काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर बढिरहँदा यसबारे वास्तविक समयको जानकारी दिने सरकारी वेबसाइट भने असुरक्षित रहेको पाइएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सञ्चालन गर्दै आएको पोलुसन डट जीओभी डट एनपी (pollution.gov.np) वेबसाइट खोल्दा हाल ‘Your connection is not private’ भन्ने चेतावनी देखिन्छ । यस्तो चेतावनीले वेबसाइटको सुरक्षा प्रणालीमा समस्या रहेको संकेत गर्छ ।
ब्राउजरमा देखिने उक्त सन्देशअनुसार वेबसाइटले प्रयोग गर्ने सुरक्षा प्रमाणपत्र (एसएसएल सर्टिफिकेट) १४२ दिनअघि अर्थात् करिब पाँच महिना नै पहिले एक्स्पायर भएको छ । यसको अर्थ अहिले वेबसाइट र प्रयोगकर्ताबीच इन्क्रिप्टेड (सुरक्षित) कनेक्सन भइरहेको छैन । जसले गर्दा प्रयोगकर्ताको सूचना तेस्रो पक्षले रोक्नसक्ने सम्भावना रहेको सुरक्षा जानकार बताउँछन् ।
उनीहरूका अनुसार यस्तो अवस्थामा वेबसाइटलाई ‘unsafe’ अर्थात् असुरक्षित भनेर वर्गीकृत गरिन्छ । प्रयोगकर्ताले “Proceed to pollution.gov.np (unsafe)” क्लिक गरेर साइट हेर्न भने सक्नेछन् । तर एसएसएल सर्टिफिकेट नभएका वेबसाइटमा पासवर्ड, व्यक्तिगत विवरण वा अन्य संवेदनशील जानकारी राखे सुरक्षा जोखिम निम्तिने डर हुन्छ ।

यो वेबसाइटले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न अनुगमन स्टेसनहरूबाट वास्तविक समयको वायु गुणस्तर सूचकांक (AQI), PM2.5 र PM10 लगायतका कण पदार्थ सम्बन्धी विवरण, ध्वनि प्रदूषण तथा डेटा विश्लेषण रिपोर्ट प्रदान गर्दै आएको छ ।
जनस्वास्थ्यको लागि महत्त्वपूर्ण सूचना प्रवाह गर्ने वेबसाइट आफैं स्वस्थ हुन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ । कतिपयले यस्ता संवेदनशील वेबसाइटहरू समयमै अपडेट नगर्नु आमनागरिकप्रति लापरबाही भएको भन्दै तत्काल एसएसएल सर्टिफिकेट नवीकरण गर्न तथा सुरक्षाका अन्य आधारभूत मापदण्ड पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८१ २३:२८
सामाग्री श्रोत :
टेक पाना