
काठमाडौँ । आगामी भदौमा हुने नाडा अटो शोमा प्रदर्शन गरिने ब्रान्डको टुङ्गो लागेको छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा ३ देखि ७ भदौसम्म भृकुटीमण्डपमा हुने शोमा सहभागी हुने ब्रान्डको टुङ्गो लागेको हो । उक्त शोमा ७५ भन्दा बढी ब्रान्ड सहभागी हुने भएका छन् ।
जसमा चार पाङ्ग्रे सवारीका १८ स्टल, दुई पाङ्ग्रे सवारीको चार वटा, लाइट कमर्सियल भेहिकलका १३ स्टल र ४० भन्दा बढी अटो कम्पोनेन्टका स्टलहरू रहने छन् ।
चार पाङग्रे ब्रान्डमा दीपल, अवतार, दोङफेङ नामी, सेरेज, टाटा, सुजुकी, टेस्ला, रिड्डारा लगायतका ब्रान्डका स्टल हुनेछन् । दुई पाङग्रेमा हिरो, रोयल इन्फिल्ड, यमहा र जोनसोन सहभागी हुने आयोजकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १९:२३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनको सपना पूरा गर्ने तर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरेको कबुल विपरीत भइरहेको बताए ।
विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाए । उनले भने, ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौँ त?’
गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।
उनले भने, ’अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ ?’
गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोक मार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गरे ।
उनले भने, ‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौँ भने स्थिति गम्भीर छ ।’
कार्यक्रममा उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए। उनले भने, ‘सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ यो सबै गम्भीर समीक्षा आवश्यक छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि हातपात गरेका छन्। तीनजना चिकित्सक, नर्स र गार्डमाथि ती महिलाका श्रीमानले हातपात गरेको उक्त अस्पतालमा कार्यरत एक चिकित्सक डा विकास गौचनले जानकारी दिए।
उनका अनुसार सिजरियन सेक्सन गरेको एक घन्टापछि ती सुत्केरी महिलाको एक्कासी मुटु बन्द भएको थियो। चिकित्सकले उपचारको प्रयास गरेपनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
आफन्तको हातपातका कारण एक चिकित्सकको दायाँ आँखा नजिकै र हातमा चोट लागेको छ।
अहिले पनि अस्पताल तनावग्रस्त रहेको डा गौचनले बताए। उनले भने, ‘अहिले पनि आफन्तले धर्ना दिइरहेका छन्। अस्पताल तनावग्रस्त हुँदा अन्य बिरामीको उपचारमा समेत समस्या आउँछ। अस्पतालमा शान्ति कायम गर्ने प्रयास जारी छ।’
अस्पतालमा भीड बढेपछि सुरक्षाका लागि प्रहरी पुगेको छ।
Beyond the Nightingale: नर्ससँग अन्तरंग
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । शुक्रबार दिउँसोदेखि अवरुद्ध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा पाँच घण्टापछि पुनः सञ्चालनमा आएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार साँझ एक सूचना जारी गर्दै प्रणालीमा देखिएको समस्या समाधान भई सेवा नियमित भएको जानकारी दिएको हो ।
