सर्लाही –सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

आत्मा राम रायको सञ्चालनमा रहेको सो तेल उद्योगमा राति करिब ११ः५० बजे भीषण आगो लागेको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो।
प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भण्डारण गरिएको तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तथा अन्य सामग्रीहरू पूर्वरूपमा जलेर करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यद्यपि, घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन।
आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय मुर्तियाबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