एजेन्सी–सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले आक्रमण गर्दा कम्तीमा २५ जना सर्वसाधारणको ज्यान गएको छ।

ज्यान गुमाउनेमा महिला र बालबालिका समेत परेको स्थानीय स्वयम्सेवी समूहहरूले जनाएका छन्।
उत्तर दारफुरको घेरामा परेको राजधानी अल–फासेरमा क्रियाशील स्थानीय प्रतिरोध समितिका अनुसार यो आक्रमण शिविरको दक्षिण र पूर्वतर्फबाट भारी गोलीबारी गर्दै गरिएको थियो।
झण्डै दुई वर्षदेखि सुडानको सैनिक बल र अर्धसैनिक समूहबीच चलिरहेको सशस्त्र द्वन्द्वका कारण जमजमसहितका अन्य भीडभाडयुक्त विस्थापित शिविरहरू अत्यन्तै प्रभावित भएका छन्।

गत महिनामा राजधानी खार्तुममा नियन्त्रण गुमाएपछि अर्धसैनिक समूहले सुडानको पश्चिमी भूभाग दारफुरमा आफ्नो पकड जमाउन आक्रमण तीव्र पारेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, उक्त समूहका सशस्त्र सवारी साधनहरू गोलीबारीको आडमा शिविरभित्र पसेका थिए।
स्थानीय प्रतिरोध समितिका अनुसार आक्रमणको केही जवाफी प्रतिकार पनि गरिएको थियो, तर संचार माध्यम र इन्टरनेट बन्द भएकोले क्षतिको सम्पूर्ण विवरण प्राप्त हुन सकेको छैन।
गत वर्ष संयुक्त राष्ट्रसङ्घको सहकार्यमा भएको एक अध्ययनले जमजम क्षेत्रमा भोकमरीको स्थिति घोषणा गरेको थियो।
सन् २०२३ अप्रिल १५ बाट सुरु भएको सैनिक नेताहरूबीचको सत्ताको सङ्घर्ष गृहयुद्धमा रूपान्तरण भएपछि अहिलेसम्म दशौँ हजार मानिसको ज्यान गइसकेको छ र एक करोडभन्दा बढी नागरिकहरू घरबारविहीन भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