काठमाडौं । यही २० चैतदेखि सडकमा नेपालभरिका शिक्षकहरूको प्रतिनिधित्व गर्दै काठमाडौंमा शिक्षक आन्दोलन भइरहेको छ । विद्यालय शिक्षा ऐनको माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

विगत ६ दिनदेखि आन्दोलनरत शिक्षकहरूले सोमबारदेखि त शैक्षिक गतिविधिलाई नै बन्द गरेर संघर्षमा उत्रिएका छन् । शिक्षक आन्दोलन आवश्यक छ कि छैन भनेर विभिन्न पक्षबाट बहस भइरहँदा आन्दोलनको शैलीले धेरैले तारिफ गरेका छन् ।
शिक्षक आन्दोलन सुरु भएको साँझ अर्थात् गत बुधबार सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहर नगरी र केही पनि संरचना तोडफोड नगरी आन्दोलन गरेको भन्दै धन्यवाद दिएका थिए ।

शिक्षक आन्दोलनका क्रममा हुने फोहोरलाई शिक्षकहरूले टिपिरहेको तस्बिरहरू समेत भाइरल भएका छन् । विशेषगरी कुनैपनि हिंसात्मक गतिविधि नगरी रचनात्मक तरिकाले आन्दोलन गरेकोमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
राज्यको ध्यान खिच्न शिक्षकहरूले कहिले सडकमा सुतेर, कहिले सिठ्ठी फुकेर, कहिले मौन बसेर, कहिले मास्क लगाएर आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा उनीहरूले आफ्नो प्रतिभा समेत देखाइरहेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भिडिओमा केही शिक्षकले मादल मुरली बजाउँदै गीतमार्फत आफ्ना मागहरू राखिरहेका छन् भने केहीले कविता सुनाएका छन् । जादु देखाएर ध्यान आफूतिर आकर्षित गराएर केही शिक्षकहरू भाइरल समेत भएका छन् ।
यिनै गतिविधिलाई नियाल्दै सामाजिक सञ्जाल एक्समा एमाले नेता अब्दुस मिया लेख्छन्, “उपद्रो नगरिकन पनि आन्दोलन गर्न सकिन्छ, सरकारसमक्ष आफ्ना माग राख्न सकिन्छ भन्ने उदाहरण बनेको छ शिक्षक आन्दोलन। देशभरका सम्पूर्ण आदरणीय शिक्षकहरूको माग सरकारले टुङ्ग्याउने गरी सुनोस्, मेरो ऐक्यबद्धता छ।”
उपध्रो नगरिकन पनि आन्दोलन गर्न सकिन्छ, सरकारसमक्ष आफ्ना माग राख्न सकिन्छ भन्ने उदाहरण बनेको छ शिक्षक आन्दोलन। देशभरका सम्पूर्ण आदरणीय शिक्षकहरुको माग सरकारले टुङ्ग्याउनेगरि सुनोस्, मेरो ऐक्यबद्धता छ। pic.twitter.com/qhJhru0E30
— Abdus Miya (@abdusmiya) April 6, 2025
फेसबुक प्रयोगकर्ता गोकुल कुमार भुजेलले शिक्षकहरूले नाचगान गर्दै आन्दोलन गरेको भिडिओ शेयर गर्दै शिक्षक आन्दोलनबाट पाठ सिक्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, “तोडफोड लुटपाट आगजनी बिना यसरी रमाइलो गरेर पनि आन्दोलन गर्न सकिने रहेछ त, शिक्षक आन्दोलनबाट पाठ सिकौँ ।”
स्टुडेन्ट शिक्षक नामको फेसबुकले शिक्षक आन्दोलनबाट सफाइ सिक्नुपर्ने भन्दै आइतबार एक पोस्ट सार्वजनिक गरेको थियो । त्यसमा शिक्षकहरू सडकमा रहेका मिनिरल वाटरका बोतलहरू टिपेर प्लास्टिकको झोलामा राखिरहेका तस्बिरहरू राखिएका छन् ।
तस्बिर सौजन्य: सामाजिक सञ्जाल
पछिल्लो अध्यावधिक: चैत २५, २०८१ २०:२८
सामाग्री श्रोत :
टेक पाना