२०८२ बैशाख १ सोमबार
२०८२ बैशाख १ सोमबार

विश्रान्ति मन्दिरमा नेपाली सेना

नेपाली सेनाको गौरवमय अतीत छ। यो देशको स्वतन्त्रता, अस्मिता, आत्मसम्मान, आत्मागौरव र राष्ट्रियता अक्षुण राखी देशको छवि उजिल्याउन इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

सेना र जनताको आपसी सहकार्यबाट नेपालको एकीकरण र आधुनिकीकरण भएको छ भने समाजसेवाको विविध पक्षमा सेनाको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको छ। भूकम्प, आगलगी, बाढीपहिरो, दुर्घटना जस्ता संकटकालीन अवस्थामा सेनाको सेवा त मृतसञ्जीवनी सुरा नै भएको छ।

यसै पृष्ठभूमिमा नेपाली सेनाले धनकुटाकै गहनाका रूपमा आफ्नो पहिचान बनाएको विश्रान्ति मन्दिरमा पु¥याएको सेवा र योगदान विषयमा चर्चा गरी सम्बन्धित पक्षलाई कृतज्ञता ज्ञापन गर्ने प्रयोजनले यो लेख तयार भएको हो।

धनकुटा नेपालको पूर्वी क्षेत्रमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला सुरक्षा र प्रशासनिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको छ। पल्लोकिराँत भनिने यस जिल्लाको विकासका पूर्वाधार सिर्जना गर्न सेनाले विगतमा विविध कार्य सम्पन्न गरेका दृष्टान्त पाइन्छन्।

राजधानीबाट शासक खलकलाई निष्कासन गर्दा तिनलाई धनकुटा पठाउने गरिएको पाइन्छ। धेरै राणा र शाह खलक राजधानीबाट धनकुटा पुगी सोही स्थानमा जमेर बसेका थिए। हिजोसम्म नेपालको प्रशासनमा सेनाकै अधिकारी जिल्लाका प्रमुख अधिकारी (ठूलाहाकिम वा बडाहाकिम) हुने गरेका थिए।

हालको धनकुटा एकीकरणपूर्व चैनपुरबाट प्रशासित थियो भने पृथ्वीनारायण शाहको पालादेखि नेपालकै एक सामरिक जिल्ला बन्न पुग्यो। हिजोसम्म हालको ताप्लेजुङ तेह्रथुम संखुवासभा धनकुटा जिल्ला पल्लोकिराँतअन्तर्गत नै थिए। राजधानीबाट निष्कासित भएका राणा तथा शाह परिवारहरू नै धनकुटामा बसोबास गर्न थालेपछि धनकुटाको रौनक पनि बढेको थियो।

धनकुटाका तैनाथवालामा बालनरसिंह कुँवर, जसपाउ थापा, बखतबार बस्नेत, हरिलाल पाण्डे, कृष्णध्वज कुँवर, बम वीरविक्रम, डम्बरशमशेर आदि सैनिक अधिकारी जिल्लाका प्रमुख अथवा बडाहाकिम भएको कुरा धनकुटाको इतिहासमा नरपति शर्मा पोखरेलले उल्लेख गरेका छन्।

यी चर्चित अधिकारीहरूले धनकुटाको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै नरपति लेख्छन्ः ……यस्तै ध्येय यहाँ आएका अरू बडाहाकिमहरूले पनि लिइदिनु भएको भए अन्यथा सबै जिल्लाहरूमा पनि यस्तै विचार भएका बडाहाकिम पुग्न गएका भए हाम्रो नेपाल यतिबेला धेरै उज्ज्वल अवस्थामा पुगेको हुन्थ्यो होला।

बागी ठहर भई दण्डित भएका जंगबहादुरका भाइ बमबहादुरका छोरा जर्नेल बमवीरविक्रमले धनकुटामा सल्लेरीवन लगाएको, रानीवन बनाएको, मूलघाटमा आँप बगैँचा लगाएको, रबरवृक्ष रोपेको जस्ता धेरै सामाजिक कार्य गरेका थिए।

यस्तै कार्य अन्य सैनिक अधिकारीहरूले पनि गरेका थिए। यस्तै भीमसेन मन्दिर, सरस्वती मन्दिरलगायत कयौँ पार्टी, सत्तल, बाटोघाटो, धारोपँधेरो सैनिक अधिकृतकै पहलमा निर्माण भएका थिए। धनकुटाको इतिहासले यसै भन्छ।

नेपाली सेनाले धनकुटाको समाजसेवामा पुर्‍याएको गौरवमय परम्परालाई धनकुटास्थित नेपाली सेनाको गण (गुल्म)ले निरन्तरता दिएको छ। जाल्पादेवी (छिन्ताङ), निशान मन्दिर (धनकुटा) र यस्तै धार्मिक स्थलहरूको पुनर्निर्माण र जीर्णोद्धारका कार्यहरू नेपाली सेनाले गरिरहेको जो कोहीले पनि उक्त स्थान भ्रमण गर्दा देखेकै हुन्छन्।

दैवी प्रकोपको समयमा त स्थानीयहरूको आड भरोसा र विश्वास पनि तिनै सेनाउपर गर्ने गरिएको पाइन्छ। यसै क्रममा हाल धनकुटाकै गहना, आकर्षण तथा आन्तरिक र बाह्य पर्यटकको गन्तव्य स्थल बन्न पुगेको विश्रान्ति मन्दिरलाई आजको स्थितिमा पु¥याउन नेपाली सेनाले गरेका कार्यहरू स्तुत्य छन्।

