काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न आठ विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार प्रदान गर्ने भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले इच्छुक व्यक्ति, संस्था, कार्यालय तथा कम्पनीबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।

नेपाल सरकारले हरेक वर्षको मे महिनाको २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आइरहेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्धनका लागि मनाइने यही दिवसको अवसरमा पुरस्कार तथा अवार्ड वितरण गर्न लागिएको हो ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा सङ्घ संस्था मध्येबाट सर्वोत्कृष्टलाई सो पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । यस पटक मन्त्रालयले एक जना पुरुषलाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२५ र एक जना महिलालाई नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२५ प्रदान गर्नेछ ।
त्यस्तै सार्वजनिक क्षेत्र, निजी क्षेत्र, प्रादेशिक तथा स्थानीय सार्वजनिक क्षेत्र र प्रादेशिक तथा स्थानीय निजी क्षेत्रका लागि एक एक नेसनल आईसीटी अवार्ड २०२५ दिइनेछ । यस बाहेक नेसनल आईसीटी इनोभेसन अवार्ड २०२५ र नेसनल आईसीटी स्टार्टअप अवार्ड २०२५ को समेत व्यवस्था गरिएको छ ।

कसरी दिने आवेदन ?
आवेदकले सबैभन्दा पहिला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा सूचना प्रविधि विभागको वेबसाइटबाट आवेदन फाराम डाउनलोड गर्न वा त्यसको ढाँचा हेर्नु पर्नेछ । त्यसपछि तोकिएको ढाँचामा माग गरिएका विवरण सहितको आवेदन [email protected] मा ईमेल पठाउनु पर्नेछ ।
यस अलावा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि शाखामा पुगेर पनि आफ्नो आवेदन दर्ता गराउन सकिनेछ । आवेदन दिने अन्तिम मिति ७ वैशाख २०८२ को दिन बेलुका ५ बजेका लागि तोकिएको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १४:१७
सामाग्री श्रोत :
टेक पाना