विभागले शुक्रबार दिउँसो करिब १ बजे प्रणालीमा समस्या देखिएको भन्दै अनिश्चित कालका लागि सेवा बन्द भएको सूचना निकालेको थियो । तर, प्राविधिक टोलीको प्रयासपछि साँझ सवा ५ बजे नै प्रणालीलाई पुनः सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
“आज मिति २०८१ असार २० गते शुक्रबार विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा केही समय समस्या देखिई सेवा बन्द भएकोमा उक्त समस्या समाधान भई सबै सेवाहरू (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) पुनः सुचारु भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
प्रणाली पुनः सञ्चालनमा आएसँगै लाइसेन्सको अनलाइन आवेदन, नवीकरण, राजस्व भुक्तानी तथा अत्यावश्यक लाइसेन्स छपाइ लगायतका काम पुनः सुरु भएका छन् ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १८:५३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।
‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गरेका छन् ।
२०२३–२५ कार्यकालमा उपाध्यक्षको रूपमा रहेका उनले एनआरएन क्यानडाको इतिहासमा पहिलो पटक संघीय सरकारबाट कार्यक्रमहरूका लागि अनुदान भित्राउन सफल भएका थिए । त्यस्तै दुई वर्षको अवधिमा एनआरएन क्यानडाका विभिन्न कार्यक्रमका लागि करिब ७५ हजार डलर अनुदान ल्याएका थिए ।
किरोज कै पालामा दर्जनौं स्थानीय नेपाली संघ–संस्थाहरू जस्तै नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेड लगायतका संस्थाहरूले पनि करिब ७५ हजार डलर सरकारी अनुदान प्राप्त गरेका थिए ।
त्यस्तै श्रेष्ठ सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा हुँदा सडबरी र ब्यारी लगायतका सहरहरूमा विभिन्न नेपाली राष्ट्रिय दिवसको अवसरमा स्थानीय सिटि भवनमा नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नुका साथै सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रा लगायत दर्जनौं शहरहरूमा निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गरेका थिए ।
लन्डन शहरमा पहिलो पटक नेपालि राजदूतावासको घुम्ती कन्सुलर सेवा पुर्याउने काम पनि उनकै पालामा भएको थियो । श्रेष्ठले नेपाली क्रिकेटका लागि पनि आफ्नो कार्यकालमा निकै महत्वपूर्ण योगदान गरेका थिए । क्यानाडा भ्रमणमा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा फुड डोनेट गर्न समन्वय गरेका थिए ।
क्रिकेट क्यानाडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली समुदायका अग्रजहरूको लागि निःशुल्क भिआइपी सिटको व्यवस्था गरेका थिए । क्यानडाव्यापी पहिलो पटक नेपाली मूलका खेलाडीबीच चेस प्रतियोगिता आयोजना गर्दै नेपाली मूलका क्यानडा चेस च्याम्पियनलाई प्रतिष्ठित क्यानेडियन चेस प्रतियोगितामा सहभागी गराउन सफल भएका थिए ।
श्रेष्ठले एनआरएन आईसीसीबाट एनआरएन एनसीसी क्यानडा ९नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टसँग सम्बन्धित० मा ४४ हजार ७ सय डलर ल्याउन सफल भएका थिए ।
श्रेष्ठले इन्जिनियरिङ पेशामा क्यानाडामा आएका नयाँ बिधार्थिहरूलाई सहयोग हुने गरी विभिन्न सेमिनार सञ्चालन गरेका थिए ।
