
काठमाडौँ– प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन। रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन्।
माओवादीसँग दुई बुँदे सहमति भएर सदन चलाए पनि रास्वपा र राप्रपाले स्वीकार गरेका छैनन्। सदन चलाउन सभामुखले आजै गृहमन्त्री, ठूला पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति बनेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
अमेरिका- नेपालमा २०० बेडको क्यान्सर अस्पताल बनाइरहेको विनयतारालाई अमेरिकाको एमजे मर्डक च्यारिटेबल ट्रस्टले ३ लाख ७२ हजार अमेरिकी डलर (५ करोड १२ लाख ५९ हजार) प्रदान गरेको छ। विनयताराले क्यान्सरका क्षेत्रमा गरिरहेका कामबाट प्रभावित भएर उक्त अनुदान प्रदान गरिएको विनयताराका वरिष्ठ बजार तथा सञ्चार व्यवस्थापक म्याट लाम्बर्टले जनाएका छन्।
‘मर्डक ट्रस्टले विनयराताराले ग्रामीण तथा कमसेवा पाएका समुदायहरूमा वैज्ञानिक अनुसन्धान र उपचारबीचको दूरी घटाउन गरेको कार्यबाट प्रभावित भएको छ,’ मर्डक ट्रस्टका वरिष्ठ कार्यक्रम अधिकृत किम न्यूम्यानले भने, ‘यो अनुदानले संस्थाको क्षमता विस्तारमा सहयोग गर्ने र नयाँ नवप्रवर्तन तथा सहकार्यहरूलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।’
विनयतारा अहिले विस्तारको महत्वपूर्ण चरणमा रहेको संस्थापक अध्यक्ष डा विनय शाह बताउँछन्। ‘क्यान्सर अनुसन्धान, विश्वव्यापी क्यान्सर उपचार, र चिकित्सकीय शिक्षा सम्बन्धी कार्यक्रमहरू विस्तार भइरहेका छन्, जसका लागि दीगो र विविध स्रोतहरूबाट वित्तीय सहयोग आवश्यक छ,’ डा शाहले भने, ‘यो अनुदान हाम्रा लागि महत्वपूर्ण हुनेछ।’
अनुदान ‘विनयतारा क्यान्सर रिसर्च इन्सिच्युट’ नामक नयाँ अनुसन्धान संस्थाको आधारशिला रहेको उनले बताएका छन्। जसले ‘क्यान्सर उपचार कार्यान्वयन’मा अनुसन्धान गर्नेछ। यस संस्थाले वैज्ञानिक खोजहरूलाई वास्तविक जीवनमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्ने भन्नेबारे अनुसन्धान गर्ने बताइएको छ, विशेषतः ती क्षेत्रहरूमा जहाँ नवीन उपचार पद्धति र प्रविधि ढिलोगरी पुग्छ।
विनयताराताराका मुख्य विकास अधिकारी जस्टिन मार्कवार्टका अनुसार अनुदानले अनुसन्धानका लागि विज्ञहरू भित्र्याउन र अनुसन्धानको प्रभावकारिता विस्तार गर्न मद्दत गर्नेछ। ‘आधारभूत विज्ञानलाई सहयोग पुर्यातउने धेरै संस्था छन्, तर त्यस अनुसन्धानको लाभ कसरी सर्वसाधारणसम्म पुर्याउने भन्नेमा अझै गहिरो प्रयास आवश्यक छ,’ उनले भने।
विनयताराताराका संस्थापक अध्यक्ष डा. विनय शाहले आफूले स्थापना गर्न लागिरहेको क्यान्सर अनुसन्धान संस्था क्यान्सर उपचारमा अवरोध बनेका व्यवहारिक समस्याहरूको समाधानमा केन्द्रीत हुने बताए। ‘यसले संयुक्त राज्य अमेरिका मात्र नभई नेपाल तथा अन्य विकासोन्मुख राष्ट्रहरूमा पनि क्यान्सर उपचारको स्तर सुधार्नेछ,’ उनले थपे।
