
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताएका छन्।
एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले आज यहाँ चैते दसैँको शुभकामना तथा पार्टीको जरा अभियानअन्तर्गत ‘संगठन निर्माण तथा विस्तार’ विषयक प्रशिक्षण कार्यक्रममा उनले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए। महासचिव पोखरेलले पछिल्लो समय नागरिकको जीवनस्तर र क्रय क्षमतामा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै भने, ‘पहिले हुने खानेले मात्र राम्रो कपडा लगाउँथे, मिठोमसिनो खान्थे। पछिल्लो समय गरिब भनिएकाले पनि राम्रो कपडा र चामलको भात खाने स्थिति बनेको छ। धनी र गरिबबीच जुन खालको असमानता थियो, त्यो घटेको छ।’
उनले राजनीतिक चुनौतीलाई सामना गर्न सरकार र दलहरू योजनासहित अगाडि बढेको बताए। महासचिव पोखरेलले पुँजीवादी समाजवादको धार र वैज्ञानिक समाजवाद (जनताको बहुदलीय जनवाद)को धारबीचको प्रतिस्पर्धा नै नेपालको राजनीतिकको अबको बाटो बन्नुपर्ने बताए। उनले जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न सक्ने हो मात्र मुलुकमा स्थायित्व हुने बताए।
‘अमेरिकालगायत देशले वैचारिक धुव्रीकरणबाट नै स्थायित्व प्राप्त गरेको हुन्। नेपालमा पनि वैचारिक धुव्रीकरणबाट नै स्थायित्व खोज्नुपर्ने आवश्यकता छ। लोकतान्त्रिक समाजवाद पक्षधरहरूले जनताको बहुदलीय जनवादको मान्यताका आधारमा नीतिगत नेतृत्वमा धुव्रीकरणको यात्रा आरम्भ गरेमात्र एमाले बलियो राष्ट्रिय शक्ति बन्नेछ’, महासचिव पोखरेलले भने।
यसैगरी उनले कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मक परिमाण दिने भन्दै यही चैत १५ गतेको तीनकुनेमा भएको घटनाले गणतन्त्रलाई स्थापित गर्न अनुकूल आधार तयार गरेको जिकिर गरे।
कमिटीका अध्यक्ष श्रीप्रसाद पाण्डेले जरा केन्द्रित अभियानले एमालेलाई मिसन २०८४ मा निर्णायक शक्ति बनाउने बताए।
सामाग्री श्रोत :
राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगतः महासचिव पोखरेल
काठमाडौँ । देशकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेटमा समस्या देखिएको छ । आइतबार दिउँसोदेखि कम्पनीको इन्टरनेट स्लो हुने समस्या देखिएको हो ।
कम्पनीले एक सूचना जारी गर्दै अपस्ट्रिम प्रदायकको नेटवर्कका कारण इन्टरनेट सेवामा समस्या आएको जानकारी दिएको छ । “हाम्रो टिम सकेसम्म छिटो यो समस्या समाधानका लागि काम गरिरहेको छ,” कम्पनीले भनेको छ ।
भारत स्थित अपस्ट्रिम प्रदायकहरूका कारण बेला बेलामा नेपालमा इन्टरनेट सेवा प्रदायकले समस्या झेल्दै आएका छन् । विश्वको इन्टरनेट सञ्जालसँग जोडिन नेपालका सेवा प्रदायकले भारतीय अपस्ट्रिम प्रदायकको नेटवर्क प्रयोग गर्दै आइरहेका छन् ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १७:२९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा क्षेत्रमा नविनतम् प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी सुरु भएको छ । एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा)ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा १४ देशका विज्ञ सहभागी छन् ।
नेपालले आयोजना गरेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेसनल कन्फरेन्स’ आइतबारबाट सुरु भएको हो । दुईदिनसम्म चल्ने सम्मेलनमा नेपालसहित चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनामका विज्ञ सहभागी छन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा आगलागीबाट वनजंगल तथा विभिन्न संरचनाको धेरै क्षति भएको र आधुनिक प्रविधिका माध्यमबाट समस्यालाई रोक्ने प्रयास भएको बताए । ‘नेपाल सरकारले आगलागीबाट हुने जोखिमलाई महत्व दिएर काम गरेको छ तर पनि सरकारसँग दमकलभन्दा अरु विकल्प छैन,’ उनले भने, ‘नेपालको सन्दर्भमा आगलागी न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने कुरा यस सम्मेलनबाट पनि धेरै नै सहयोग हुनेछ भन्ने आशा गरेका छौं । नेपाल सरकारको तर्फबाट, स्थानीय सरकार, प्रदेश सरकारबाट जोखिम न्यूनीकरणका लागि धेरै पहल भइरहेका छन् ।’