श्रेष्ठले क्यानडामा रहेका नेपालीहरुको बिभिन्न क्रियाकलापमा आफ्नो सहयोग रहने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ-संगठनहरूसँगको छलफलपछि आकस्मिक कार्यकारिणी बैठक बसेर आन्दोलनको कार्यतालिका तय गरेको हो।
संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, हालको अवस्था चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षा सिर्जना गर्ने खालको भएको निष्कर्ष निकालिएको छ। त्यसका विरुद्ध आवाज उठाउन चरणबद्ध कार्यक्रमहरू तय गरिएको छ।
आन्दोलनका कार्यक्रम
१. असार २०, शुक्रबार – नेपाल चिकित्सक संघका शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने।
२. असार २२, आइतबार – सम्पूर्ण चिकित्सकहरूले आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने।
३. असार २३, सोमबार – देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने।
४. सोमबारसम्म – चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने।
५. असार २४, मंगलबार – चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने।
संघले चिकित्सक समुदायको आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो कदमबाट सर्वसाधारणलाई पर्ने असहजताको जिम्मेवारी राज्यकै हुने उल्लेख गरेको छ।
ऐक्यबद्धता जनाउने संस्थाहरूमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ रहेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बिच विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा बढी मुलुकका नागरिक नेपाल आउँदा आफ्नै देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्यूआर मर्चेन्टहरूमा सिधै भुक्तानी गर्न सक्ने सुविधा प्राप्त हुनेछ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
अलीपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाउ, जर्मनीलगायत देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आवद्ध रहेका छन् ।
यस सम्झौतापछि बैंकमा आवद्ध मर्चेन्टहरूले अलीपे प्लस नेटवर्कमा आवद्ध मुलुकहरूका पर्यटकहरूले नेपालपे क्यूआरमार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् ।
बैंक र एनसीएचएलबिच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने विश्वास गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १७:४७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा थप ३० दिनका लागि रोक लगाएको छ।
शुक्रबार प्रशासन कार्यालयले मनसुन सक्रिय रहिरहेको र सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्न असार २० गतेदेखि लागू हुने गरी यो निर्णय गरिएको जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार, बीपी राजमार्गको सिन्धुली–खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई हरेक दिन साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
यसअघि २०८२ असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले १५ दिनका लागि रात्रिकालीन यात्रामा रोक लगाउने निर्णय गरेको थियो।
प्रशासनले जोखिम कायमै रहेको भन्दै सवारी आवागमनमा गरिएको रोकलाई थप ३० दिन निरन्तरता दिइएको जारी सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