संवत् २०४२ सालमा स्थापना भएको विश्रान्ति मन्दिरले प्रारम्भमा अन्तिम संस्कारको लागि तमोरी गङ्गा (तमोर)मा आउनेहरूको लागि दाउरा तथा संस्कारका लागि आवश्यक ठानिएका सामग्री उपलब्ध गराउने उद्देश्यबाट प्रारम्भ भएको हो।

समयको अन्तरालमा वृद्धाश्रम र गुरुकुल शैक्षिक संस्था सञ्चालन गर्न थालेको हो। आध्यात्मिक अध्ययन अनुसन्धानको थलोका रूपमा अगाडि बढिरहेको यस संस्थाले आध्यात्मिक चेतना जगाई समाजमा शान्ति र समृद्धि कायम गर्न सहयोगी हुने अन्य विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस संस्थाको उद्देश्य प्राप्तिका लागि गरिएका सबै आध्यात्मिक एवं सामाजिक कार्यमा नेपाली सेनाको प्रत्यक्ष उपस्थिति, सहयोग र सहभागिता रहिआएको छ। स्थापनाकालदेखि हालसम्म नेपाली सेनाले पु¥याएको सहयोग र योगदानको संक्षिप्त रूपमा यहाँ उल्लेख गर्ने प्रयास भएको छ।

विश्रान्ति मन्दिर प्रवेश गर्ने प्रवेशद्वार पूर्णतया नेपाली सेनाकै सहयोगमा निर्माण भएको हो। वर्षायामको समयमा तमोर नदीमा आएको र आउने बाढीका कारण विश्रान्ति मन्दिरद्वारा सञ्चालित विविध कार्यक्रमहरू मा व्यवधान आएको र भौतिक संरचनामा समेत खतरा आइपरेकोमा नेपाली सेनाले तटबन्द गरी निर्माण गरी भौतिक संरचनाहरूमा हानि नोक्सानी हुन नपाउने स्थितिमा ल्याएको छ मूल बाटोबाट विश्रान्ति मन्दिर परिसरसम्म पुग्ने शाखा बाटो पनि नेपाली सेनाले बनाएको थियो।

नेपाली सेनाले विश्रान्ति मन्दिरको सरसफाइ, वृद्धवृद्धालाई आवश्यक बन्दोबस्तीका सामान तथा खाद्यान्न नियमित रूपमा उपलब्ध गराइआएको छ। स्थानीय गण दलमा सकल दर्जाका जनशक्तिबाट आफ्नो जन्मदिन तथा यस्तै महत्त्वपूर्ण अवसरहरूमा वृद्ध वृद्धाहरूका लागि भोजनको व्यवस्था गर्दै आएको प्रसङ्ग उल्लेखनीय रहेको छ।

विश्रान्ति मन्दिरमा चलिरहेको अखण्ड धुनीमा दाउरा उपलब्ध गराउने कार्य पनि सेनाले गरेको दृष्टान्त पाइन्छ। संवत् २०८१ फागुन ४ देखि १६ सम्म विश्रान्ति मन्दिरले आयोजनामा गरेको शिवपुराण महायज्ञमा सैनिक जवानहरूको भूमिका अत्यन्तै प्रशंसनीय रहेको चर्चा सहभागी हुने जो कोहीले पनि गरेका छन्। महायज्ञ अवधिभर करिब २० जवानहरू मन्दिर परिसरमा नै आफ्नो अस्थायी आवास निर्माण गरी तैनाथ भएका थिए।

उनीहरूले प्रत्येक दिन मन्दिर परिसरको सरसफाइ, सामान भण्डारण, प्रसाद वितरण, अतिथिहरूका लागि अस्थायी शौचालय निर्माण, आउने अतिथिहरूका लागि आवासको व्यवस्थापन लगायत परिआएका सबै कार्यहरू गरेका थिए।

नेपाली सेनाका यी जवानहरूको कार्य र सेवाभावबाट आगन्तुकहरूमा सेनाको सामाजिक कार्यमा रहेको योगदान बुझ्न र मनन गर्न सके यो पनि ठूलै उपलब्धि हो भन्नै पर्दछ।

नेपाली सेनाको सामाजिक सेवा तथा विविध क्षेत्रमा गरेका कार्य विषयमा अध्ययन अनुसन्धान गरी यो विशिष्ट पक्षलाई उजागर गरी नेपालको इतिहासमा सेनाको भूमिकालाई उजिल्याउन आवश्यक छ। नेपाली सेना जनताको यस्तो सुमधुर सम्बन्ध विश्वको इतिहासमा बिरलै पाइन्छ।

यसकै एक उदाहरणका रूपमा विश्रान्ति मन्दिरको प्रसङ्ग चर्चा गरिएको हो। हालको भीमदल गण र पूर्ववर्ती गणप्रति विश्रान्ति मन्दिरले कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गरेको छ।

नेपाली सेना र जनताको सम्बन्ध अमर रहोस्।
अस्तु !

मानार्थ सदस्य विश्रान्ति मन्दिर


सामाग्री श्रोत :

विश्रान्ति मन्दिरमा नेपाली सेना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट