काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताले दिवंगत पत्रकार सुरेश रजकका परिवारलाई भेट गरेका छन् । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनको फोटो/भिडियो खिच्ने क्रममा रजकको जलेर मृत्यु भएको थियो ।

रजकको निवास ताहाचलमा अध्यक्ष लिङदेनसहित बागमती प्रदेशका सभामुख भुवन पाठकलगायतको टोली पुगेको थियो ।
अध्यक्ष लिङदेनले पार्टीको बैठकबाटै घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने निर्णय गरेको बताए । संसद् र सडकबाट समेत यो विषय उठाइरहेको र निरन्तर उठाइरहने उनको भनाइ थियो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रजकका परिवारले सहिद घोषणा गर्नुपर्ने माग राखेको जानकारी गराएका छन् । ‘सुरेशका परिवारले उनलाई सहिद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने कुरा उठाएको छ,’ उनले उल्लेख गरेका छन् ।

चैत १५ मा नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतले नेतृत्व गरेको राजावादी प्रदर्शनकारीले तीनकुनेको घरमा आगो लगाउँदा एभीन्युज टीभीका पत्रकार रजकको त्यही जलेर मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनले पनि ज्यान गुमाएका थिए । पत्रकार रजकले घरभित्रबाट प्रदर्शनको फोटो/भिडियो खिचिरहेका बेला बाहिरबाट घरमा आगो लगाइएको थियो ।
उक्त घटनापछि सुवेदीलाई प्रहरीले घरबाट निस्किन दिएको छैन भने प्रसाईंलाई भारतबाट पक्राउ गरेर ल्याइएको छ । प्रदर्शनमा नेतृत्व गर्ने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई प्रहरीले चैत १५ मा नै पक्राउ गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