प्राय पुराना हिन्दी चलचित्रमा देखिने अदालतको कठघरामा जसरी, डाक्टरले ‘हजुरले मध्यपान गर्नुहुन्छ, हजुरले धुम्रपान गर्नुहुन्छ, हो कि हैन भन्नुस् ?’ भनियो। श्रीमान् र श्रीमती राखेर बनाइएको त्यो भिडियोमा कहिले डाक्टर, कहिले ल्याब रिपोर्ट र कहिले बिरामीलाई ‘ब्लर’ पनि नगरी ‘जुम ईन’ गरिएको हुन्थ्यो। मुटुरोग प्रति अलि बढी रूचि भएकाले मैले मुटुरोग विशेषज्ञले भनेको कुरा एकाग्र भएर हेरिरहेको थिएँ। जब डाक्सापबाट माथि उल्लेखित कुरा सुने र देखें, त्यो भन्दा बढी हेर्न सकिन र लागें यो लेख, लेख्नतिर। सामाजिक सञ्जालले आधुनिक समाजलाई नयाँ आयाम दिएको छ। यसले मानव सम्बन्ध, सञ्चार र पेशागत क्षेत्रहरूमा गहिरो प्रभाव पारेको छ, विशेषगरी चिकित्सा क्षेत्रमा। नेपाल र दक्षिण एसियामा चिकित्सकहरूको बिरामीको गोपनीयता उल्लङ्घन र डिजिटल विज्ञापनको प्रवृत्ति बढ्दो छ। यी गतिविधिहरूले चिकित्सकीय नैतिकतामाथि गम्भीर प्रश्नहरू उठाएका छन्। यो लेखले यी व्यवहारहरूलाई ऐतिहासिक, दार्शनिक र समकालीन नैतिक कोणबाट विस्तृत रूपमा विश्लेषण गर्ने कोसिस गरेको छ, विशेष गरी यस्ता अभ्यासहरूको नैतिक प्रभावहरूलाई जोड दिँदै।
ऐतिहासिक पृष्ठभूमिः हिप्पोक्रेट्सदेखि आधुनिक नैतिकतासम्म
चिकित्सा क्षेत्रको नैतिकताको आधार पाँचौँ शताब्दी ईसापूर्वका हिप्पोक्रेट्ससम्म पुग्छ। उनलाई ‘चिकित्साशास्त्रका पिता’ मानिन्छ, किनभने उनले चिकित्सालाई वैज्ञानिक र तर्कसङ्गत आधारमा स्थापित गरे। हिप्पोक्रेटिक शपथले बिरामीको गोपनीयता र अधिकारलाई पवित्र मानेको छ, जुन त्यस समयका ढोंगी उपचारकर्ताहरू र झारफुक गर्नेहरूको विरोधमा थियो। उनले चिकित्सकहरूलाई बिरामीको निजी जानकारीलाई गोप्य राख्न र उपचारमा प्रमाणमा आधारित दृष्टिकोण अपनाउन प्रेरित गरे।
दक्षिण एसियाको सन्दर्भमा, प्राचीन आयुर्वेदिक ग्रन्थहरू सुश्रुत संहिता र चरक संहिताले पनि यस्तै नैतिक सिद्धान्तहरू प्रस्तुत गरेका छन्। सुश्रुत संहिताले चिकित्सकलाई बिरामीको गोपनीयता कछुवाले आफ्ना अङ्ग लुकाएझैँ सुरक्षित राख्नुपर्ने उल्लेख गरेको छ। त्यस्तै, चरक संहिताले नैतिकता उल्लङ्घन गर्ने चिकित्सकलाई ‘विष व्यापारी’ को संज्ञा दिएको छ। यी प्राचीन दस्तावेजहरूले चिकित्सकको कर्तव्य र बिरामीको अधिकारलाई स्पष्ट रूपमा जोड दिएका छन्।
हिप्पोक्रेट्सपछि आएका ग्यालेनले भने मिथ्या विश्वास र गलत उपचार पद्धतिहरूलाई प्रोत्साहन गरे, जसले करिब एक हजार वर्षसम्म चिकित्साशास्त्रलाई गलत दिशामा डोर्यायो। यस्ता ऐतिहासिक उदाहरणहरूले देखाउँछन् कि ख्यातिको लोभ र गलत अभ्यासहरू चिकित्सा क्षेत्रमा नयाँ होइनन्। आज, सामाजिक सञ्जालले यी प्रवृत्तिहरूलाई नयाँ रूप दिएको छ। चिकित्सकहरूले टिकटक, युट्युब, र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूमा बिरामीको निजी जानकारी साझा गरेर सामाजिक मान्यताको खोजी गर्छन्, जुन हिप्पोक्रेट्स र सुश्रुतका आदर्शहरूको ठाडो उल्लङ्घन हो।
दार्शनिक कोणः नैतिकता र सामाजिक मान्यता
