
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधबार विज्ञप्ति जारी गरी ड्युटीमा खटिएका तीन प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाई कारबाही गरिएको जानकारी दिएको हो ।
आइतबार यूएईबाट स्वदेश फर्किएका मोरङका सञ्जय ओझालाई प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडिओमा प्रहरीले ओझालाई लछारपछार गरेको देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा घटनाको अनुसन्धान थालिएको थियो । विभिन्न सञ्चार माध्यममा पनि स्वदेश फर्किएका युवकमाथि प्रहरीले दुर्व्यवहार गरेको समाचार आएका थिए ।

कार्यालयले दुर्व्यवहारमा संलग्न तीन जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षाको जिम्मेवारीबाट हटाएको छ । साथै उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १४:४६
सामाग्री श्रोत :
टेक पाना