काठमाडौं- लक्ष्मण श्रेष्ठ, हाल ओम अस्पताल, चाबहिलमा कार्यरत एक पुरुष नर्स, नर्सिङ पेशामा पुरुषको उपस्थितिलाई लिएर समाजमा अझै धेरै भ्रम र पूर्वाग्रह रहेको बताउँछन्।
पेशागत यात्रादेखि लिएर सामाजिक सोच, तलब सन्तुष्टि, लैंगिक दृष्टिकोण र भविष्य—सबै विषयमा उनले खुलेर आफ्नो अनुभव साझा गरेका छन्।
‘मेल नर्स भनिने शब्दले नै कहिलेकाहीँ अप्ठ्यारो महसुस गराउँछ,’ श्रेष्ठ भन्छन्, ‘जसरी फिमेल नर्सलाई ‘सिस्टर’ भनिन्छ, त्यसैगरी मेल नर्सलाई ‘ब्रदर’ भनिएको राम्रो लाग्छ।’
उनको भनाइमा, नर्सिङलाई करियरको रूपमा छनोट गर्दा परिवार र समाज दुवैबाट प्रश्न उठेको थियो। ‘जब मैले नर्सिङ पढ्छु भनें, सबैको प्रतिक्रिया एउटै थियो—‘केटा पनि नर्स हुन्छ र?’ अहिले पनि गाउँमा ‘नर्स हुँ’ भन्दा एच.ए हो कि सीएमए हो?’ भनेर प्रश्न गर्छन्।’
नेपालमा नर्सिङ अध्ययन गर्न लाखौं रुपैयाँ खर्च भए पनि तलब र पेशागत सन्तुष्टि भने अपूरो रहेको उनी बताउँछन्। ‘जागिर छिटो पाइन्छ, तर मुख्य कुरा त स्यालरी हो। नेपालमा तलब प्रति सन्तुष्टि छैन,’ उनले गुनासो गरे।
उनी भन्छन्, ‘कतिपयले मलाई केटा भएको कारण पहिले डाक्टर भन्छन्, अनि फिमेल डाक्टरलाई चाहिँ सिस्टर भन्ने चलन देखिन्छ। यस्तो दोहोरो व्यवहार गलत हो। म आफैँ स्पष्ट गर्छु—म डाक्टर हैन, म नर्स हुँ, मेल नर्स।’
भारतबाट फर्किएपछि उनले काठमाडौँका थुप्रै अस्पतालमा इन्टरभ्यु दिएका थिए। तर अधिकांश अस्पतालबाट नकारात्मक प्रतिक्रिया आएको उनी बताउँछन्। ‘धेरै अस्पतालले भने, ‘हामीले त मेल नर्स हायर गर्ने परै जावोस, सुनेको पनि थिएनौँ।’ कतिपयले त मलाई ‘एच.ए हो कि सीएमए हो?’ भनेर नै प्रश्न गरे,’ उनले बताए।
‘छ महिनासम्म जबलेस हुँदा मानसिक रूपमा निकै निराश भएँ। तर कोभिडको समयमा सेवा गर्न पाएपछि भने गर्व महसुस भयो।’
डिजास्टर म्यानेजमेन्ट, आईसीयू, इमर्जेन्सी सेवामा मेल नर्सको शारीरिक शक्ति प्रभावकारी हुने उनले बताए। ‘फिजिकल स्ट्रेन्थ आवश्यक पर्ने अवस्थाहरूमा मेल नर्सले थप जिम्मेवारी लिन सक्छन्,’ उनले भने, ‘तर यसको अर्थ महिलाले गर्न सक्दैनन् भन्ने हैन।‘ आईसीयू, इमर्जेन्सी जस्ता ठाउँमा बिरामीहरुलाई एउटा ठाउँ बाट अर्को ठाउँमा सार्न पर्दा, बिरामी उठाउन पर्दा र अलि मोटो बिरामीको केयर गर्न पर्दा केटा मान्छे हुँदा अलि सहज हुने उनले भने।
उनले आफूले नर्सिङको सट्टा इन्जिनियर वा फार्मेसी पढेको भए सायद फरक हुने थियो भन्ने पछुतो पनि व्यक्त गरे। तर, अहिले आएर नर्सिङ पेशालाई लिएर गर्व पनि छ भने। न्यून तलबमा जिन्दगी चलाउन गाह्रो हुने भएका कारण अक्याडेमिक तिर जाने पनि उनको सोच रहेको बताए।
नर्सिंग पेशामा लैंगिकता होइन, व्यवहार र आत्मसमर्पण मुख्य हुने उनले बताए। ‘हामी भावनात्मक रूपमा संवेदनशील पेशामा छौं। केटा वा केटी जे भए पनि नम्रता र आत्मविश्वास आवश्यक हुन्छ।‘ केटा नर्स भनेर लैंगिक भेदभाव त छैन, खाली जनचेतना नभएको हो।
भोजपुर जिल्लाका स्थायी बासिन्दा उनी आफ्नो जिल्लामा एक दिन ठूलो स्वास्थ्य शिविर सञ्चालन गर्ने सपना बोकेर अगाडि बढिरहेका छन्। ‘भोजपुर जिल्ला अस्पतालमा आईसीयू नभएकै कारण सेवा रोकिएको छ। म त्यो पुनः सञ्चालनमा सहयोग गर्न चाहन्छु,’ उनले अन्त्यमा भने।
सामाग्री श्रोत :
swasthyakhabar