चिकित्सक केवल रोगका विशेषज्ञ मात्र होइनन्, समाजमा प्रतिष्ठित व्यक्तित्व पनि हुन्। यो सामाजिक प्रतिष्ठाले चिकित्सकहरूलाई सांसद, प्रधानमन्त्री, राष्ट्रपतिजस्तो उच्च ओहदासम्म पुर्याउन सक्छ। तर, यो प्रतिष्ठाको भोकले चिकित्सकहरूलाई नैतिक सीमाहरू नाघ्न प्रेरित गर्छ। फ्रान्सेली दार्शनिक माइकल फुकोले चिकित्सक–बिरामी सम्बन्धमा शक्ति सन्तुलनको कुरा उठाएका थिए। उनले बिरामीलाई वस्तु वा औजारको रूपमा नभई मानवको रूपमा हेर्नुपर्ने तर्क गरे। सामाजिक सञ्जालमा चिकित्सकहरूले बिरामीको निजी जानकारी साझा गर्दा फुकोको यो सिद्धान्तलाई चुनौती दिएको छ। यस्ता गतिविधिहरूले बिरामीलाई केवल सामाजिक सञ्जालको ‘कन्टेन्ट’मा परिणत गर्छ, जसले चिकित्सकीय नैतिकतामाथि प्रश्न उठाउँछ।
जर्मन दार्शनिक फ्रेड्रिक नीत्शेको ‘विल टु पावर’ सिद्धान्तले ख्यातिको भोकलाई शक्तिको चाहनासँग जोड्छ। नीत्शेले यस्ता चिकित्सकहरूलाई ‘कमजोर मन’ र ‘सामाजिक मान्यताका कैदी’ भन्न सक्थे। सामाजिक सञ्जालको युगमा, लाइक, कमेन्ट, र फलोअरहरूको सङ्ख्याले चिकित्सकहरूको आत्मसम्मान र पहिचानलाई प्रभावित गरेको छ। नेपाल र दक्षिण एसियाको सन्दर्भमा, यो प्रवृत्ति विशेष रूपमा प्रबल छ, किनभने यहाँको समाजले सामाजिक मान्यता र प्रतिष्ठालाई उच्च महत्त्व दिन्छ। चरक संहिताले यस्ता प्रवृत्तिलाई स्पष्ट रूपमा निन्दा गरेको छ, र यो प्रवृत्ति आधुनिक चिकित्सकहरूमा पुनर्जनन भएको देखिन्छ।
सामाजिक सञ्जालले चिकित्सकहरूलाई समाजसँग जोड्ने अवसर प्रदान गरेको छ, तर यो अवसरले नैतिक पतनको जोखिम पनि ल्याएको छ। चिकित्सकहरूले बिरामीको गोपनीयता र नैतिकताप्रति सचेत रहनुपर्छ, किनभने उनीहरूको कार्यले समाजमा दीर्घकालीन प्रभाव पार्छ।
समकालीन अवस्थाः सामाजिक सञ्जाल र नैतिक उल्लङ्घन
नेपाल र भारतमा सामाजिक सञ्जालमा ‘सेलिब्रेटी डाक्टर’ को संस्कृति मौलाएको छ। टिकटक, युट्युब, र इन्स्टाग्राममा चिकित्सकहरूले बिरामीको उपचारका भिडियो, निजी जानकारी, र स्वास्थ्य सुझावहरू साझा गर्छन्। यस्ता भिडियोहरूले बिरामीको गोपनीयता उल्लङ्घन गर्नुका साथै चिकित्सक–बिरामी सम्बन्धमा विश्वासको संकट निम्त्याउँछ।
नेपाल मेडिकल काउन्सिलको आचारसंहिताले बिरामीको गोपनीयता र चिकित्सकीय नैतिकताको स्पष्ट मार्गदर्शन गरेको छ। यसले चिकित्सकहरूलाई बिरामीको सहमति बिना कुनै पनि जानकारी साझा गर्न निषेध गरेको छ। तर, कार्यान्वयनको अभावले यस्ता उल्लङ्घनहरू रोकिएका छैनन्। सामाजिक सञ्जालमा केहि चिकित्सकहरूले सामान्य जीवनपद्धति, जीवनशैलीका र आहारविहार कुराहरूमाथि भावनात्मक रूपमा प्रस्तुत गरी जनतालाई भ्रमित पार्ने प्रवृत्ति पनि बढेको छ। यस्ता अर्धसत्य र अवैज्ञानिक सुझावहरूले बिरामीको पुर्वाग्रह (अयलाष्चmबतष्यल दष्बक) लाई पुष्टि गर्नुका साथै जनस्वास्थ्यमा जोखिम निम्त्याउँछ।
नैतिक उल्लङ्घनका प्रभाव
सामाजिक सञ्जालमा बिरामीको गोपनीयता उल्लङ्घनले बिरामी–चिकित्सक सम्बन्धमा गम्भीर असर पार्छ। बिरामीले आफ्ना निजी जानकारी सुरक्षित नरहने डरले चिकित्सकमाथि भरोसा गुमाउन सक्छन्। यसले उपचार प्रक्रियालाई जटिल बनाउँछ। उदाहरणका लागि, यदि बिरामीको मध्यपान वा धूम्रपानजस्ता संवेदनशील जानकारी सामाजिक सञ्जालमा सार्वजनिक हुन्छ भने, बिरामीले सामाजिक लाञ्छना र मानसिक तनावको सामना गर्नुपर्छ।
