काठमाडौं– सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलैयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएका सागरदेवी फर्माका प्रोपाइटर बिमलेश साहविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आव २०७७/७८ र आव २०७८/७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सागरदेवी फर्माका प्रोपाइटर साहसँग मिलेमतोमा महँगो मूल्य कायम गरी प्याड खरिद गरेको भेटिएपछि संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो । सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिविपरीत ०७७ मंसिर १९ मा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीले प्रतिप्याकेट प्याडको मूल्य ७९ रुपैयाँ १ पैसा कायम गरिएको थियो । त्यसकै आधारमा लागत स्टिमेट तयार पारी खरिद योजना स्वीकृत गराइएकोमा खरिद प्रतिस्पर्धामा एकै परिवारका तीनजनाका नाममा रहेका फर्महरुबाट मात्रै बोलपत्र पेस भएको थियो ।
त्यसमध्ये सागरदेवी फर्माबाट पेस भएको ७८ रुपैयाँ प्रतिप्याकेट भुक्तानी गर्ने गरी ९६ हजार २ सय ८० प्याकेट प्याड खरिदको ठेक्का दिइएको पाइएको थियो । जबकी त्यही सेनिटरी प्याड आब २०७८/७९ मा प्रति प्याकेट २४ रुपैयाँका दरले खरिद भएकोमा अख्तियारले प्रतिप्याकेट ५४ रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित खरिद प्रक्रियामा संलग्न कर्मचारी र ठेकेदारलाई कसुरदार देखाएर हिनामिना भएको रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरुको बोलपत्र पेश गरी/गराई प्रति प्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा आव २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो बर्ष प्रति प्याकेटमा ५४ रुपैयाँका दरले ९६ हजार २ सय ८० प्याकेटको जम्मा ५१, लाख ९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरेको हुँदा प्रतिवादीहरु प्रल्हादप्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।’
महँगोमा प्याड खरिद गर्ने ठेक्का हत्याएको भन्दै अख्तियारले सागरदेवी फर्माका सञ्चालक साहलाई मतियारका रुपमा हिनामिना भएको रकमअनुसार छुट्टै बिगो कायम गरी कैद र जरिवाना मागदावी लिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