काठमाडौँ । गुगलले अब गुगल सर्चका लागि कन्ट्री कोड टप लेभल डोमेन (ccTLD) नेमलाई गुगल डटकममा रिडाइरेक्ट गर्ने भएको छ । कम्पनीले मङ्गलबार एउटा ब्लग मार्फत सबै कन्ट्री लेभल डोमेनलाई मुख्य डोमेनमा रिडाइरेक्ट गर्ने जनाएको हो ।

यसको अर्थ यसअघि नेपालका लागि ‘google.com.np’, भारतका लागि ‘google.co.in’, बेलायतका लागि ‘google.co.uk’ आदि प्रयोग हुन्थ्यो । अब ब्राउजरको यूआरएल बारमा यी लिङ्क खोल्दा सोझै ‘google.com’को लिङ्क खुल्नेछ । गुगलका अनुसार आगामी महिनादेखि यो फिचर विश्वव्यापी रूपमा विस्तार हुनेछ ।
तपाईँले अहिले ‘google.com.np’ सर्च गर्दा त्यही वेबसाइट देखे पनि केही समयपछि उक्त साइट रिडाइरेक्ट भएर ‘google.com’ नै ब्राउज हुनेछ । यसले ब्राउजरको यूआरएल बारमा देखिने अक्षर फरक हुने बाहेक अनुभवका हिसाबले अरू कुनै असर नपर्ने गुगलले स्पष्ट पारेको छ । “यो अपडेटले तपाईँले ब्राउजरको एड्रेस बारमा देख्ने कुरा मात्रै बदलिन्छ । खोज्ने तरिका भने उस्तै रहन्छ । र, यसले हाम्रो राष्ट्रिय स्तरका कानुन अनुसारका जिम्मेवारीमा पनि कुनै असर गर्दैन,” कम्पनीले भनेको छ ।
गुगलका अनुसार सन् २०१७ अघि कम्पनीले स्थानीय कन्टेन्ट (जिओ टार्गेटिङ) लाई प्राथमिकता दिन कन्ट्री कोड टप लेभल डोमेन प्रयोग गर्दै आएको थियो । खासगरी प्रयोगकर्ताले सर्च गर्दा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) राम्रो भएका वेबसाइटहरूको रिजल्ट देखिन्थ्यो । यसले गर्दा सर्च इन्जिन अप्टिमाइजेसन कमजोर भएका लोकल कन्टेन्ट क्रियटरहरू सर्च रिजल्टको अघिल्ला पेजमा देखिने सम्भावना कम हुन्थ्यो ।

त्यसैले स्थानीय कन्टेन्टलाई प्राथमिकता दिन गुगलले यस्तो रणनीति अपनाएको थियो । त्यसका साथै स्थानीय भाषा र ट्रेन्डका लागि पनि टप लेभल कन्ट्री कोड डोमेन उपयोगी थियो । कम्पनीले सन् २०१७ पछि कन्ट्री लेभल डोमेन र ‘google.com’ को अनुभव र त्यसमा देखिने नतिजा समान बनाउँदै आएको छ । मुख्य डोमेनमा आउने नतिजा व्यक्तिले कहाँबाट सर्च गरेको छ भन्ने जानकारीका आधारमा देखिने भएकाले कन्ट्री लेभल डोमेन आवश्यक नभएको कम्पनीले उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १७:५७
सामाग्री श्रोत :
टेक पाना