काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले गिरफ्तारमा परेका पार्टीका नेताहरूको रिहाइको माग गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाई नगरे आन्दोलनमा जाने उनको चेतावनी छ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए।
‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो’, उनले भने, ‘प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ।
यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय मिश्र र धवलशम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ राणाले भने।
हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणालगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नुपर्ने उनको धारणा छ।

चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पादन समिति बैठकले सरकारले दुई नेतालाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, रिहा नगरे राप्रपा आन्दोलनमा उत्रने निर्णय गरेको थियो।
पार्टीको निर्णय बमोजिम झुटा मुद्दामा फसाइएका नेताहरुको रिहाइका लागि राप्रपाले देशव्यापी सडक प्रदर्शन गर्नुपर्ने, सबै राष्ट्रवादी शक्तिहरुसँग एकजुट भएर संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने विचार प्रतिनिधिमण्डलमा सहभागी नेताहरूले व्यक्त गरेका थिए।
नेता राणाको निवासमा उपस्थित राप्रपाका नेता, कार्यकताले राप्रपाले राष्ट्रिय झण्डा बोकेर आन्दोलनमा होमिनुपर्ने बताएका थिए।
पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीकोतर्फबाट महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुनसुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, वरिष्ठ केन्द्रीय सदस्य जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, युवा नेता राजु लोहनीले आन्दोलन समयको माग भएको, देश अब आन्दोलन र परिवर्तनबाट पछि फर्कन नसक्ने भन्दै राप्रपाले निर्णायक रुपमा आन्दोलनको बिगुल फुकेर अघि बढ्नुपर्ने बताएका थिए।
प्रतिनिधिमण्डलमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू, जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरू, काठमाडौं उपत्यका भित्रका जिल्ला नेतृत्व तह समावेश थिए।
सामाग्री श्रोत :
मिश्र र राणालाई रिहाई नगरे आन्दोलन गर्ने पशुपतिशम्सेरको चेतावनी