काठमाडौं । एप्पलले गत वर्ष सार्वजनिक गरेको आईफोन १६ सिरिजले व्यापक चर्चा पायो । पछिल्ला वर्षहरूमा स्मार्टफोन निर्माता कम्पनी एआईमा केन्द्रित हुँदा एप्पलले त्यसैलाई पछ्याउँदै हार्डवेयरमा पनि परिवर्तन ल्यायो । त्यसैका कारण आईफोन १६ को क्यामेरा क्याप्चर बटन २०२४ मा अत्यधिक चर्चा हुनेमध्येको एक फिचर बन्यो ।

यता कम्पनीको एआई टुल एप्पल इन्टेलिजेन्स भने जेनेरेटिभ फिल (फोटोको आवश्यकता वा प्रयोगकर्ताको निर्देशनका भरमा फोटोको खाली भाग भर्ने काम) केही विवादित भयो । यता एप्पलको निकटतम प्रतिद्वन्द्वी सामसङको जेनेरेटिभ एआई फिचरले व्यापक चर्चा पाइरहेको छ ।
यस वर्षको सुरुवातमा आईप्याड र म्याकका धेरै नयाँ भर्सन सार्वजनिक भए । त्यसोभए २०२५ का बाँकी आठ महिनामा एप्पलले के-कस्ता प्रडक्ट बजारमा ल्याउला ? यो धेरैको चासोको विषय बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको नयाँ कर प्रणालीलाई लिएर अब एप्पलले कस्ता प्रडक्ट ल्याउँछ भन्ने बहस पनि भइरहेको छ । यसैबिच टेकपानाले म्याकर्युमर्सको सामग्रीलाई आधार मानेर एप्पलले २०२५ मा ल्याउनसक्ने प्रडक्टको सूची तयार पारेका छ:

आईफोन १७, १७ एयर र १७ प्रो:
हरेक सेप्टेम्बरमा एप्पलले नयाँ आईफोन सार्वजनिक गर्छ । यस वर्ष एप्पलले सार्वजनिक गर्ने नयाँ सिरिज हो, आईफोन १७ । आईफोन १७ सिरिजका विभिन्न मोडेलमा कम्पनीले कुनै न कुनै नयाँ फिचर समावेश गर्छ । त्यसमा कुनै दुई मत छैन । तर यो वर्ष रोमाञ्चक हुनुपर्छ ।
किनभने विभिन्न लिकरले आईफोन १७ एयर एकदमै पातलो डिजाइनमा सार्वजनिक हुने दाबी गरेका छन् । त्यस्तै आईफोन आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा नयाँ रियर क्यामेरा डिजाइन हुने बताइएको छ । प्रो मोडेलमा एप्पलले आईफोन ११ पछि झट्ट छुटिहाल्ने नयाँ क्यामेरा डिजाइन ल्याएको छैन ।
एप्पल वाच सिरिज ११:
यस वर्ष एप्पलको अपडेटेड एप्पल वाच सिरिज ११ सार्वजनिक हुनेछ । यसमा रक्तचाप मापन गर्नेदेखि अन्य स्वास्थ्यसँग सम्बन्धित फिचर उपलब्ध हुने जनाइएको छ । यद्यपि के-कस्ता फिचर आउँछन् भन्ने स्पष्ट छैन । वाच ओएस पनि नयाँ लुक्सका साथ आउने चर्चा छ ।
एप्पल वाच अल्ट्रा ३:
एप्पलले गत वर्ष एप्पल वाच अल्ट्रा अपडेट गरेन । तर यो वर्ष यसको नयाँ मोडल आउने अनुमान छ ।
एप्पल वाच एसई:
एप्पलले २०२४ मा सस्तो वाच एप्पल वाच एसई ल्याएन । त्यसैले यस वर्ष कम्पनीले कम लागतको एप्पल वाच एसई ल्याउने सम्भावना उच्च छ । पछिल्लो समय नयाँ प्लास्टिक केसको बारेमा केही अफवाह थिए । तर, ती कति भरपर्दो हुन् भन्न सकिँदैन ।
एयरपड्स प्रो ३:
एयरपड्स प्रोले अपडेट पाउने समय आएको छ । र, यस वर्ष उक्त प्रडक्टले सबैभन्दा ठुलो अपडेट पाउने अपेक्षा गरिएको छ । एयरपड्स प्रोको नयाँ डिजाइन हुनेछ भने केसमा पनि अपडेट आउने सम्भावना उच्च छ । गुणस्तरीय अडिओ, एक्टिभ न्वाइज क्यान्सिलेसनमा सुधार, फास्टर चिप र सम्भवतः तापक्रम र मुटुको गति मापन गर्ने जस्ता स्वास्थ्य फिचर हुने अपेक्षा गरिएको छ ।
म्याक प्रो:
म्याक प्रो एप्पलको अन्तिम म्याक हो, जसमा एम फोर चिप छैन । र, यो वर्षको अन्त्यअघि नै रिफ्रेश हुने बताइएको छ ।
म्याकबुक प्रो:
म्याकबुक प्रो अक्टोबर २०२४ मा अपडेट गरिएको थियो । अक्टोबर २०२५ मा कम्पनीले नयाँ अपडेट ल्याउने बताइएको छ । अहिले यसमा कम्पनीले कुनै ठुलो डिजाइन परिवर्तनको योजना ल्याएको छैन । तर यसमा एम फाइभ चिप हुनेछ ।
एप्पल टिभी फोरके:
एप्पल टिभी रिफ्रेश भएको धेरै समय भइसकेको छ । र, यसको नयाँ मोडल पनि बनिरहेको छ । यसमा फास्टेस्ट प्रोसेसर हुने चर्चा छ भने सम्भवतः एप्पल इन्टेलिजेन्स र कन्सोल-लेभलका गेम सपोर्ट गर्न सक्ने प्रोसेसर हुन सक्छ । यसमा पनि कुनै डिजाइन परिवर्तनको अपेक्षा गरिएको छैन ।
होमपड मिनी:
होमपड मिनीले छिटो एस-सिरिज चिप, एप्पल-डिजाइन गरिएको वाई-फाई र ब्लुटुथ चिप तथा नयाँ कलर अप्सनको अपडेट पाउनेछ ।
एयरट्याग २:
एयरट्यागको नयाँ भर्सन बनिरहेको छ । २०२५ मा यो लन्च गर्ने तालिका छ । अहिले एयरट्यागमा डिजाइन अपडेटको कुनै संकेत देखिएको छैन । तर यसले नयाँ अल्ट्रा वाइडब्यान्ड चिप पाउनेछ, जसले टाढाको रेञ्जसम्म काम गर्न सक्नेछ । साथै यसमा ठुलो स्पिकर पनि हुने अपेक्षा गरिएको छ ।
अबको दुई महिनामा एप्पलले आफ्नो जुन वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स आयोजना गर्दैछ । त्यसमा आईओएस १९, आईप्याडओएस १९, म्याकोएस १६, टिभीओएस १९, वाचओएस १२ र भिजन ओएस ३ का नयाँ फिचर देख्न पाइनेछ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १०:१९
सामाग्री श्रोत :
टेक पाना