काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन थालेका छन् । उनले बैँक खाता, क्यूआर कोड, इसेवा तथा खल्ती अकाउन्ट शेयर गर्दै पढाइका लागि सहयोग गरिदिन सार्वजनिक रूपमा आह्वान गरेका हुन् ।

रास्वपाको केन्द्रीय सदस्य समेत रहेका बमले २०७९ मा काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । “समृद्ध नेपाल निर्माणमा- सुशासन, सुसंस्कृत राजनीति, गुणस्तरीय शिक्षा, स्वास्थ्यको अधिकार, विपद् व्यवस्थापन अनि युवा सशक्तीकरण जस्ता क्षेत्रमा- अहोरात्र समर्पित रहदा अहिले, मैले हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलमा मिड-करियर मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन एडवार्ड म्यासन फेलोको रूपमा अध्ययन गर्ने सुनौलो अवसर पाएको छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “…प्रतिष्ठित विश्वविद्यालयको यो फेलोशिपमा भर्ना पाउनु नै मेरो सौभाग्य हो, यो मेरो मात्र नभएर विगत २ दशकमा हामीले गरेको समर्पण र अभियान प्रतिको सम्मान हो भन्ने मेरो बुझाइ छ ।”
यस उपलब्धिले आफूलाई नेपालका लागि आवश्यक नीति निर्माण, नेतृत्व सीप र विश्वव्यापी सञ्जाल निर्माण गर्ने अवसर दिने उनको भनाइ छ । विगतमा यसै स्कुलका केही फेलोशिपहरूमा आर्थिक सहयोग प्राप्त हुने गरेको भएपनि यसपटक सक्दो प्रयासका बाबजुद यो फेलोशिपबाट आर्थिक सुनिश्चितता गर्न नसकिएको बमले उल्लेख गरेका छन् । “त्यसैले, म तपाईँहरू समक्ष विनम्र अनुरोध गर्न चाहन्छु तपाईँको सानो सानो आर्थिक सहयोगले मात्र यो सम्भव हुनेछ,” उनले भनेका छन् ।
“हार्वर्ड केनेडी स्कुलमा पाउने सिकाई र बनाउने सञ्जाल पनि मेरो व्यक्तिगत लाभ भन्दा पनि मैले प्रतिनिधित्व र नेतृत्व गरेको अभियानले र कालान्तरमा मुलुकले नै लाभ लेओस् भनेर प्रयत्न गरेको हुँ ।” हार्वर्डमा अध्ययन गर्नु आफ्ना मात्र नभई, नेपालको वैकल्पिक सुसंस्कृत राजनीतिप्रति सद्भाव राख्ने र युवामा विश्वास गर्ने सबैका लागि ठुलो अवसर भएको उनको जिकीर छ ।

“किनभने यहाँबाट सिकेका ज्ञान, सीप, र सञ्जाल नेपालमै ल्याएर परिवर्तनका लागि काम गर्ने मेरो दृढ संकल्प छ । …तपाईँहरूको साथ र शुभेच्छाले, हार्वर्डको मेरो यो यात्रा नेपालका लागि परिवर्तनको अगुवाइ गर्न चाहिने सीप र सञ्जाल बलियो बनाउने प्रयत्नमा ठुलो सहयोग हुन सक्छ,” बमले अगाडि भनेका छन् ।
यसरी अध्ययनका लागि आर्थिक सहयोग सङ्कलन गर्ने बमको प्रयासप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले समाजमा योगदान गरेका नेतृत्वले पब्लिक फन्डिङबाट पढ्ने संसारभर प्रचलन रहेको भन्दै बमलाई साथ दिएका छन् ।
तर कतिपयले भने १ लाख २० हजार अमेरिकी डलर ट्युसन फी भन्दा निकै धेरै रकम भएको र त्यसबाट खान, बस्न, घुमघाम सबैका लागि पैसा उठाउन खोजिएको आरोप समेत लगाएका छन् । जटिल अवस्थामा मात्र यसरी पब्लिक फन्डिङ गर्न सकिने उनीहरूको तर्क छ ।
अनिल पौडेल नाम गरेका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, “तपाईँहरू जो आफैमा सक्षम छु भन्नुहुन्छ अनि यसरी पैसा उठाइरहनु भएको छ । तपाईँको एक जना हुन नसकेको सांसद साथीलाई एउटा डिग्री लिन चाहिने पैसा उठाउनुभन्दा बरु दूरको कुनै विद्यालयमा सहयोग गर्नु उचित हो । आफ्नो बलबुँतामा पढ्ने हो, सके नसकी हार्वर्ड नै ताक्ने होइन ।”
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १२:५२
सामाग्री श्रोत :
टेक पाना