काठमाडौँ । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडेर डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआई मार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।

इन्फिनिटी लघुवित्तका ग्राहकले अब एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरू मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न सङ्कलनका कारोबारहरू गर्न सक्नेछन् । साथै तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका भुक्तानी समेत सोझै गर्न सकिनेछ ।
इन्फिनिटी लघुवित्तले एनपीआई मार्फत आफ्ना शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणा सहित एनपीआई विकास गरिएको हो । हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू यसमा आबद्ध भइसकेका छन् ।

अन्य पीएसपी तथा पीएसओ, रेमिटेन्स कम्पनी, ११ ओटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्था लगायतका १०० भन्दा बढी गैर—बैङ्किङ संस्था अप्रत्यक्ष प्राविधिक सदस्यका रूपमा जोडिएका छन् । यसमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आईपीएस तथा आरपीएस प्रणाली प्रयोग गर्न सक्नेछन् ।
२०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरूलाई बचत निक्षेप सङ्कलन तथा ऋण भुक्तानी, रेमिटेन्स तथा माइक्रो बीमा सेवा प्रदान गर्दै आइरहेको छ । इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्क मार्फत लेन्डिङ मोडेल पछ्याउँदै नेपालका ४८ जिल्लामा ९६ शाखा र १ लाख भन्दा बढी घरधुरी समेटेको छ ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १४:१४
सामाग्री श्रोत :
टेक पाना