काठमाडौं । गोप्य ईमेल पठाउनुपर्ने अवस्था धेरै हुन सक्छन् । कस्तो अवस्थामा गोप्य ईमेल पठाउने भन्ने विषय परिस्थिति अनुसार फरक हुन सक्छ । नेपाली प्रयोगकर्ताको हकमा संवेदनशील व्यक्तिगत जानकारी जस्तै; नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी, बैंक खाता नम्बर वा स्वास्थ्य सम्बन्धी विवरण पठाउँदा गोप्य ईमेलको आवश्यकता पर्न सक्छ ।

कम्पनीको गोप्य कागजात, नयाँ उत्पादनको जानकारी वा सम्झौताको मस्यौदा पठाउनु पर्दा पनि यसको आवश्यकता पर्छ । राजनीतिक वा सामाजिक रूपमा संवेदनशील जानकारी वा मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले जोखिममा रहेका व्यक्तिहरूको जानकारी पठाउँदा सुरक्षाका कारणले गोप्य ईमेलको प्रयोग गर्नुपर्ने हुन्छ ।
व्यक्तिगत कुराकानी खासगरी परिवारका सदस्य वा साथीभाइसँग संवेदनशील विषयमा कुरा गर्दा पनि गोपनीयता कायम राख्न आवश्यक हुन्छ । सबै प्रयोगकर्तालाई मध्यनजर गर्दा कानुनी मामलामा वकिलसँग सल्लाह आदान प्रदान गर्दा, मानव संसाधन विभागले कर्मचारीको तलब वा कार्यसम्पादन मूल्याङ्कन पठाउँदा, अनुसन्धानकर्ताले नयाँ खोजको जानकारी पेटेन्ट गर्नुअघि पठाउँदा र पत्रकारले गोप्य स्रोतबाट प्राप्त सूचना पठाउँदा गोप्य ईमेलको आवश्यकता पर्दछ ।
जानकारी कत्तिको संवेदनशील छ र त्यसलाई सुरक्षित राख्न आवश्यक छ कि छैन भन्ने कुरा विचार गरेर त्यो ईमेल गोप्य हुनुपर्ने हो कि होइन भन्ने सुनिश्चित गर्न सकिन्छ ।

गोप्य ईमेल पठाउँदा त्यो ईमेल कति दिनपछि हटाउन चाहेको हो भन्ने छनोट गर्ने सुविधा हुन्छ । सामान्यतः तपाईंले एक पटक ईमेल पठाइसकेपछि त्यसलाई अनसेन्ड गर्न वा पठाइसकेको व्यक्तिको ईमेलबाट तपाईं आफैले हटाउन सक्नुहुन्न ।
अर्को व्यक्तिले आफ्नोमा आएको ईमेल हटाएको खण्डमा मात्र उक्त ईमेल हट्छ । यदि तपाईं कसैलाई पठाएको ईमेल केही दिनमा हटोस् भन्ने चाहनु हुन्छ भने ‘गोप्य ईमेल’को सेवा प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै कुनै संवेदनशील कागजात ईमेल मार्फत पाउने व्यक्तिले डाउनलोड गर्न नसकोस्, प्रिन्ट गर्न नसकोस् वा फरवार्ड गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने तपाईंले गोप्य ईमेल पठाउन सक्नुहुन्छ ।
कसरी पठाउने गोप्य ईमेल ?
सर्वाधिक प्रयोग हुने ईमेल सेवाप्रदायक जिमेलले यस्तो सुविधा दिएको छ । तपाईंले जुन व्यक्तिलाई ईमेल पठाउनु भएको छ उक्त व्यक्तिले आफ्नो नम्बरमा आएको ओटीपी नराखेसम्म ईमेल नखुल्ने सुविधा पनि जिमेलमा छ । तर, नेपालमा हालसम्म यो फिचर उपलब्ध भइसकेको छैन । यद्यपि एसएमएस पासकोड प्रयोग नगरी ‘गोप्य ईमेल’ भने पठाउन सकिन्छ । यसलाई गुगलले ‘कन्फिडेन्सियल मोड’ नाम दिएको छ ।
कन्फिडेन्सियल मोड प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
-
सबैभन्दा पहिले जिमेल एप खोल्नुहोस् ।
-
त्यसपछि ‘कम्पोज’को अप्सनमा गई नयाँ ईमेल बक्स खोल्नुहोस् ।
-
त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
-
अनि, ‘कन्फिडेन्सियल मोड’ (Condidential Mode) मा जानुहोस् ।
-
त्यसपछि सबैभन्दा पहिले कन्फिडेन्सियल मोड भन्ने टोगल अन गर्नुहोस् ।
-
अनि एक्सपाइरी डेटको अप्सनमा गएर कति दिनमा ईमेल गायब हुनुपर्ने हो त्यो छान्नुहोस् । जिमेलले त्यसमा एक दिन, एक हप्ता, एक महिना, तीन महिना र पाँच वर्षको सुविधा दिएको छ । अहिले यीबाहेकका छुट्टै मिति छान्ने सुविधा भने छैन ।
-
त्यसपछि माथि सेभको अप्सनमा ट्याप गरी सेटिङ सेभ गर्नुहोस् । (यदि पासकोडको अप्सन छान्नुभयो भने नेपाली नम्बर राख्न मिल्दैन । अहिले केही सीमित देशका नम्बर मात्र यसमा सपोर्ट हुन्छन् ।)
-
यसरी सबै सेटिङ मिलाइसकेपछि पाउने व्यक्तिको ईमेल एड्रेस, सब्जेक्ट र मेसेज टाइप गरी पठाउन सक्नुहुन्छ ।
यदि ब्राउजरमा जिमेल प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा पनि यही प्रक्रिया हो । ब्राउजरमा भने कन्फिडेन्सियल मोड तलपट्टि फोटोको अप्सनको छेउमा पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८१ १९:४३
सामाग्री श्रोत :
टेक पाना