काठमाडौँ । एक पुरुषकी पूर्व प्रेमिका प्रहरीको फन्दामा परेकी छिन् । ती पुरुष तथा उनकी श्रीमती समेतलाई अपाच्य हुने मेसेज पठाएर चरित्र हत्या गरेको भन्दै प्रहरीले इन्टरपोलको सहयोगमा ती युवतीलाई पक्रेको हो ।

साइबर ब्युरोमा दर्ता भएको निवेदन अनुसार सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहेका ती पुरुष र आरोपित युवतीले विवाह गर्नेसम्मको योजना बनाइरहेका थिए । तर बिचैमा सम्बन्धमा दरार हुन पुग्यो ।
त्यसपछि ती आरोपित महिलाले पुरुषको फेसबुक प्रोफाइल नामसँग मिल्दोजुल्दो नाम र फोटो प्रयोग गरी फेक आईडी बनाइन् र आफ्ना पूर्व प्रेमीसँगै उनकी श्रीमती लगायत नजिकका आफन्तहरूको समेत निरन्तर रूपमा चरित्र हत्या गर्न थालेको निवेदनमा उल्लेख छ । यसरी निरन्तर रूपमा चरित्र हत्या हुन थालेपछि पीडित पुरुषले साइबर ब्युरोमा निवेदन दिए ।
ती पुरुषसँग सरोकार नै नभएका अन्य व्यक्तिहरूलाई समेत उक्त फेक आईडीबाट समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गरी चरित्रहत्या गर्ने गरेको भन्दै अरूले पनि निवेदन दर्ता गराएका थिए । त्यसपछि ब्युरोले सो फेक आईडी बनाई यस्ता गतिविधिमा संलग्न व्यक्ति उपर अनुसन्धान अगाडि बढायो । सोही क्रममा गोरखा ६ नम्बर वडा सातधुरे दरवारमार्ग घर भई रोजगारीका लागि मलेसिया रहकी ३० वर्षीय विन्दु परियार रहेको खुल्न आयो ।

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ३ पुस २०८० मै मुद्दा दर्ता भएको थियो । तर परियारलाई फरार सूचीमा राखेर प्रहरीले इन्टरपोलमार्फत उनको नाममा रेड नोटिस नै जारी गर्यो । यसैबिच वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा शनिबार उनलाई पक्राउ गरिएको हो । अभियुक्त परियारलाई आइतबार नै जिल्ला अदालत काठमाडौँ पेस गरिएको ब्युरोले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १८:३३
सामाग्री श्रोत :
टेक पाना