अमेरिकामा स्थापित विनयतारा विश्वभर क्यान्सर उपचारमा रहेको असमानता अन्त्यका लागि कामग गर्दै आएको छ। अमेरिका भित्र सबैभन्दा ठूलो हेमाटोलोजी/अङ्कोलोजी सम्मेलन आयोजकका रूपमा यस संस्थाले हजारौं चिकित्सक, अङ्कोलोजिस्ट, र हेमाटोलोजिस्टलाई नवीनतम उपचार पद्धति र अनुसन्धानबारे ज्ञान प्रदान गर्दै आएको छ। नेपालमा अहिले २५ बेडको अस्पताल सञ्चालन गरिरहेको विनयताराले २०० बेडको अत्याधुनिक क्यान्सर अस्पतालका लागि काम गरिरहेको छ।
मर्डक ट्रस्ट स्वर्गीय मेल्विन जे. (ज्याक) मर्डकको इच्छाअनुसार स्थापना गरिएको हो। यसले अमेरिकाको उत्तरपश्चिमका पाँच राज्य अलास्का, आइडाहो, मोन्टाना, ओरेगन र वाशिङ्टनभित्रका गैरनाफामूलक संस्थाहरूलाई शैक्षिक, सामाजिक, आध्यात्मिक र सांस्कृतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले अनुदान प्रदान गर्दै आएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । भारतको झारखण्ड राज्यस्थित जमसेदपुर सहरका २२ वर्षीय रोहित कुमार बाल्यकालदेखि नै पढाइमा निकै रुचि राख्ने विद्यार्थी थिए । कक्षा ५ सम्म हिन्दी माध्यममा पढेका उनको पढाइप्रतिको गहिरो लगावलाई बुबाले नजिकबाट नियालिरहेका थिए । छोराको भविष्यका लागि खर्चको पर्वाह नगरी उनले रोहितलाई अङ्ग्रेजी माध्यमको विद्यालयमा भर्ना गरिदिए ।
त्यही विद्यालयबाट रोहितले सन् २०१९ मा ७९ प्रतिशत अङ्क ल्याएर आईसीएसई बोर्डबाट म्याट्रिक (१० कक्षा) उत्तीर्ण गरे । तर, परिवारमा कठिनाइ सुरु भयो । सन् २०१२ देखि नै मधुमेहका बिरामी उनका बुबा थला परे । घरको सम्पूर्ण बचत र आम्दानी बुबाको उपचारमै खर्च हुन थाल्यो । सागसब्जी बेचेर दैनिक करिब २५० भारू कमाउने बुबा नै बिरामी भएपछि घरको आर्थिक अवस्था नाजुक बन्यो ।
घरको मुख्य कमाउने व्यक्ति नै थला परेपछि रोहितले अङ्ग्रेजी माध्यमको महँगो विद्यालय छोडेर सरकारी ‘जमसेदपुर वर्कर्स कलेज’मा भर्ना भए । उनी कलेज जानुका साथै घरखर्च चलाउन एउटा फार्मेसीमा पनि काम गर्न थाले । त्यहाँ उनी मासिक १८०० भारू कमाउँथे ।
“फार्मेसीमा काम गर्दा मैले एमबीबीएसको महत्त्व कति हुन्छ भन्ने बुझ्ने मौका पाएँ,” रोहित आफ्नो अनुभव सुनाउँछन्, “तर जब म एमबीबीएस पढ्न के गर्नुपर्छ भनेर सोध्थेँ, धेरैले ‘पहिले इन्टर पास गरेर त देखाऊ’ भन्दै हतोत्साहित गर्थे ।”
यो कुराले उनमा इन्टर पास गरेरै छाड्ने र एमबीबीएसको तयारी गर्ने इख पलायो । उनले त्यही कलेजमा आफ्नो पढाइलाई निरन्तरता दिए । सन् २०२१ मा केवल युट्युब भिडिओ हेरेरै उनले ८९.५ प्रतिशत अङ्क ल्याई इन्टरमिडिएट (१२ कक्षा) मा कलेज टप गरे । लाखौँ खर्च गरेर कोचिङ पढ्दा पनि धेरैलाई उत्तीर्ण हुन कठिन हुने परीक्षामा उनको यो नतिजा असाधारण थियो ।
