२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

के हो नेपाल पे कार्ड ? जान्नुहोस् यसका फाइदा र विशेषता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोमबारदेखि नेपाल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे कार्ड’ सञ्चालनमा ल्याएको छ । यो नेपालको आफ्नै भुक्तानी कार्ड प्रणाली हो, जसले बैंक तथा ग्राहक दुवैका लागि खर्च कम गर्ने र कारोबारलाई द्रुत तथा सुरक्षित बनाउने उद्देश्य राखेको छ ।

नेपाल राष्ट्र बैंकको आफ्नै भुक्तानी प्रणाली विकास गर्ने रणनीति अनुसार एनसीएचएलले नेपाल पे कार्डको सुरुवात गरेको हो । विभिन्न चरणका छलफल र स्वीकृतिपछि राष्ट्र बैंकले एनसीएचएललाई यसको कार्यान्वयनको जिम्मेवारी दिएको थियो । आवश्यक पूर्वाधार तयारी पूरा भइसकेपछि बैंक तथा वित्तीय संस्थाहरूको स्विच इन्टिग्रेसनको कार्य अघि बढ्ने बताइएको छ । 

के हो डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)

एटीएममा पैसा झिक्न जाँदा सम्पूर्ण विवरण प्रविष्ट गरिसकेपछि पैसा निस्किन केही समय लाग्छ । त्यो समय के को लागेको होला ? हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कार्ड उपलब्ध गराइरहेका छन् । यसले गर्दा तपाईं एटीएममा गएर पैसा झिक्दा केही समय लाग्छ अन्तर्राष्ट्रिय डेटा राउटिङका कारण ।

अर्थात् तपाईंले पैसा प्राप्त गर्नुभन्दा अगाडिको जुन ५-६ सेकेन्ड समय छ, त्यो समयमा तपाईंले प्रविष्ट गरेको डेटा तपाईंको बैंक हुँदै तपाईंले बोकेको कार्डको डेटा सर्भर भएको देशसम्म पुगेर फर्कन्छ । जसले गर्दा पैसा निस्किन समय लाग्छ । यो प्रक्रिया अन्तर्राष्ट्रिय कार्ड स्किमभित्र पर्दछ ।

अब यही प्रक्रियालाई डोमेस्टिक कार्ड स्किमको रूपमा बुझ्दा, हामीले एटीएममा गएर आफ्नो विवरण प्रविष्ट गरिसकेपछि जुन डेटा विदेश घुमेर आउँथ्यो, अब त्यो नेपालभित्रै एनसीएचएलको सर्भरमा घुम्नेछ ।

अर्थात्, नेपालको डेटा नेपालमै रहनेछ । अर्को कुरा, यो स्किम अन्तर्गत तपाईंले कुनै एउटा बैंकको एटीएम अन्य बैंकको एटीएमहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । जसरी अहिले आफ्नो बैंकको कार्ड अन्य बैंकको एटीएममा पनि प्रयोग गरिरहनु भएको छ । सोही अनुरूप यो कार्ड पनि सम्पूर्ण नेपाली बैंकहरूको नेटवर्कमा काम गर्नेछ । त्यसैले पनि यसलाई डोमेस्टिक कार्ड स्किम भनिन्छ ।

यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको, यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनु हो । यही अवधारणा अनुरूप नेपाल पे कार्ड तयार गरिएको हो । राउटिङ, क्लियरिङ र सेटलमेन्ट नेपालभित्र नै हुनेछ । यसलाई विश्वस्तरमा हेर्ने हो भने हाल छिमेकी देश भारतसँगै विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय कारोबारको सुविधासहित डोमेस्टिक कार्ड स्किम सञ्चालन गरिरहेका छन् ।

नेपाल पे कार्डले केके काम गर्छ ? 

अहिले हामीले जसरी हाम्रो बैंकहरूबाट डेबिट वा क्रेडिट कार्ड पाउँछौं, त्यसैगरी नेपाल पे कार्ड पनि डेबिट, क्रेडिट, प्रिपेड र भर्चुअल कार्डका रूपमा उपलब्ध हुनेछ । यसमा अनलाइन भुक्तानीदेखि लिएर अन्तरआबद्ध भएका बैंकको एटीएमबाट पैसा झिक्न पनि मिल्नेछ ।

हाल यो सुरुवाती चरणमा नै भएकाले, देशभित्र मात्र यो कार्ड प्रयोग गर्न सकिनेछ । तर, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउनका लागि काम भइरहेको एनसीएचएलका कार्यकारी अध्यक्ष निलेशमान सिंह प्रधान बताउँछन् । यस्तै, छिट्टै नै नेपाल पे डलर कार्डका लागि पनि काम भइरहेको उनको भनाइ छ । 

कुनकुन बैंकमा उपलब्ध छ ? 

सोमबार नेपाल पे कार्ड सञ्चालन गर्नका लागि एनसीएचएलले नौ ओटा विभिन्न बैंकहरूसँग सम्झौता गरेको छ । एनसीएचएलले सिटिजन्स बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकसँग नेपाल पे कार्डको सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

यीमध्ये हिमालयन बैंकले भने सोमबारदेखि नै एटीएम वितरण सुरु गरेको छ । यसको अर्थ हो, अब विस्तारै हिमालयन बैंकले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड उपलब्ध गराउनेछ । तर, बैंकहरू नेपाल पे कार्डमा स्विच नभइसक्दाको हकमा पनि ग्राहकले हाल प्रयोग गरिरहेको कार्डको डेटालाई नेपाल पेमेन्ट स्विचमार्फत नै सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ १८:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?