काठमाडौं– वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो ।

सहमति अनुसार पहिलो बुँदामा उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन/अनुसन्धान गरी कानुनी कारबाही गरिने उल्लेख छ ।
यस्तै दोस्रो बुँदा अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध हरी कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने बताइएको छ ।
सहमतिको तेस्रो बुँदामा उक्त घटनामा घाइते भएका व्यक्तिहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय गरिएको छ ।

यसैगरी ४ नम्बर बुँदामा धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रशासनले जनाएको छ ।
५ नम्बर बुँदामा पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघ/संस्था तत् तत् संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४:५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ५:४० बजे पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिर निकालेर आगजनी भएको थियो । घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