साथै, गलत स्वास्थ्य सुझावहरूले जनतामा भ्रम र डर उत्पन्न गर्छ। यस्ता सुझावहरूले जनताको स्वास्थ्य व्यवहारमा नकारात्मक प्रभाव पार्छ र वैज्ञानिक चिकित्साप्रति अविश्वास बढाउँछ।
विश्वव्यापी सन्दर्भ र तुलना
सामाजिक सञ्जालमा चिकित्सकहरूको यस्तो व्यवहार नेपाल र दक्षिण एसियामा मात्र सीमित छैन। विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय चिकित्सा सङ्गठनहरूले सामाजिक सञ्जालको नैतिक प्रयोगबारे मार्गदर्शन जारी गरेका छन्। अमेरिकामा हेल्थ इन्स्योरेन्स पोर्टाबिलिटी एन्ड अकाउन्ट्याबिलिटी एक्ट (एचआईपीएए)ले बिरामीको गोपनीयता उल्लङ्घनलाई गम्भीर अपराध मानेको छ। एचआईपीएए अनुसार, बिरामीको सहमति बिना कुनै पनि जानकारी साझा गरेमा चिकित्सकलाई जरिवाना र लाइसेन्स रद्दसम्मको सजाय हुन सक्छ। भारतमा२०२३ ले पनि यस्तै प्रावधान राखेको छ। तर, नेपालमा यस्तो कडा कानुनी व्यवस्था नहुँदा सामाजिक सञ्जालमा चिकित्सकहरूको गतिविधि नियन्त्रण गर्न कठिन भएको छ। नेपाल मेडिकल काउन्सिलले यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न प्रयास गरिरहेको छ, तर प्रभावकारी कार्यान्वयनको अभाव छ।
सामाजिक सञ्जालको सकारात्मक सम्भावना
सामाजिक सञ्जाल केवल नकारात्मक प्रभावमा सीमित छैन। यसले चिकित्सकहरूलाई जनस्वास्थ्य सचेतना फैलाउने अवसर पनि प्रदान गरेको छ। उदाहरणका लागि, कोभिड–१९ महामारीको समयमा नेपाल र भारतका चिकित्सकहरूले सामाजिक सञ्जालमार्फत मास्क लगाउने, खोप लिने, र स्वास्थ्य सावधानी अपनाउने सन्देश प्रवाह गरे। यस्ता अभियानहरूले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पारे। तर, यस्ता सकारात्मक प्रयासहरू बिरामीको गोपनीयता र नैतिकताको सम्मान गर्दै गर्नुपर्छ।
नैतिक समाधान र सुझाव
यस्ता समस्याहरू समाधान गर्न निम्न उपायहरू अपनाउन सकिन्छ
कडा नियमन र कार्यान्वयनः नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा चिकित्सकहरूको गतिविधि निगरानी गर्न विशेष दिशानिर्देश जारी गर्नुपर्छ। बिरामीको सहमति बिना कुनै पनि जानकारी साझा गर्न नपाइने नियम कडाइका साथ लागू गर्नुपर्छ। सामाजिक सञ्जालमा चिकित्सकहरूको गतिविधि अनुगमन गर्न विशेष टास्क फोर्स गठन गर्न सकिन्छ।
चिकित्सकीय शिक्षा र सचेतनाः चिकित्सकहरूलाई बिरामीको गोपनीयता र नैतिकताको महत्त्वबारे नियमित प्रशिक्षण दिनुपर्छ। साथै, सामाजिक सञ्जालको दुरुपयोगले पेशागत र कानुनी जोखिम निम्त्याउन सक्ने कुरा सिकाउनुपर्छ।
सामाजिक सञ्जाल साक्षरताः जनतामा सामाजिक सञ्जालमा देखिने स्वास्थ्य सुझावहरूको विश्वसनीयता जाँच्ने सचेतना फैलाउनुपर्छ। सरकार र गैरसरकारी संस्थाहरूले सामाजिक सञ्जाल साक्षरता अभियान चलाउन सक्छन्।
कानुनी सुधारः नेपालमा एचआईपीएए जस्तै कडा गोपनीयता कानुनको आवश्यकता छ। बिरामीको डाटा सुरक्षित राख्न र चिकित्सकहरूलाई जवाफदेही बनाउन यस्तो कानुन अपरिहार्य छ।
चिकित्सकहरूको आत्ममूल्याङ्कनः चिकित्सकहरूले आफ्नो पेशागत नैतिकता र सामाजिक सञ्जालको प्रयोगबारे आत्ममूल्याङ्कन गर्नुपर्छ। उनीहरूले ख्यातिको लोभभन्दा बिरामीको विश्वास र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ।