प्रत्येक वर्ष नेपालमा दोहोरिइरहने आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको र यस्ता सम्मेलन आवश्यक र प्रभावकारी हुने आप्साका अध्यक्ष सुनिलकुमार श्रेष्ठले बताए । कार्यक्रमका निर्देशक सुरेश श्रेष्ठका अनुसार सम्मेलनले नेपालको सुरक्षा नीतिमा सुधार ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाली सेना, ७५३ वटा स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका उद्यमी तथा व्यवसायी र सुरक्षा तथा आगलागी न्यूनीकरणका विज्ञ उपस्थित रहेका छन् ।
सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायी र सुरक्षा तथा आगलागी न्यूनीकरणका विषयमा विज्ञको उपस्थिति रहने आयोजकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
झापा। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन्।
समाजवादी प्रेस संगठन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राखे।
‘एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘घटनामा तीनैवटा पक्ष दोषी छन्। त्यसको छानबिन हुनुपर्छ।’ उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उनको विश्लेषण थियो।
सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिष्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिए। ‘वामपन्थी एकताको विकल्प छैन। टाउको जोड्ने र अंकमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन। अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ’, उनले भने।
सामाग्री श्रोत :
तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । शनिबार थाइल्यान्डको भ्रमण पुरा गरी नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुँगुर चढाइएको चिपफेक (डिपफेकको अपरिष्कृत भिडिओ) सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणका क्रममा खिचिएको एउटा तस्बिरलाई लिएर ‘रमाइलो संसार’ नामक फेसबुक पेजले त्यस्तो भिडिओ बनाएर भाइरल गराएको हो ।
उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “केपि ओली सुँगुर चडेर थाइल्यान्ड बाट नेपालमा आएको छ हेर्नुस् भिडियो ।” भिडिओभित्र पनि टेक्स्ट क्याप्सन राखिएको छ, जसमा लेखिएको छ, “सुँगुर चढेर आएको केपीलाई नेपाल एयरपोर्टमा स्वागत ।”
भिडिओमा परिवर्तन गरिएको आवाज पनि राखिएको छ, जुन सार्वजनिक स्थलमा सुन्न नसकिने किसिमको छ । उक्त भिडिओ हेर्न यहाँ रहेको अर्काइभ लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ । याद गर्नुहोस् सो भिडिओमा प्रयोग गरिएको आवाज सार्वजनिक स्थलमा सुन्न सकिने किसिमको छैन ।
भिडिओमा प्रधानमन्त्री ओलीले हात हल्लाएर अभिवादन गरिरहेको देखिन्छ । त्यसपछि रातो कार्पेटमा सुँगुर आइरहेको देखिन्छ र प्रधानमन्त्री ओलीलाई त्यही सुँगुरमाथि चढेको देखाइएको छ ।
यो समाचार तयार पार्दासम्म उक्त भिडिओमा ६७ हजारभन्दा बढी रियाक्सन, २२०० भन्दा बढी कमेन्ट र ६ हजारभन्दा बढी शेयर छन् । भिडिओलाई ३५ लाखभन्दा बढी पटक हेरिएको छ । उक्त पेजमा फलोअर भने ११ हजार मात्रै छन् । अर्थात् फलोअरको सङ्ख्याभन्दा झन्डै ६ गुणा बढी लाइक नै छन् ।
यही भिडिओ र क्याप्सन अन्य फेसबुक पेजहरूले पनि डाउनलोड गरेर शेयर गरिरहेका छन् । उक्त पेजले नै कमेन्टमा आफूले यो भिडिओ तयार पारेको दाबी गरेको छ । कमेन्टमा उक्त पेजले लेखेको छ, “नोट# म नेपाल मा छैन र मैले जे बनाएको छु, त्यो अहिले को यथार्थ र जनआक्रोश हो । यो तबसम्म जारी रहन्छ, जब सम्म यस्ता भ्रष्ट दलाल देशद्रोहीले जन विरोधी काम गरी रहन्छ्न् । मेरो शब्द सायद गलत होला तर भिडिओ यथार्थ हो । जय नेपाल,,,,,,। …. हाल नयाँ दिल्ली भारत) ।”
