काठमाडौं –उत्तरी चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन नराम्रो संग प्रभावित भएको छ । बेइजिङलगायत विभिन्न शहरहरूमा सयौं हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् ।

चीनको मौसम विज्ञान प्रशासनले जनाएअनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ ।
‘अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायु गति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,’ मौसम विभागले बताएको छ ।
बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् ।

त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्र गतिको रेल सेवा पनि स्थगित गरिएको छ । समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियोज पार्कजस्ता पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।
बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीहरूमा क्षति पुगेको छ, तर हालसम्म कुनै मानवीय क्षतिको खबर छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