काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले लामा ४ अन्तर्गत दुई नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । जसले अब वेब र ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा मेटा एआई असिस्टेन्टको रूपमा काम गर्नेछ ।

मेटा वा हगिङ फेसबाट डाउनलोड गर्न सकिने गरी उपलब्ध दुई नयाँ मोडेलहरू लामा ४ स्काउट र लामा ४ माभेरिक रहेका छन् । लामा ४ स्काउट एउटा सानो मोडेल हो, जुन एनभिदिया एच१०० जीपीयूमा अटाउन सक्छ । लामा ४ माभेरिक भने जीपीटी-४ओ र जेमिनाई २.० फ्ल्याशसँग मिल्दोजुल्दो छ ।
मेटाका सीईओ मार्क जुकरबर्गका अनुसार, मेटाले लामा ४ बेहेमोथलाई ट्रेन गर्ने प्रक्रिया चलिरहेको बताउँदै त्यसलाई “विश्वको सबैभन्दा हाई प्रदर्शन गर्ने बेस मोडेल” भएको दाबी गरेका छन् ।
मेटाका अनुसार, लामा ४ स्काउटसँग एक करोड टोकनको कन्टेक्स्ट विन्डो छ । एआई मोडेलले काम गर्ने मेमोरीलाई नै कन्टेक्स्ट विन्डो भन्ने गरिन्छ । जसले गुगलको जेम्मा ३ र जेमिनाई २.० फ्ल्याश-लाइट मोडेलका साथै ओपन-सोर्स मिस्ट्रल ३.१ लाई पछि पार्न सक्छ । जबकि यो अझै एउटा एनभिदिया एच१०० जीपीयूमा अटाउन सक्छ ।

मेटाले आफ्नो ठूलो एआई मोडेल माभेरिकको प्रदर्शनलाई लिएर समेत सोही किसिमको दाबी प्रस्तुत गरेको छ । जसअनुसार यसले ओपनएआईको जीपीटी-४ओ र गुगलको जेमिनाई २.० फ्ल्यासलाई पछि पार्न सक्छ । कोडिङ र रिजनिङ टास्कहरूमा डिपसिक-भी३ सँग यसका नतिजाहरू तुलना गर्न सकिने स्तरमा रहेको दाबी कम्पनीले गरेको छ ।
यसैबीच, लामा ४ बेहेमोथमा २८८ अर्ब सक्रिय प्यारामिटरसहित कूल २ हजार अर्ब (२ ट्रिलियन) प्यारामिटर रहेका छन् । अझै सार्वजनिक हुन बाँकी रहेको यो एआई मोडेलले आफ्ना प्रतिस्पर्धीहरू (यस सन्दर्भमा जीपीटी-४.५ र क्लाउड सोनेट ३.७) लाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) का विभिन्न बेन्चमार्कहरूमा पराजित गर्न सक्ने मेटाले बताएको छ ।
लामा ४ को लागि मेटाले “मिक्सचर अफ एक्सपर्ट्स” (MoE) आर्किटेक्चर अपनाएको छ, जुन दिइएका कार्यको लागि आवश्यक मोडेलका भागहरूलाई मात्र प्रयोग गरेर रिसोर्स (स्रोत) संरक्षण गर्ने अवधारणा हो । कम्पनीले १९ अप्रिलमा हुने आफ्नो लामाकन सम्मेलनमा एआई मोडेलहरू र उत्पादनहरूका लागि भविष्यका योजनाहरूबारे छलफल गर्ने योजना बनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १२:५६
सामाग्री श्रोत :
टेक पाना