कमेन्टमा भारतबाट पेज सञ्चालन गरेको भनिए पनि पेजको ट्रान्सपरेन्सी हेर्दा यो पेज पोर्चुगलबाट सञ्चालन भएको देखिन्छ । इन्टरनेटमा यस्ता भिडिओ बनाउन प्रयोग हुने सयौँ एआई टुल छन् । खासगरी स्थिर फोटोलाई चाल भएको बनाउन यस्ता टुलहरू प्रयोग भइरहेका हुन्छन् । पछिल्लो समय नेपाली टिकटक प्रयोगकर्ताले यस्ता टुलहरू प्रयोग गरेर थुप्रै भिडिओ बनाएका छन् ।
खासगरी विभिन्न मठमन्दिरका देउता हिँडेको, नाचेको बनाउन यी टुल प्रयोग भइरहेका छन् । धार्मिक आस्थामाथि खलल पुर्याउने सामग्री आएको भन्दै यसअघि पुरातत्व विभागले चिन्ता समेत व्यक्त गरेको थियो ।
अहिले भाइरल भइरहेको प्रधानमन्त्री ओलीको उक्त भिडिओलाई लिएर केहीले समर्थन र केहीले आलोचना गरेका छन् । खासगरी व्यक्ति जो भए पनि वा जसको भिडिओ बनाएको भए पनि त्यसमा प्रयोग भएका भाषा सार्वजनिक प्लेटफर्ममा राखिनु गलत भएको नेपाली फेसबुक प्रयोगकर्ताको टिप्पणी छ ।
फेसबुकमा कमेन्ट गर्दै कुमार कटुवालले लेखेका छन्, “समाजमा विकृति, द्वेष र घृणा फैलाउनु दण्डनीय कार्य हो । विरोध गर्दा सभ्य भएर गरौँ । देशको प्रधानमन्त्री पद भनेको सबैको साझा पद हो । व्यक्ति मन नपरेमा आगामी चुनावमा जनता मिलेर हराई दिएमा राम्रो होला । सामाजिक सञ्जालमा यस्तो अश्लील भिडिओ पोस्ट गर्दा केपी ओलीको मात्र नभएर देशकै बेइज्जत हुन्छ भन्ने कुराको हेक्का राख्नु हुन अनुरोध छ ।”
नेपाल र थाइल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो औपचारिक भ्रमणका लागि गत मङ्गलबार थाइल्यान्ड पुगेका थिए । थाइल्यान्डमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर उनी शनिबार नेपाल फर्किएका थिए । लगत्तै प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । सोही क्रममा खिचिएको फोटोलाई चिपफेक बनाइएको हो ।
चिपफेक भनेको एआई प्रयोग गरेर बनाइएको त्यस्तो सामग्री हो, जसमा कुनै व्यक्तिले बोलेको वा गरेको कुरालाई वास्तविक भिडियोमा परिवर्तन गरिन्छ । यो प्रविधि प्रयोग गर्न सजिलो हुनुका साथै यसमा सामान्य भिडिओ एडिटिङ टुल प्रयोग गरिएको हुन्छ ।
यसमा भिडिओको गति बढाउने, घटाउने वा केही अंश परिवर्तन गर्ने जस्ता काम गरिन्छन् । चिपफेक सजिलै पत्ता लगाउन सकिन्छ । चिपफेकको परिस्कृत स्वरूप नै डिपफेक (Deepfake) हो । यो प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिप लर्निङ प्रयोग गरेर बनाइन्छ । यसमा अनुहार परिवर्तन गर्ने, बोलेको कुरा फेर्ने वा पूरै नयाँ भिडिओ बनाउने जस्ता जटिल कामहरू गरिन्छन् ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १८:१३
सामाग्री श्रोत :
टेक पाना
कर्णाली। भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन छन्।
हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएका जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ। खोजीका लागि परिवारका सदस्यसहित आफूहरु भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिए।
उनका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैँया एक लाख १७ हजार लुटिएको थियो। सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होसमा आएपछि नेपाल फर्केको बुढाले बताए।
तीन जना भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । उनीहरू घर फर्कने क्रममा लुटिएका हुन्। बुढा सम्पर्कमा नआएपछि परिवारजनले खोजी गरिदिन सरोकार भएकाहरूलाई आग्रह गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाली सडकको दुरावस्थालाई मध्यनजर गर्दा कतिपयको ध्यान एसयूभी गाडीतर्फ गइरहेको हुन्छ । यस्तोमा नयाँ इलेक्ट्रिक एसयूभी किन्ने सोच बन्यो भने कुन लिने होला ?
