट गरिएका महत्वपूर्ण कामका बारेमा जानकारी दिइन् । यसैगरी फाण्डेसनले काम गर्ने मुख्य क्षेत्रहरु, जिल्ला जिल्लामा स्थापित सञ्जाल लगायतका विषयमा भट्टले जानकारी दिइन् ।
कार्यक्रममा कृषि श्रमिक मैना दनुवारले पहिचान झल्किने परिचयपत्र र सुरक्षा भत्ताको आवाज उठाइन् । उनले तरंगिनीकै कारण आफूहरुले अधिकारका विषयमा आवाज उठाउन सक्ने भएको धारणा राखिन् । यसैगरी घरेलु श्रमिक सञ्जालकी अध्यक्ष कोपिला प्रसाईले घरेलु श्रम गर्नेहरुलाई रोजगार करार, परिचयपत्र, साप्ताही विदा, चाडपर्वको विदा जस्ता कुराहरुको अभाव रहेको भन्दै त्यसमा राज्यले ध्यान दिनुपर्ने माग गरिन् ।
सन् २०१७ मा स्थापित तरंगिनी फाउण्डेसन श्रमिक महिलाको पक्षमा आवाज उठाउने गैरनाफामूलक संस्था हो । सो संस्थाले मुख्यगरी देशका ७ वटा जिल्लाहरुमा काम गरिसकेको छ । घरेलु श्रमिक, कृषि श्रमिक लगायतका क्षेत्रमा फाउण्डेसनका कार्यक्रमहरु केन्द्रीत छन् ।
सामाग्री श्रोत :
deshparadesh

