काठमाडौँ । विन्डोज ११ को नयाँ अपडेट (24H2) पछि केही प्रयोगकर्ताको सिस्टम ड्राइभ अर्थात् सी ड्राइभमा एउटा खाली फोल्डर ‘inetpub’ देखिन थाल्यो । धेरैलाई यो अनौठो लाग्यो, र केहीले त खाली र निरर्थक ठानेर डिलिट नै गरे । तर माइक्रोसफ्टले यो फोल्डर गल्तीले नबनेको भन्दै डिलिट नगर्न आग्रह गरेको छ ।

यो फोल्डर वास्तवमा एउटा सुरक्षामा सुधारका लागि (security fix) ल्याइएको हो । माइक्रोसफ्टका अनुसार यसले विन्डोजमा रहेको एउटा सुरक्षासम्बन्धी कमजोरीबाट बचाउँछ, जसका कारण कुनै लोकल आक्रमणकारी (local attacker) ले सिस्टमका संवेदनशील फाइल वा फोल्डरमा पहुँच पाउन सक्थ्यो।
“यो फोल्डर तपाईँको सिस्टम ड्राइभमा अपडेट गरेपछि बन्नेछ, र यो हटाउनु हुँदैन – चाहे तपाईँले इन्टरनेट इन्फरमेसन सर्भिस (IIS) प्रयोग गर्नु भएको होस् या नभएको होस् ।”
यसको मतलब, तपाईँ आईआईएस प्रयोगकर्ता हुनुहुन्छ कि हुनुहुन्न भन्नेमा फरक पर्दैन । यो फोल्डर रहनै पर्छ । यदि यो छैन भने तपाईँको कम्प्युटर अझै पनि उक्त सुरक्षा कमजोरीको जोखिममा हुनेछ ।
पहिल्यै फोल्डर डिलिट गरिसक्नु भएको त छैन ?

यदि तपाईँले पहिले नै यो फोल्डर डिलिट गर्नुभएको छ भने, तपाईँले यसलाई फिर्ता ल्याउनुपर्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
१. सबैभन्दा पहिला कन्ट्रोल प्यानल खोल्नुहोस् ।
२. प्रोग्राम्स हुँदै प्रोग्राम्स एन्ड फिचर्समा जानुहोस्
३. अब बाँया पट्टि रहेको ‘टर्न विन्डोज फिचर्स अन अर अफ’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।
४. खुल्ने सूचीमा ‘इन्टरनेट इन्फरमेसन सर्भिसेस’ खोज्नुहोस् र सँगैको बक्समा टिक लगाउनुहोस् ।
५. अन्त्यमा ओके थिच्नुहोस् । यति गरेपछि ‘inetpub’ नामक फोल्डर फेरि बन्नेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १९:२०
सामाग्री श्रोत :
टेक पाना