२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

अघि बढ्यो मार्क जुकरबर्गलाई इन्स्टाग्राम र ह्वाट्सएप बेच्न बाध्य पार्न सक्ने एन्टिट्रस्टको मुद्दा

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटा विरुद्धको एकाधिकार विरोधी (एन्टिट्रस्ट) मुद्दा सोमबारदेखि वाशिंगटन डीसीमा सुरु भएको छ । प्रतिस्पर्धा र उपभोक्ता हित संरक्षण सम्बन्धी अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले दायर गरेको मुद्दाको सुनुवाइ सुरु भएको हो । 

आयोगका वकिलहरूले मेटाले एक दशकभन्दा बढी समयअघि इन्स्टाग्राम र ह्वाट्सएप खरिद गरेर गैरकानुनी रूपमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई दबाएको आरोप लगाएका छन् । एफटीसीका वकिल ड्यानियल म्याथेसनले मेटाले प्रतिस्पर्धा गर्नुभन्दा आफ्ना प्रतिद्वन्द्वीहरूलाई किन्न सजिलो मानेको आरोप लाएका छन् ।

मेटाले भने एफटीसीको यो मुद्दा ‘भ्रमपूर्ण’ रहेको बताएको छ, किनकि एफटीसीले नै ह्वाट्सएप र इन्स्टाग्राम अधिग्रहणहरूको समीक्षा र अनुमोदन गरेको थियो । मेटाका वकिल मार्क ह्यान्सनले इन्स्टाग्राम र व्हाट्सएपलाई फेसबुकसँगै सुधार र विकास गर्न अधिग्रहण गरिएको तर्क गरे । यदि एफटीसीले यो मुद्दा जितेको खण्डमा कम्पनीका सीईओ मार्क जुकरबर्ग कम्पनी टुक्र्याउन बाध्य हुन सक्छन् । यसमा फोटो शेयरिङ एप इन्स्टाग्राम र मेसेजिङ एप ह्वाट्सएपलाई मेटाबाट अलग गर्नुपर्ने हुन सक्छ ।

एफटीसीका अनुसार कम्पनीले सन् २०१२ मा इन्स्टाग्रामलाई एक अर्ब डलर र त्यसको दुई वर्षपछि ह्वाट्सएपलाई १९ अर्ब डलरमा किनेर थियो । एफटीसीको तर्कमा इन्स्टाग्रामको अधिग्रहण फेसबुकको लागि बढ्दो प्रतिस्पर्धात्मक खतरालाई निष्क्रिय पार्ने तरिका थियो । 

सोमबार म्याथेसनले २०१२ को जुकरबर्गको एउटा मेमोलाई उल्लेख गरे, जसमा उनले इन्स्टाग्रामलाई ‘निष्क्रिय’ पार्नुको महत्त्वबारे छलफल गरेका थिए । म्याथेसनले उक्त सन्देशलाई “स्मकिङ गन” भनेका छन् । अर्कोतर्फ, मेटाले यी एपको खरिदले प्रयोगकर्ताको अनुभवलाई राम्रो बनाएको दाबी गरेको छ । ह्यान्सनले सोमबार भनेका थिए, “सुधार र विकास गर्न गरिएका अधिग्रहणहरू कहिल्यै गैरकानुनी ठहरिएका छैनन् र यो मुद्दामा पनि ठहरिनु हुँदैन ।” कम्पनीले टिकटक, एक्स, युट्युब र आईमेसेज लगायत अन्य धेरै एपहरूबाट पनि प्रतिस्पर्धाको सामना गरिरहेको बताएको छ ।

जुकरबर्ग र कम्पनीका पूर्व प्रमुख अपरेटिङ अफिसर शेर्ल स्यान्डबर्ग दुवैले कयौँ हप्तासम्म चल्न सक्ने यो मुद्दामा बयान दिने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ । यो मुद्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकालमा दायर गरिएको थियो । तर उनको दोस्रो कार्यकालमा भने राजनीतिकरण हुने जोखिम छ । वाल स्ट्रीट जर्नलका अनुसार जुकरबर्गले एफटीसीलाई मुद्दाबाट पछि हट्न लगाउन ट्रम्पलाई व्यक्तिगत रूपमा लबिङ गरेका छन् । 

एफटीसीले १० वर्षभन्दा बढी समयपछि आफ्ना अधिग्रहणलाई लिएर कारबाही गर्नुले कुनै पनि सम्झौता साच्चै अन्तिम नहुने सन्देश दिएको मेटाका एक प्रवक्ताले बताएका छन् । जनवरी २०२१ मा यूएस क्यापिटल दङ्गापछि ट्रम्पलाई मेटाले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि जुकरबर्ग र ट्रम्पबिचको सम्बन्ध चिसिएको थियो । तर त्यसयता सम्बन्धमा केही सुधार आएको छ । 

मेटाले ट्रम्पको नयाँ कार्यकाल सुरु हुने दिन कोषमा १० लाख डलर योगदान गरेको थियो  । साथै यसै वर्ष ट्रम्पका पूर्व सल्लाहकार दिना पावेल म्याककर्मिक र ट्रम्पका सहयोगी यूएफसी (UFC) प्रमुख डाना ह्वाइटलाई मेटाको बोर्ड अफ डाइरेक्टरमा थपेको छ । कम्पनीले जनवरीमा स्वतन्त्र फ्याक्ट-चेकरहरूलाई हटाउने घोषणा पनि गरेको थियो । जनवरी २०२१ को क्यापिटल दङ्गापछि अकाउन्ट सस्पेन्ड गरेकोमा ट्रम्पसँग २५ मिलियन डलरमा मुद्दा मिलाइएको थियो ।

मार्चमा एफटीसीका दुई जना आयुक्तहरूलाई बर्खास्त गर्ने राष्ट्रपति ट्रम्पको कदमले पनि मुद्दालाई छाँयामा पारेको छ । उनीहरू आफूलाई पुनर्बहाली गर्न ट्रम्प प्रशासनविरुद्ध मुद्दामा छन् ।

ट्रम्पद्वारा नियुक्त एफटीसी अध्यक्ष फर्गुसनले हालै द भर्जसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले मेटा जस्तो मुद्दा छोड्न निर्देशन दिएमा आफूले ‘कानुनी आदेश पालना’ गर्ने बताएका थिए । तर उनले यस्तो केही भएमा आफूलाई निकै अचम्म लाग्ने पनि बताएका थिए । एफटीसीलाई एकाधिकार विरोधी एक महत्त्वपूर्ण निकाय मानिन्छ । 

सङ्घीय व्यापार आयोग (एफटीसी) राजनीतिक दबाबबाट धेरै हदसम्म स्वतन्त्र रहेको मानिन्छ । तर, ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा त्यस्तो मान्यतालाई तोडेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १२:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट