काठमाडौँ । नेपाली कन्टेन्ट क्रियटरले पछिल्लो आठ महिनाको अवधिमा दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका छन् । नेपाल राष्ट्र बैँकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो आँकडा पहिलो पटक सार्वजनिक गरेको हो ।

प्रतिवेदनले ‘अडियो भिजुअल एन्ड रिलेटेड सर्भिसेस अन्तर्गत यस किसिमको आम्दानी तथा खर्चलाई समेटेको राष्ट्र बैंकका सहप्रवक्ता एवम् सूचना अधिकारी सुमन न्यौपानेले बताए । उनका अनुसार सामाजिक सञ्जाल मार्फत आम्दानी गर्ने मात्र नभई समेतका अडिओ तथा भिडिओ सामग्री उत्पादनमा नेपालीहरूले गरेको खर्च समेत समेटिएको छ ।
जसअनुसार यस अवधिमा नेपालीहरूले ७२ करोड ७४ लाख रुपैयाँ खर्चेको देखिन्छ । समग्रमा यो शीर्षकमा देशले एक अर्ब ५१ करोड दुई लाख रुपैयाँ नाफा गरेको छ । यसैगरी दूरसञ्चार सेवातर्फ नेपालले तीन अर्ब ६४ करोड ११ लाख रुपैयाँ आम्दानी गर्दा एक अर्ब ९२ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।
यो शीर्षकमा भने नेपाललाई एक अर्ब ७१ करोड ३ लाख रुपैयाँ नाफा भएको छ । त्यस्तै कम्प्युटर सर्भिसमा नेपालीहरूले यस अवधिमा १० अर्ब ६१ करोड ७९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्र्याएका छन् । यही शीर्षकमा एक अर्ब ६० करोड २० लाख रुपैयाँ बाहिरिँदा देशमा ९ अर्ब एक करोड ५९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित हुन पुगेको छ ।

कम्प्युटर सर्भिस अन्तर्गत हार्डवेयर तथा सफ्टवेयरसँग सम्बन्धित आय तथा भुक्तानीलाई समेट्ने गरिएको छ । जसमा डेटा प्रोसेसिङ सर्भिस कस्टमाइज गरिएको सफ्टवेयर बिक्री, सफ्टवेयर विकास, अपरेटिङ सिस्टम निर्माण, हार्डवेयर तथा सफ्टवेयरको इन्स्टलेसन, मेन्टिनेन्स तथा रिपेयर, डेटा रिकभरी, सल्लाह तथा सहायता, सिस्टम डिजाइन तथा प्रोग्रामिङ, सफ्टवेयर सम्बन्धित प्राविधिक परामर्श, डटा इन्ट्री लगायतका प्रोसेसिङ तथा होस्टिङ सर्भिस, वेबपेज तथा एप्लिकेसन होस्टिङ जस्ता सेवाहरू यसमा राखिएका छन् । तर रेडिमेड सफ्टवेयर तथा कस्टमाइज नगरिएका सफ्टवेयरको खरिदलाई भने यसमा समेटिएको छैन ।
यस बाहेक प्रोफेसनल एन्ड म्यानेजमेन्ट कन्सल्टिङ सेवामार्फत नेपालले २३ अर्ब २४ करोड एक लाख रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको छ । यो शीर्षकमा बाहिरिने रकम भने २ अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बराबर छ । यसरी हेर्दा परामर्श सेवातर्फ देशलाई २० अर्ब ७६ करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नाफा भएको छ ।
यस बाहेक अन्य व्यावसायिक सेवा तर्फ पनि नेपालको स्थिति सकारात्मक देखिएको छ । उक्त शीर्षकमा ३६ अर्ब ५० करोड ७४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको छ भने २१ अर्ब ३ करोड ५७ लाख रुपैयाँ बराबर बाहिरिँदा देशलाई १५ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८१ ११:५७
सामाग्री श्रोत :
टेक पाना