काठमाडौँ –गत मार्च २८ मा म्यानमारमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो अध्यावधिक अनुसार ५ हजार १२ जना घाइते छन् भने २१० जना अझै हराइरहेका छन् । यस भूकम्पले राजधानी सहित छ वटा क्षेत्र र राज्यहरूमा गम्भीर क्षति पुर्याएको छ ।

म्यानमारको सरकारी संचार माध्यम एमआरटिभीका अनुसार देशभर एक साता भारी वर्षा, चट्याङ, हावाहुरी, असिना पानी र पहिरोको सम्भावना रहेको छ । जनतालाई सतर्क रहन आह्वान गरिएको छ । तापक्रम हप्ताको मध्यतिर ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ ।
भूकम्पपछि विद्युत्, दूरभाष (फोन), घुम्तीयन्त्र संजाल (मोबाइल नेटवर्क) ठप्प हुँदा उद्धारकार्यमा ठूलो समस्या परेको छ । सडक र पुलहरू भत्किँदा आपूर्ति र राहत पु¥याउन गाह्रो भइरहेको छ ।
म्यानमार रेस्क्यु फेडेरेसन (मण्डाले) का एक अधिकारीका अनुसार भारी वर्षाका कारण शनिबार र आइतबार उद्धारमा प्रयोग गरिने विद्युतीय उपकरणहरू रोक्नु परेको थियो, जसले खोज तथा उद्धार कार्य अझ कठिन बनाएको छ ।

मण्लेडामा केही भवनहरू वर्षा र हुरीका कारण थप भत्किएपछि आश्रय लिनेहरूलाई झनै समस्या परेको छ । इरावाडी समाचार संस्थाका अनुसार मण्लेडाको ग्रेट वाल होटल(अतिथिगृह)को भग्नावशेषमा ८० शव फेला परेका छन् ।
सैन्य सरकारका अनुसार ५ हजार २ सय २३ भवन, १ हजार ८ सय २४ विद्यालय, २ हजार ७ सय ५२ गुम्बा, १ सय ६७ अस्पताल, १ सय ९८ बाँध र १ सय ८४ सडक खण्डमा क्षति पुगेको छ । सन् २०२१ मा सेनाले सत्ताको नियन्त्रण लिएपछि देशमा नागरिक द्वन्द्व चलिरहेको छ, जसले राहत कार्यलाई झनै जटिल बनाएको छ । भूकम्पबाट प्राभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग गर्नको लागि विभिन्न देशहरुले आफ्नो सहयोग तथा उद्धार टोली म्यानमार पठाएका छन् । जस अन्तर्गत नेपालबाट पनि नेपाली सेनाको उद्धार टोली र मेडिकल सामाग्रीहरु पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