काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका अडिओ तथा भिडिओ कलसम्बन्धी तीन नयाँ फिचर ल्याउने भएको छ । डब्लूएबेटाइन्फो (WABetaInfo)ले दिएको जानकारी अनुसार यी नयाँ फिचर ह्वाट्सएपको एन्ड्रोइड बेटा संस्करण २.२५.१०.१६ मा उपलब्ध भइसकेको छ ।

यसअन्तर्गत भ्वाइस कलका लागि म्युट बटन थपिएको छ । यसले प्रयोगकर्तालाई नोटिफिकेसन प्यानलबाटै माइक्रोफोन म्युट गरेर कल उठाउन अनुमति दिन्छ । यो सुविधा विशेषगरी कोलाहल भएको ठाउँमा उपयोगी हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै दोस्रो सुविधा अन्तर्गत भिडिओ कलमा क्यामेरा बन्द गर्ने सुविधा थपिएको छ । यसले प्रयोगकर्ताहरूलाई भिडिओ कल उठाउनुअघि क्यामेरा बन्द गर्न अनुमति दिन्छ । यो सुविधा क्यामेराअघि तयार हुन केही सेकेन्ड चाहिने वा क्यामेरामा देखा पर्न नचाहने प्रयोगकर्ताका लागि उपयोगी हुने बताइएको छ । अर्कोतर्फ अज्ञात नम्बरबाट कल आउँदा गोपनीयताको लागि यो फिचर उपयोगी हुनसक्छ ।
तेस्रो सुविधा अन्तर्गत भिडिओ कलका लागि इमोजी रियाक्सनहरू थपिएका छन् । यो सुविधाले भिडिओ कलमा सहभागीहरूलाई वास्तविक समयमा इमोजीहरूसँग रियाक्सन दिन अनुमति दिन्छ ।

यी सुविधाहरू अहिले एन्ड्रोइडका केही बेटा टेस्टहरूका लागि उपलब्ध छन् । केही हप्ताभित्र सबैका लागि उपलब्ध हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: चैत २५, २०८१ ८:३४
सामाग्री श्रोत :
टेक पाना