काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र पछि पर्नुका मुख्य कारण औंल्याएको छ । आयोगले सरकारलाई बुझाएको आर्थिक सुधारको मार्गचित्र नामको प्रतिवेदनले यस्ता समस्या पहिचान गरेको हो ।

पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगले ६ महिनाको अध्ययनपछि तयार पारेको प्रतिवेदनमा सूचना प्रविधि क्षेत्र नेपालमा तीव्र गतिमा अगाडि बढिरहेको भए पनि विभिन्न संरचनागत र सेवा प्रवाहका समस्याका कारण सम्भावनाअनुसार फस्टाउन नसकेको उल्लेख गरिएको छ ।
आयोगका अनुसार सूचना प्रविधि क्षेत्रले हाल कुल गार्हस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान दिइरहेको छ भने निर्यातयोग्य सेवाको रूपमा पनि यसले राम्रो स्थान बनाइरहेको छ । तर, आवश्यक पूर्वाधार, जनशक्ति र सुरक्षामा कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आईटी क्षेत्रको स्थिति विश्लेषण

सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकास र आर्थिक सामाजिक क्षेत्रमा यसको प्रयोगको व्यापकताका कारण यो अर्थतन्त्रको प्रमुख क्षेत्रको रूपमा स्थापित हुन पुगेको आयोगले उल्लेख गरेको छ । प्रतिवेदन अनुसार सूचना प्रविधि र सूचना प्रविधिमा आधारित उद्यम तथा व्यवसायको वृद्धि तीव्र रूपमा भइरहेको छ ।
सूचना प्रविधि आफैँमा महत्त्वपूर्ण क्षेत्रको रूपमा रहनुका साथै यो अर्थतन्त्रका अन्य क्षेत्रको उत्पादकत्व अभिवृद्धिको प्रमुख संवाहक बनेको छ । नेपालमा सूचना प्रविधि महत्त्वपूर्ण क्षेत्रको रूपमा विकास भइरहेको छ ।
नेपालमा सूचना तथा सञ्चार क्षेत्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २ प्रतिशत योगदान गर्ने महत्त्वपूर्ण आर्थिक क्षेत्र बनेको छ । आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको जीडीपीमा १.९४ प्रतिशत योगदान रहेको र यसको वृद्धि दर पनि अर्थतन्त्रकै हाराहारीमा रहँदै आएको छ ।
सूचना तथा सञ्चार प्रविधि (आईसीटी) निर्यात नेपालको सेवा निर्यातमा उल्लेख्य बन्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा टेलिकम, कम्प्युटर र सूचना सेवाको १०७.२ मिलियन अमेरिकी डलर निर्यात भएकोमा पछिल्लो दुई वर्षमा केही घटे पनि निर्यातमा यसको सम्भावना कायमै छ । कुल सेवा निर्यातमा यसको हिस्सा क्रमशः १०.६३% बाट ५.३८% मा झरेको छ, तर निर्यातका लागि सम्भावनायुक्त क्षेत्रको रूपमा रहँदै आएको छ ।
नेपालले सूचना प्रविधि प्रवर्द्धनका लागि डिजिटल नेपाल फ्रेमवर्क, ई-गभर्नेन्स मास्टर प्लान, सूचना प्रविधि नीति २०७२, र विद्युतीय कारोबार ऐन २०६३ जस्ता कानुनी तथा नीतिगत व्यवस्था गरेको छ । समान हैसियत भएका मुलुकहरूको तुलनामा नेपालले आईसीटी क्षेत्रमा उत्साहजनक प्रगति गरे पनि आईटीयूको २०२१ को आईसीटी विकास सूचकाङ्कमा १७६ देशमध्ये १४०औँ स्थानमा रहेको छ ।
आईट क्षेत्र पछि पर्नुका मुख्य कारण
१. दक्ष र पर्याप्त जनशक्तिको अभाव
नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन भए पनि तिनको विदेश पलायन दर उच्च छ । अध्ययनका लागि विदेश गएका विद्यार्थीहरूको स्वदेश फर्कने दर कम भएकाले यस क्षेत्रमा जनशक्ति अभाव देखिएको छ ।
२. भौतिक पूर्वाधार र सूचना प्रविधि पार्कको अभाव
सूचना प्रविधि उद्योगको विकासका लागि डेडिकेटेड सूचना प्रविधि पार्क र अन्य भौतिक पूर्वाधारको निर्माण अभाव छ । देशभर प्रमुख सहरहरूमा यस्ता पूर्वाधारको स्थापना आवश्यक छ ।
३. भरपर्दो दूरसञ्चार सेवा र विद्युत आपूर्तिको समस्या
सूचना प्रविधि क्षेत्रको आधारभूत पूर्वाधार- इन्टरनेट, टेलिकम र विद्युतको गुणस्तर सन्तोषजनक छैन । नियमित विद्युत आपूर्ति, छिटो र भरपर्दो इन्टरनेट र ब्रोडब्यान्ड च्यानलको न्यूनता यस क्षेत्रको उत्पादकत्वमा असर पारिरहेको छ ।
४. सुरक्षित डेटा केन्द्रको कमी
क्लाउड सेवा र डेटा सुरक्षाका लागि अत्यावश्यक सुरक्षित डेटा केन्द्रहरू अपुग छन् । आवश्यक सर्भर, नेटवर्क उपकरण, ब्याकअप, सुरक्षा प्रणाली र वातावरण व्यवस्थापन प्रणाली पर्याप्त छैनन् ।
५. कमजोर साइबर सुरक्षा
नेपालमा साइबर सुरक्षाको अवस्था कमजोर छ । सरकारी र निजी वेबसाइट तथा प्रणालीहरूमा ह्याकिङ र डेटा चोरीका घटना बढ्दो छन् । आक्रमणबाट जोगिने व्यवस्था सुदृढ बनाउन जरुरी छ ।
६. इन्टरप्राइज सेवा दिने निकायहरूको क्षमता अभिवृद्धिको खाँचो
सूचना प्रविधि सेवा प्रभावकारी बनाउन इन्टरप्राइज सेवा दिने संस्थाहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि आवश्यक छ । अनुकूल डिजिटल प्लेटफर्म र जनशक्ति विकासमा जोड दिनुपर्ने देखिन्छ ।
७. अनुसन्धान तथा विकासमा कमी
नेपालमा समग्र रूपमा अनुसन्धान तथा विकास (आर एन्ड डी) प्रवर्द्धन नहुँदा सूचना प्रविधि क्षेत्रमा पनि नयाँ प्रविधि, सेवामा नवीनता ल्याउने सम्भावना कम छ ।
८. सफ्टवेयर तथा हार्डवेयरको मानकीकरण र प्रमाणीकरणको अभाव
सूचना प्रविधि सेवा र निर्यातका लागि आवश्यक पर्ने सफ्टवेयर तथा हार्डवेयरको गुणस्तर निर्धारण र प्रमाणीकरणको व्यवस्था अभाव छ ।
९. लजिस्टिक्स व्यवस्थापनमा कठिनाइ
सूचना प्रविधि कम्पनीहरूलाई उपकरण, पूर्वाधार र सेवा व्यवस्थापन गर्न कठिनाइ छ । जसले व्यवसाय सञ्चालनमा समस्या पुर्याइरहेको छ ।
१०. सूचना प्रविधि कम्पनीको सहजीकरणमा समस्या
सूचना प्रविधि कम्पनीहरूको नियमन र व्यवस्थापन पुरानो शैलीमा हुँदै आएको छ, जसले सहजीकरणमा अवरोध सिर्जना गरेको छ ।
११. कम्पनीमा काम गर्ने कर्मचारीलाई लजिस्टिक्स सुविधाको अभाव
विदेशी टाइमजोन अनुसार राति काम गर्दा सार्वजनिक यातायातको सुविधा नहुनु, कार्यालय पहुँचको समस्या जस्ता व्यवहारिक कठिनाइ छन् ।
१२. न्यून बजेट विनियोजन
सरकारले नीति तथा कार्यक्रम ल्याए पनि सूचना प्रविधि पूर्वाधार, डेटा केन्द्र, आईटी पार्क, आर एन्ड डी र साइबर सुरक्षामा आवश्यक बजेट विनियोजन नगर्दा अपेक्षित गति लिन सकेको छैन ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १७:५०
सामाग्री श्रोत :
टेक पाना