काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले डिजिटल कारोबारमा हुने ठगी तथा जोखिम न्यूनीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गर्ने भएको छ ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले डिजिटल भुक्तानी कारोबारलाई सुरक्षित राख्नेगरी एआईमा आधारित फ्रड एन्ड रिस्क मेनेजमेन्ट सिस्टम लागु गर्ने तयारी भइरहेको जानकारी दिए ।
उक्त प्रणालीमार्फत ग्राहकहरूको खातामा हुने कारोबारको प्याटर्न अध्ययन गरिने र कुनै असामान्य कारोबार भेटिएमा सम्बन्धित वित्तीय संस्थालाई तुरुन्त जानकारी गराइने उनको भनाइ छ ।
‘अहिले हामी एआईमा आधारित फ्रड एन्ड रिस्क मेनेजमेन्ट सिस्टम बनाउँदैछौँ,’ प्रधानले टेकपानासँग भने, ‘सुरक्षाका नयाँ प्रविधिहरू विस्तारै कार्यान्वयन गर्दै आएका छौँ । यसले नयाँ मेकानिजम र प्रोसेसमार्फत जोखिम न्युनीकरणमा सहयोग गर्ने विश्वास छ ।’

प्रधानका अनुसार यस प्रविधिले कुनै खातामा असामान्य रुपमा रकम डिपोजिट वा कारोबार भएमा चिन्न सक्ने र त्यसको जानकारी सम्बन्धित संस्थालाई दिनेछ । डिजिटल कारोबारको सुरक्षालाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना अनुसार एआईमा आधारित प्रणाली सुरु गर्न लागेको उनले बताए ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १४:११
सामाग्री श्रोत :
टेक पाना