काठमाडौं। सुरक्षा अंगमा जागिर छाडेर जानेहरुको संख्या बढिरहेका बेला प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

१६ वर्ष पेन्सन अवधि बनाउन जोड गरिरहका सुरक्षा अंगमा कार्यरत तल्लो तहका कर्मचारीहरु बेलैमा जागिर छाड्ने र अर्को पेशामा संलग्न हुन थालेको पछिल्लो अवस्थामा प्रहरी प्रधानकार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
सरकार विरुद्ध भइरहेका विभिन्न आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।
‘अहिले आन्दोलन चलिरहेको छ, सरकार विरुद्ध र व्यवस्था विरुद्ध पनि आन्दोलन चलिरहेका कारण राजीनामा स्वीकृतलाई केही समय रोकिएको हो’, प्रहरी प्रधानकार्यालय मानवस्रोत विभागका एक कर्मचारीले भने। उनका अनुसार केही दिन मात्रै हो रोकिएको हो।

‘सामान्यतया एक महिना मात्रै रोकिन्छ, यसअघिको अभ्यास पनि यस्तै छ’, ती कर्मचारीले भने।
विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ। प्रधान कार्यालयको यो निर्देशनसँगै अर्को आदेश नभएसम्म राजीनामा स्वीकृत हुने छैन।
हालसातै काठमाडौं केन्द्रित भएर विभिन्न आन्दोलन र प्रदर्शन भएका थिए। अहिले पनि शिक्षक, आवासीय चिकित्सक, लगायत अन्य संघ, संगठन, संस्था र समूहका आन्दोलन जारी नै छन्। राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि अहिले आन्दोलन र प्रदर्शनमा ठूलो मात्रामा प्रहरी खटाइने गरिएको छ।
शिक्षक आन्दोलन र रास्वपा तथा माओवादीको आन्दोलनमा पनि खटाइने सुरक्षाकर्मीहरुको संख्या बढिरहेको छ।
सामाग्री श्रोत :
जागिर छोड्नेको संख्या बढेपछि राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन