काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन गर्दैछ। चैत २८ देखि ३० गतेसम्म द सोल्टी होटेल, काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ। सम्मेलनको मुल नारा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको सदस्यसचिव डा प्रमोद जोशीले जानकारी दिए। सम्मेलनको औपचारिक उद्घाटन चैत २८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्नेछिन्। कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माताहरू र विकास साझेदार निकायहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको डा जोशीले बताए। उनले भने, ‘स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, बैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ।’ यस वर्षको सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानसिलता, र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा केन्द्रित रहने प्रमुख रिसर्च अधिकृत डा मेघनाथ धिमालले बताए। ‘यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका तड्कारो विषयवस्तुहरूमा केन्द्रीत भएर व्यापक छलफल र प्रस्तुतिकरण गरिनेछ,’ डा जोशीले थपे। सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने बताइएको छ। जसमा भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागीता रहनेछ। यस सम्मेलनलाई पारदर्शी बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुतिकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्र्याक्ट हरु प्राप्त भएका छन्, जसमध्ये साइन्टिफिक कमिटीले निर्धारण गरेको मापदण्डको आधारमा ८७ वटा मौखिक प्रस्तुतिकरण (र ११५ वटा पोस्टर प्रस्तुतिकर का लागि छनोट गरिएको बताइएको छ। साथै २६ जना आमन्त्रित र २ जना किनोट स्पिकरले सम्मेलनको मुल नारामा केन्द्रित भएर विशेष प्रस्तुति दिनेछन्।सम्मेलनमा स्वास्थ्य अनुसन्धानका १४ वटा विधाहरुमा उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्डद्वारा सम्मानित गरिने समेत जानकारी दिइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