त्यसपछि उनी निरन्तर एमबीबीएस प्रवेश परीक्षा (NEET-UG) को तयारीमा जुटे। तर, लाखौं शुल्क लाग्ने तयारी कक्षामा भर्ना हुने उनको आर्थिक हैसियत थिएन । त्यसमाथि घरखर्चको जोहो गर्ने जिम्मेवारी पनि उनकै काँधमा थियो । युट्युब भिडिओकै भरमा तयारी गरेका उनले सन् २०२३ को ‘नीट-यूजी’ परीक्षामा ७२० मध्ये ४८५ अङ्क ल्याए ।
रोहितका साथी अनुज सिंहले बीबीसीलाई भने अनुसार उनी दैनिक १२ देखि १३ घण्टासम्म पढ्ने, केही घण्टा सुतेर आम्दानीका लागि काममै खटिन्थे ।
“बिहान ७ बजेदेखि १२ बजेसम्म लाइब्रेरीमा बसेर भिडिओ लेक्चरबाट पढ्थेँ । त्यसपछि पसलमा तीन बजेसम्म काम गर्थेँ । त्यसपछि राति ८ बजेसम्म फेरि लाइब्रेरीमा गएर पढ्थेँ । अनि फेरि घर आएर राति १० बजेदेखि मध्यरात एक बजेसम्म पढ्थेँ,” रोहितले बीबीसी हिन्दीलाई भने । लाइब्रेरीमा पढ्नका लागि उनले मासिक १३०० भारू तिर्नुपर्थ्यो । रोहितका अनुसार उनको घरमा पढ्ने ठाउँ थिएन । त्यसैले उनी आफ्ना दाइको पसल नजिकको लाइब्रेरीमा उक्त शुल्क तिरेर पढ्थे ।
“युट्युबबाटै तयारी गर्दा राम्रो अङ्क त आयो, तर त्यो एमबीबीएस पढ्नका लागि पर्याप्त थिएन,” उनी भन्छन्, “यसले मलाई अर्को पटक अझै राम्रो गर्न सकिन्छ भन्ने आत्मविश्वास दियो ।”
यसै क्रममा उनले युट्युबर अलख पाण्डेले सुरु गरेको एडटेक प्लेटफर्म ‘फिजिक्स वाला’ (PW) बारे थाहा पाए । उक्त प्लेटफर्मले सञ्चालन गरेको ‘उमिद ब्याच’ को शुल्क मात्र पाँच हजार भारू थियो । अन्य तयारी कक्षाको तुलनामा यो निकै सस्तो भएकाले उनले उक्त कोर्स किने ।
एकातिर अनलाइन कक्षा लिँदै र अर्कोतिर फुटपाथमा मोबाइल कभर बेचेर घरखर्च जुटाउँदै उनले कठोर परिश्रम गरे ।
उनको मेहनतले रङ्ग ल्यायो र २०२४ को परीक्षामा उनले ७२० मध्ये ६१९ अङ्क हासिल गरे । तर, त्यस वर्ष प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा विवादित बन्यो र उनको यो उत्कृष्ट नतिजा अर्थहीन हुन पुग्यो । यो घटनापछि निराश भएका रोहितले डाक्टर बन्ने आशा लगभग मारिसकेका थिए । कक्षा ८ सम्म मात्र पढेका उनका दाइ राहुलले भाइलाई तेस्रो पटक तयारी गर्न प्रेरित गरे । तर, तयारीका लागि लाग्ने खर्च र समयलाई हेरेर रोहित दोधारमा थिए ।
‘फिजिक्स वाला’ ले आफ्ना विद्यार्थीको मेहनत खेर गएकोमा चुप बस्न सकेन र ६०० भन्दा बढी अङ्क ल्याउने सबैलाई निःशुल्क पढाउने घोषणा गर्यो । यस घोषणाले रोहितलाई ठुलो राहत मिल्यो र उनले आफ्नो डाक्टर बन्ने सपनालाई पुनः ब्यूँताए । हालै प्रकाशित नतिजामा उनले ७२० मध्ये ५४९ अङ्क ल्याएर २२ लाखभन्दा बढी विद्यार्थीमध्ये १२,४८४ औं स्थानमा पर्न सफल भए ।
उनको यो संघर्षको कथा थाहा पाएपछि ‘फिजिक्स वाला’ का सीईओ अलख पाण्डे आफैँ रोहितले मोबाइल कभर बेच्ने फुटपाथको स्टलमै पुगेर भेटे । उक्त भेटको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाण्डेले रोहितलाई डाक्टरले लगाउने सेतो कोट दिएर बधाई दिएका थिए । बीबीसी हिन्दीका अनुसार पाण्डेले रोहितको एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १४:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