यो सेग्मेन्टमा अहिले बजारमा विभिन्न ब्रान्ड तथा मोडेलका एसयूभी ईभीहरू उपलब्ध छन् । त्यस मध्ये पनि दिपाल एस०७, आयोन भी, बीवाईडी एटो ३, ओमोडा र जेको प्रमुख विकल्पहरू हुन् । प्रत्येक गाडीका आफ्नै विशेषता र सबल पक्षहरू छन् ।
दिपाल एस०७
दिपाल एस०७ लाई हेर्ने हो भने यसको लम्बाई ४,७५० एमएम, चौडाई १,९३० एमएम, र उचाई १,६२५ एमएम रहेको छ । यसको ह्विलबेस २,९०० एमएम छ । जसले गर्दा भित्री भाग फराकिलो पाउन सम्भव बनाएको छ ।
यसमा चालक वा यात्रुतिर ढल्काउन मिल्ने १५.६ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र मनोरम सनरुफ पनि छ । ९९ किलोवाटको मोटर रहेको यो ईभीमा ६६.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने उल्लेख छ ।
डीसी फास्ट चार्जिङले यो ब्याट्रीलाई ३०% बाट ८०% सम्म लगभग ३५ मिनेटमा चार्ज गर्न सक्छ । सुरक्षाका लागि ६ ओटा एयरब्याग, तातो र चिसो दुवै हावा दिनसक्ने सिटहरू, र १७५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । तर, यसमा मसाज सिट भने छैन । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ छ ।
आयोन भी
आयोन भीलाई नियाल्ने हो भने यसको लम्बाई ४,६०५ एमएम, चौडाई १,८५४ एमएम, र उचाई १,६६० एमएम छ । आधुनिक डिजाइनको यो ईभीमा १९ इन्चको मल्टि-स्पोक एलोय ह्विल र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा तातो र हावादार लेदरेट सिटहरू छन् । अझ लक्जरी भेरियन्टमा जाने हो भने स्मार्ट रेफ्रिजरेटर र फुड वार्मर पनि उपलब्ध छ । यसमा सिसाको छत राखिएको छ । गाडीमा सुरक्षाका लागि ७ ओटा एयरब्याग रहेका छन् । यसको मूल्य भने ६४ लाख ९९ हजारदेखि ६९ लाख ९९ हजार रुपैयाँ छ । जसमा ६५० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ ।
बीवाईडी एट्टो थ्री
बीवाईडी एट्टो ३ मा तपाईँले ४,४५५ एमएम लम्बाइ, १,८७५ एमएम चौडाइ र १,६१५ एमएम उचाइ पाउन सक्नु हुन्छ । २,७२० एमएम ह्विलबेस रहेको यो गाडीमा १२.८ इन्चको घुम्ने टचस्क्रिन, वायरलेस चार्जिङ र प्रिमियम अडियो सिस्टम दिइएको छ । ६७ लाख ८० हजार रुपैयाँ पर्ने यो गाडीमा १०० किलोवाटको मोटर र ६०.४८ किलोवाट आवरको ब्याट्री राखिएको छ । जसले ४२० किलोमिटरसम्मको रेन्ज दिनसक्ने दाबी कम्पनीले गरेको छ ।
यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ । सुरक्षाका लागि ७ ओटा एयरब्याग छन् । तर, यसमा तातो र हावादार सिट, मसाज फङ्क्सन, इन-बिल्ट रेफ्रिजरेटर, र कुल्ड ग्लोभ बक्स जस्ता फिचरहरू भने पाउन सक्नु हुन्न ।
ओमोडा
ओमोडामा ९९ किलोवाटको मोटर राखिएको छ । यसको लम्बाइ ४४०० एमएम, चौडाइ १८३० एमएम र उचाइ १५८८ एमएम रहेको छ । ६१ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीले ४३० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्ने हो भने यसमा १८० एमएम पाउन सकिन्छ । ६२ लाख ४९ हजार रुपैयाँ मूल्य रहेको यो ईभीको भित्री भाग उच्च गुणस्तरको छालाबाट बनेको र सफ्ट-टच पाउनु हुनेछ ।
जेको जे ६
जेको ६ मा अफ-रोड ट्रेन्डी डिजाइन पाउन सक्नु हुन्छ । यसमा १३५ किलोवाटको मोटर र ६५.६९ किलोवाट आवरको ब्याट्री रहेको छ । जसले ४२६ किलोमिटरसम्मको रेन्ज दिनसक्ने उल्लेख छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो ईभीमा सुरक्षाका लागि ६ ओटा एयरब्याग दिइएका छन् भने अगाडिका सिटमा भेन्टिलेसनको सुविधा रहेको छ । लम्बाइ ४४०६ एमएम, चौडाइ १९१० एमएम, र उचाइ १७१५ एमएम रहेको जेको ६को सुरुवाती मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ २०:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ ।
बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकारसहितको अध्यक्ष हुने टुंगो लागेको हो ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो । पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् ।
यस्तै पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।
जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका ६ जना बीचमा छलफल भएको छ ।
१५ वैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन्। माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएकोलगायत विभिन्न मागसहित दबाब दिएका छन्।न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ।‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्।गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ।
वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन्।
नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य र वातावरणविद् भुषण तुलाधरले विज्ञप्तिमार्फत उपत्यकामा धुवाँ फाल्दै कुद्ने सवारीलाई तत्काल रोक लगाउनुपर्ने, धुलो लिएर उपत्यकामा भित्रने सवारीसाधनलाई रोक लगाउनुपर्ने आह्वान गरेका हुन्।
उनीहरूले वायु प्रदूषण स्तरमा सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालयहरू बन्द गर्नुपर्ने, फोहोरमैला तथा कृषिजन्य अवशेषहरू जलाउने कार्यमा तत्काल रोक लगाउनुपर्ने, स्वास्थ्य जोखिमबाट जोगिनका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्नेलगायत सुझाव दिएका छन्।
प्रदूषणमापन केन्द्रहरूले देखाएको आँकडाअनुसार काठमाडौंको हावा सास फेर्नका लागि अस्वस्थ छ। हाल काठमाडौंको हावामा कार्बन मोनोक्साइड, ब्ल्याक कार्बन, ओजोन तथा मसिना हानिकारक कणहरू (पिएम दुई दशमलव पाँच)को मात्रा धेरै रहेको छ।
सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ। आजको तथ्यांकअनुसार काठमाडौँको हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स, एक्युआई) १७९ देखिएको छ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार विगत ९० दिनमा ७५ दिन काठमाडौंको वायु गुणस्तर हानिकारक देखिएको छ। कचौरा आकारको काठमाडौं उपत्यका विश्वमै वायु प्रदूषणको जोखिममा रहेका प्रमुख सहरहरूमध्ये पर्दछ।
यसैगरी वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले विगत केही दिनदेखि मुलुकका विभिन्न क्षेत्रहरूमा लागेको डढेलोलगायत कारणले वायु प्रदूषण बढेको जनाएको छ। यसबाहेक उद्योग कलकारखाना र सवारीसाधनबाट निष्कासन हुने धुवाँ, खुल्ला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो पनि वायु प्रदूषणका कारक रहेका छन्।
विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम रहेको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना छ। वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनु हुन विभागले अनुरोध गरेको छ।
विभागले वन डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएकाले यस्तो कार्य नगर्न, घरायसी ठोस फोहोर, प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको छ।
सामाग्री श्रोत :