काठमाडौँ । ट्रम्पको अस्थिर भन्सार नीतिका कारण आईफोनको मूल्य बढ्न सक्ने देखिएको छ । नयाँ आयात भन्सारले इलेक्ट्रोनिक्स उत्पादनका लागि उपभोक्ताले निकट भविष्यमा धेरै रकम खर्चिनुपर्ने हुन सक्छ ।

त्यसो त आइफोन लगायतका स्मार्टफोनलाई रेसिप्रोकल (पारस्पारिक) भन्सारबाट छुट दिइएका इलेक्ट्रोनिक्सको सूचीमा राखिएको छ । तर ह्वाइट हाउसका अधिकारीहरूले यो अस्थायी छुट भएको बताएका छन् । र राष्ट्रपति डोनल्ड ट्रम्पले कसैलाई पनि ‘छुट’ नदिइएको कुरामा जोड दिए । उनका अनुसार ती उत्पादनहरू विद्यमान २०% फेन्टानिल ट्यारिफ अन्तर्गत राखिएको तथा फरक भन्सार वर्गमा सारिएको मात्र हो ।
ट्रम्पले गत हप्ता आफ्नो व्यापक खाले ‘रेसिप्रोकल ट्यारिफ’ नीतिबाट पछि हटे पनि उनले चीनबाट आउने सामानहरूमा कर बढाएर १२५% पुर्याए र अन्य देशहरूबाट आउने अन्य आयातहरूमा १०% भन्सार यथावत् राखे । विज्ञहरूका अनुसार अब नयाँ आईफोनका लागि बढी मूल्य तिर्नुपर्ने हुन सक्छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत सबै देशका लागि नयाँ ट्यारिफ ९० दिनका लागि स्थगन गरिएको घोषणा गरेका छन्, जसले बदलामा अमेरिकी उत्पादनमाथि थप भन्सार लगाएनन् । तर चीन यसको अपवाद रह्यो, जहाँ एप्पलले आफ्ना धेरैजसो उत्पादनहरू उत्पादन गर्छ ।
चीनले ट्रम्पका प्रत्येक भन्सार वृद्धिको जवाफ दिएको छ । ह्वाइट हाउसले बुधबार १२५% भन्सार घोषणा गर्यो, त्यसपछि बिहीबार स्पष्ट पार्यो कि यो फेब्रुअरीदेखि लगाइएको २०% भन्सारको अतिरिक्त हो । जसले यस वर्ष चीनमा लगाइएको भन्सार १४५% पुगेको छ।

यदि एप्पलले चीनको १४५% भन्सार लागत ग्राहकहरूलाई नै पास गर्यो भने, १ टीबी स्टोरेज भएको आइफोन १६ प्रो म्याक्सको मूल्य १,५९९ डलरबाट बढेर ३,९०० डलरभन्दा बढी पुग्न सक्छ । २०% मात्र भन्सार लाग्दा त्यही आइफोनको मूल्य १,९०० डलरभन्दा अलिकति बढी हुन सक्छ ।
एप्पलले आफ्ना केही उत्पादनको कारखाना भारत र भियतनाम लगायत अन्य देशहरूमा सार्न थालेको छ । ती देशहरूलाई पनि सुरुमा आफ्नै ‘रेसिप्रोकल ट्यारिफ’ले असर गरेको थियो, भियतनाममा ४६% र भारतमा २६% को वृद्धि । तर त्यसमा छुट दिइएको छ । यद्यपि, ती देशहरूले अझै पनि गत हप्तादेखि लागु भएको १०% आधारभूत भन्सारको भने सामना गरिरहेका छन् ।
विज्ञहरूले चीन र अन्य देशहरूबाट आउने सामानहरूमा भन्सार वृद्धिसँगै मूल्य समेत बढ्ने विश्लेषण गरेका छन् । यद्यपि, भन्सारले वास्तवमा मूल्यहरूमा कत्तिको प्रभाव पार्छ भन्ने कुरा स्पष्ट छैन । यदि बढ्दो मूल्यले मागमा भारी गिरावट ल्याएको खण्डमा एप्पल र अन्य उत्पादकहरूलाई प्रतिस्पर्धामा टिकिरहन आफ्नो मूल्य घटाउनुपर्ने हुन सक्छ ।
यदि भन्सारको सम्पूर्ण लागत क्रेताहरूलाई पास गरियो भने, आउँदा महिनामा चीनमा उत्पादित एप्पल उत्पादनहरूको मूल्यमा २०% देखि १४५% सम्म वृद्धि हुन सक्ने सीनेटले उल्लेख गरेको छ । एप्पलले केही उत्पादन अन्य देशहरूमा सारे पनि अधिकांश आइफोनहरू अझै चीनमा नै उत्पादन हुने गरेका छन् ।
आईफोनको मूल्य निर्धारणमा उत्पादन भएको ठाउँ मात्र महत्त्वपूर्ण हुँदैन । एप्पलले आफ्ना उत्पादनहरूका लागि धेरै देशहरूबाट कम्पोनेन्टहरू खरिद गर्छ । जसले पछि उच्च भन्सारको सामना गर्नुपर्ने हुन सक्छ । र सामानमा लगाइएको भन्सारको अर्थ मूल्यहरू सोही मात्रामा बढ्छ भन्ने हुँदैन । यदि कम्पनीहरू प्रतिस्पर्धीमा रहन आफ्नो मूल्य कम राख्न केही लागत आफैँले बेहोर्न सक्छन् ।
स्मार्टफोन मात्र भन्सारका कारण मूल्य वृद्धि हुने ठानिएका उपकरण होइनन् । फेब्रुअरीको भन्सार वृद्धिले एसर यसअघि नै आफ्ना ल्यापटपको मूल्य बढाउन थालिसकेको छ । त्यस्तै एङ्करले हालै भन्सारकै कारण आफ्नो मूल्य बढाउन थालेको छ ।
रकम जति भए पनि, चीन र अन्य देशहरूबाट आउने सामानहरूमा लगाइएको भन्सारले उपभोक्ताहरूका लागि मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ । यसको मतलब तपाईँले दैनिक प्रयोग गर्ने आयातित स्मार्टफोन, ट्याब्लेट, ल्यापटप, टिभी र घरायसी उपकरणहरू यस वर्ष अझ महँगो हुन सक्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १३:५४
सामाग्री श्रोत :
टेक पाना