काठमाडौँ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मानिसहरूले फेसबुक धेरै चलाऊन् भनेर एउटा अनौठो आइडिया अघि सारे । सन् २०२२ मा उनले राखेका त्यो विचार थियो, सबै फेसबुक प्रयोगकर्ताहरूको फ्रेन्ड्स लिस्ट हटाइ दिने ।

यो कुरा मेटाको सङ्घीय व्यापार आयोग (एफटीसी) सँगको प्रतिस्पर्धा विरोधी मुद्दाको सुनुवाइमा प्रस्तुत गरिएका आन्तरिक ईमेलहरूमा देखिएको कुरा द भर्जले लेखेको छ । जुकरबर्गले सबैको फ्रेन्ड लिस्ट मेटाएर फेरि नयाँ बनाउन लगाउने विचार गरेका थिए, त्यो पनि सम्भवतः वर्षमा एक पटक ।
फेसबुकको ‘सांस्कृतिक महत्त्व घट्दै गएको’ मा उनको चिन्ता थियो । धेरै मानिसहरूले फेसबुक छोडे पनि असर नपरोस् भनेर उनले सानो देशबाट यस किसिमको प्रयोग सुरु गर्ने सुझाव दिएका थिए ।
इन्स्टाग्राम र ह्वाट्सएप राम्रो चले पनि फेसबुक कमजोर भएमा कम्पनी सफल हुन नसक्ने उनको बुझाई थियो । फेसबुकका प्रमुख टम एलिसनले यस किसिमको विचार प्रति असहमति जनाउँदै व्यवहारिक नहुन सक्ने जवाफ दिएका थिए ।

बिजनेस इन्साइडरका अनुसार जुकरबर्गले प्रोफाइललाई फलो गर्ने प्रणालीमा परिवर्तन गर्ने कुराले कत्तिको काम गर्छ भनेर पनि सोधेका थिए । सोमबार एक सङ्घीय व्यापार आयोगका वकिलले जुकरबर्गलाई यो विचारबारे सोध्दा उनले भने, “जहाँसम्म मलाई लाग्छ, हामीले त्यो कहिल्यै गरेनौँ ।”
हालै मेटाले फेसबुक चलाउने तरिकालाई नयाँ रूप दिन खोजीरहेको छ । यस अन्तर्गत हालै मात्र फ्रेन्ड्सको लागि नयाँ ट्याब सुरु गरिएको छ, जहाँ प्रयोगकर्ताहरूले एल्गोरिदमले छानेको सामग्री देख्दैनन् । जनवरीमा जुकरबर्गले यस वर्ष कम्पनीको मुख्य ध्यान ‘पुरानो फेसबुक’ जस्तै बनाउनमा हुने बताएका थिए ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १०:२
सामाग्री श्रोत :
टेक पाना