
काठमाडौँ । नेपाली सडकको दुरावस्थालाई मध्यनजर गर्दा कतिपयको ध्यान एसयूभी गाडीतर्फ गइरहेको हुन्छ । यस्तोमा नयाँ इलेक्ट्रिक एसयूभी किन्ने सोच बन्यो भने कुन लिने होला ?
यो सेग्मेन्टमा अहिले बजारमा विभिन्न ब्रान्ड तथा मोडेलका एसयूभी ईभीहरू उपलब्ध छन् । त्यस मध्ये पनि दिपाल एस०७, आयोन भी, बीवाईडी एटो ३, ओमोडा र जेको प्रमुख विकल्पहरू हुन् । प्रत्येक गाडीका आफ्नै विशेषता र सबल पक्षहरू छन् ।
दिपाल एस०७

दिपाल एस०७ लाई हेर्ने हो भने यसको लम्बाई ४,७५० एमएम, चौडाई १,९३० एमएम, र उचाई १,६२५ एमएम रहेको छ । यसको ह्विलबेस २,९०० एमएम छ । जसले गर्दा भित्री भाग फराकिलो पाउन सम्भव बनाएको छ ।
यसमा चालक वा यात्रुतिर ढल्काउन मिल्ने १५.६ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र मनोरम सनरुफ पनि छ । ९९ किलोवाटको मोटर रहेको यो ईभीमा ६६.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने उल्लेख छ ।
डीसी फास्ट चार्जिङले यो ब्याट्रीलाई ३०% बाट ८०% सम्म लगभग ३५ मिनेटमा चार्ज गर्न सक्छ । सुरक्षाका लागि ६ ओटा एयरब्याग, तातो र चिसो दुवै हावा दिनसक्ने सिटहरू, र १७५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । तर, यसमा मसाज सिट भने छैन । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ ।
आयोन भी
आयोन भीलाई नियाल्ने हो भने यसको लम्बाई ४,६०५ एमएम, चौडाई १,८५४ एमएम, र उचाई १,६६० एमएम छ । आधुनिक डिजाइनको यो ईभीमा १९ इन्चको मल्टि-स्पोक एलोय ह्विल र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा तातो र हावादार लेदरेट सिटहरू छन् । अझ लक्जरी भेरियन्टमा जाने हो भने स्मार्ट रेफ्रिजरेटर र फुड वार्मर पनि उपलब्ध छ । यसमा सिसाको छत राखिएको छ । गाडीमा सुरक्षाका लागि ७ ओटा एयरब्याग रहेका छन् । यसको मूल्य भने ६४ लाख ९९ हजारदेखि ६९ लाख ९९ हजार रुपैयाँ छ । जसमा ६५० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ ।
बीवाईडी एट्टो थ्री
बीवाईडी एट्टो ३ मा तपाईँले ४,४५५ एमएम लम्बाइ, १,८७५ एमएम चौडाइ र १,६१५ एमएम उचाइ पाउन सक्नु हुन्छ । २,७२० एमएम ह्विलबेस रहेको यो गाडीमा १२.८ इन्चको घुम्ने टचस्क्रिन, वायरलेस चार्जिङ र प्रिमियम अडियो सिस्टम दिइएको छ । ६७ लाख ८० हजार रुपैयाँ पर्ने यो गाडीमा १०० किलोवाटको मोटर र ६०.४८ किलोवाट आवरको ब्याट्री राखिएको छ । जसले ४२० किलोमिटरसम्मको रेन्ज दिनसक्ने दाबी कम्पनीले गरेको छ ।
यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ । सुरक्षाका लागि ७ ओटा एयरब्याग छन् । तर, यसमा तातो र हावादार सिट, मसाज फङ्क्सन, इन-बिल्ट रेफ्रिजरेटर, र कुल्ड ग्लोभ बक्स जस्ता फिचरहरू भने पाउन सक्नु हुन्न ।
ओमोडा
ओमोडामा ९९ किलोवाटको मोटर राखिएको छ । यसको लम्बाइ ४४०० एमएम, चौडाइ १८३० एमएम र उचाइ १५८८ एमएम रहेको छ । ६१ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीले ४३० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्ने हो भने यसमा १८० एमएम पाउन सकिन्छ । ६२ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको यो ईभीको भित्री भाग उच्च गुणस्तरको छालाबाट बनेको र सफ्ट-टच पाउनु हुनेछ ।
जेको जे ६
जेको ६ मा अफ-रोड ट्रेन्डी डिजाइन पाउन सक्नु हुन्छ । यसमा १३५ किलोवाटको मोटर र ६५.६९ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले ४२६ किलोमिटरसम्मको रेन्ज दिनसक्ने उल्लेख छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो ईभीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग दिइएका छन् भने अगाडिका सिटमा भेन्टिलेसनको सुविधा रहेको छ । लम्बाइ ४४०६ एमएम, चौडाइ १९१० एमएम, र उचाइ १७१५ एमएम रहेको जेको ६को सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ २०:२८
सामाग्री श्रोत :
टेक पाना