सामाजिक सञ्जालको भविष्य र चिकित्सा क्षेत्र
सामाजिक सञ्जालको प्रभाव भविष्यमा अझ बढ्ने निश्चित छ। चिकित्सकहरूले यसलाई जनस्वास्थ्य सचेतना, शिक्षा, र सकारात्मक सन्देश प्रवाहको लागि प्रयोग गर्न सक्छन्। तर, यो प्रयोग नैतिक र जिम्मेवार हुनुपर्छ।
उदाहरणका लागि, चिकित्सकहरूले सामान्य स्वास्थ्य सुझावहरू साझा गर्न सक्छन्, तर बिरामीको निजी जानकारी वा संवेदनशील डाटा प्रयोग गर्नुहुन्न। साथै, विज्ञापन र प्रचारका लागि सामाजिक सञ्जाल प्रयोग गर्दा वैज्ञानिक प्रमाण र नैतिक मापदण्डलाई पालना गर्नुपर्छ।
सामाजिक सञ्जालले चिकित्सकहरूलाई जनतासँग जोड्ने शक्तिशाली माध्यम प्रदान गरेको छ, तर यसको दुरुपयोगले चिकित्सा क्षेत्रको पवित्रता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। हिप्पोक्रेट्स र सुश्रुतका आदर्शहरूले बिरामीको गोपनीयता र नैतिकताको महत्त्व सिकाएका छन्। सामाजिक सञ्जालको सही प्रयोगले चिकित्सा क्षेत्रलाई थप पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ, तर यसका लागि कडा नियमन, शिक्षा, र नैतिक जागरूकता अपरिहार्य छ।
यदि यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण गरिएन भने, चिकित्सा क्षेत्र केवल सामाजिक सञ्जालको कन्टेन्टमा सीमित हुनेछ, र हिप्पोक्रेट्सको आत्मा सधैँ लज्जित रहनेछ। चिकित्सकहरूले आफ्नो पेशागत जिम्मेवारी र नैतिकताप्रति प्रतिबद्ध रहनुपर्छ, ताकि बिरामीको विश्वास र समाजको सम्मान कायम रहोस्।
1. Edelstein, L. (1943). The Hippocratic Oath: Text, Translation, and Interpretation. Johns Hopkins Press.
2. Bhishagratna, K. L. (1907). An English Translation of the Sushruta Samhita. Calcutta.
3. Nepal Medical Council. (2023). Code of Ethics and Professional Conduct. Kathmandu, Nepal.
4. National Medical Commission, India. (2023). Professional Conduct, Etiquette, and Ethics Regulations.
5. U.S. Department of Health and Human Services. (1996). Health Insurance Portability and Accountability Act.
6. World Health Organization. (2020). Ethical Considerations for Use of Social Media in Health Communication.
7. Keshri, V. R., & Bhaumik, S. (2022). “Digital Health in South Asia: Opportunities and Challenges.” The Lancet Regional Health – Southeast Asia.
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीले आफ्नो प्रोग्रामिङ ल्याङ्ग्वेज च्याङ्जी (Cangjie) लाई ओपन सोर्स (open-source) बनाउने भएको छ । अमेरिकी प्रतिबन्धका कारण विदेशी सफ्टवेयरमाथिको निर्भरता घटाउँदै प्राविधिक आत्मनिर्भरता हासिल गर्ने उद्देश्य अनुरूप कम्पनीले यो दूरगामी कदम चाल्ने भएको हो ।
यो प्रोग्रामिङ ल्याङ्ग्वेजको नाम चिनियाँ पौराणिक कथामा वर्णन गरिएका एक प्रख्यात व्यक्तिको नामबाट राखिएको हो, जसलाई चिनियाँ अक्षरको आविष्कारक समेत मानिन्छ । च्याङ्जीलाई फुल-सिनारियो इन्टेलिजेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको छ ।
यसमा नेटिभ एआईका क्षमता र उच्चस्तरीय सुरक्षा सुविधा समेत समावेश छन् । जसले यसलाई विविध प्रकारका एप्लिकेसनहरूका लागि उपयुक्त बनाउँछ । यो प्रोग्रामिङ ल्याङ्ग्वेजले मुख्यतया ह्वावेको क्रस-डिभाइस अपरेटिङ सिस्टम हार्मोनी ओएस नेक्स्टमा चल्ने एपहरूका लागि सामान्य प्रोग्रामिङलाई समेत सपोर्ट गर्छ ।
जुन एन्ड्रोइडबाट पूर्णतया स्वतन्त्र छ । महत्त्वपूर्ण कुरा के छ भने, च्याङ्जीले एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा रहेका एपहरूलाई समेत सपोर्ट गर्ने दाबी गरिएको छ । यसले एन्ड्रोइड डेभलपरहरूले अधिकांश रूपमा प्रयोग गर्ने जाभा र आईओएस डेभलपरहरूले प्रयोग गर्ने स्विफ्ट जस्ता स्थापित प्रोग्रामिङ ल्याङ्ग्वेजसँग प्रतिस्पर्धा गर्नेछ ।
लगभग पाँच वर्षको निरन्तर विकासपछि गत जुनमा च्याङ्जीको प्रिभ्यु भर्सन सार्वजनिक गरिएको थियो । सार्वजनिक भए लगत्तै यस प्रति डेभलपरहरूको तीव्र आकर्षण देखियो । फलस्वरूप केही हप्ताभित्रै यसमा १० हजारभन्दा बढी टेस्टिङ एप्लिकेसन जोडिएका थिए ।
गत अक्टोबरसम्म च्याङ्जी हार्मोनीओएसका सम्पूर्ण डेभलपरहरूका लागि उपलब्ध गराइएको थियो । त्यसयता यसलाई विभिन्न हार्मोनीओएस आधारित एपहरूको विकासमा व्यापक रूपमा अपनाइएको छ, जसमा चिनियाँ अन-डिमान्ड डेलिभरी प्लेटफर्म मेइटुआन (Meituan) र ई-कमर्स प्लेटफर्म जेडी डटकमका एपहरू पनि समावेश छन् ।
उदाहरणका लागि मेइटुआनले आफ्ना डेलिभरी राइडरका लागि एप डेभलप गर्न च्याङ्जी प्रयोग गरिरहेको छ, जुन यस वर्षको तेस्रो त्रैमासिकसम्ममा हार्मोनीओएसमा सार्वजनिक गर्ने योजना छ ।
ह्वावेले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्सका क्रममा जुलाई ३० देखि च्याङ्जी सबै डेभलपरहरूका लागि पहुँचयोग्य हुने घोषणा गरेको थियो । ओपन-सोर्सको अवधारणाले सफ्टवेयरको सोर्स कोडमा सार्वजनिक पहुँचको अनुमति दिन्छ, जसले थर्ड-पार्टी डेभलपरहरूलाई यसको डिजाइन परिमार्जन गर्न, समस्याहरू समाधान गर्न वा यसको क्षमता विस्तार गर्न सक्षम बनाउँछ ।
यसले अमेरिकाले लगाएको कडा निर्यात प्रतिबन्धका बीचमा विदेशी सफ्टवेयर र अन्य प्रविधिहरूमा निर्भरता कम गर्ने ह्वावेको प्रयासलाई प्रतिबिम्बित गरेको छ । जारी अमेरिकी प्रतिबन्धका बीच च्याङ्जीलाई ओपन-सोर्स बनाउने ह्वावेको निर्णयले आफ्नै सफ्टवेयर इकोसिस्टम निर्माण गर्ने प्रयासलाई तीव्रता दिएको स्पष्ट सङ्केत गरेको हो ।
सोही डेभलपर कन्फ्रेन्सको अवसरमा ह्वावेले आफ्नो अपरेटिङ सिस्टमको पछिल्लो भर्सन हार्मोनीओएस ६, नयाँ एआई मोडेल र आफ्नो क्लाउडम्याट्रिक्स ३८४ एआई र्याक आर्किटेक्चर पनि प्रस्तुत गरेको थियो। ह्वावेको उपभोक्ता व्यवसाय समूहका अध्यक्ष रिचर्ड यू चेङडोङका अनुसार हार्मोनीओएस ५ हालसम्म ४० भन्दा बढी डिभाइस मोडेलहरूमा इन्स्टल भइसकेको छ ।
जसको इकोसिस्टममा ८० लाखभन्दा बढी डेभलपर दर्ता भएका छन् र ३०,००० भन्दा बढी एप तथा मिनी-प्रोग्रामहरू उपलब्ध छन् । च्याङ्जीको ओपन-सोर्सले यो बढ्दो इकोसिस्टमलाई अझ बलियो बनाउन र विश्वव्यापी सफ्टवेयर बजारमा ह्वावेको प्रभाव विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १६:४७
सामाग्री श्रोत :
टेक पाना