भोलि (बुधबार) बिहान साढे ८ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ।
यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेलाई बैठक तय गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपालमा प्रति ईभी औसत ४० लाख रुपैयाँ बराबरको अप्रत्यक्ष अनुदान प्राप्त भइरहेको पाइएको छ । विश्व बैंकले हालै प्रकाशित गरेको ‘टुवार्ड क्लिन एयर इन नेपालः बेनिफिट्स, पोलुसन सोर्सेस एन्ड सोलुसन्स‘ शीर्षकको एक नयाँ प्रतिवेदन यस्तो आँकडा बाहिर ल्याएको हो ।
“यदि आईसीई सवारीमा लाग्ने बराबरको कर ईभीमा पनि लगाउने हो भने नेपालमा हलुका (लाइट-ड्युटी भेहिकल) ईभीको मूल्य ६४.३ लाख रुपैयाँ पुग्ने थियो,” प्रतिवेदनमा भनिएको छ । जुन अहिलेको भन्दा झन्डै तीन गुणा बढी हो । यसरी, नेपालमा ईभीले औसतमा ४० लाख रुपैयाँ बराबरको अप्रत्यक्ष अनुदान प्राप्त गरिरहेको विश्व बैंकको विश्लेषण छ ।
हाल, ईभीमा इन्टर्नल कम्बश्चन इन्जिन (आईसीई) गाडीहरू भन्दा कम कर लाग्ने व्यवस्था छ । उदाहरणका लागि, १००० सीसी क्षमताका आईसीई गाडीको औसत मूल्य ३०.६ लाख रुपैयाँ पर्छ, जसमा २१.८ लाख (७१.२ प्रतिशत) कर तथा शुल्क हुन्छ । त्यसैको तुलनामा ५० किलोवाटसम्मको क्षमताका ईभीको औसत मूल्य २४.१ लाख रुपैयाँ मात्र पर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । जसमा कर र शुल्क २३ प्रतिशत मात्र पर्न आउँछ । यसले ईभी गाडीहरूलाई नेपालमा आईसीई गाडीभन्दा औसतमा २१ प्रतिशत सस्तो बनाएको छ ।
नेपालको कर नीतिले ईभीलाई आईसीई गाडीभन्दा किफायती बनाएको र तिनको प्रयोगलाई बढावा दिँदै आएको छ । हलुका (एलडीभी) आईसीई गाडीहरूको सीआईएफ मूल्य (लागत, बीमा, ढुवानी) को आधारमा कर र शुल्कको प्रतिशत औसतमा २४७ प्रतिशत हुन्छ भने त्यही वर्गको ईभीमा यो मात्र ३० प्रतिशत हुन आउँछ ।
सरकारको यस किसिमको नीतिले नेपालमा स्वच्छ यातायात प्रवर्धन गरिरहेको विश्व बैंकले जनाएको छ । यसका लागि ईभीमा कर छुट नेपाल सरकारको मुख्य अनुदान नीति हो । सरकारले जीवाश्म इन्धनको सट्टामा जलविद्युत् प्रयोगलाई प्रवर्धन गर्न र यातायात क्षेत्रबाट हुने स्थानीय प्रदूषण तथा कार्बनडाइअक्साइड उत्सर्जन घटाउन ईभीमा भन्सार शुल्क तथा अन्तःशुल्क कर घटाएको हो ।
वायु प्रदूषण नियन्त्रण गर्न पेट्रोलियम पदार्थमा कर
सरकारले प्रदूषण निम्त्याउने इन्धन तथा प्रविधिमाथि थप कर लगाउने र स्वच्छ ऊर्जा तथा प्रविधिलाई प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालमा प्रायः सबैजसो जीवाश्म इन्धन (केही कोइला बाहेक) अन्य देशबाट आयात हुने गर्छ । जीवाश्म इन्धन नै वायु प्रदूषण र कार्बन उत्सर्जनको प्रमुख कारणको रूपमा रहँदै आएको छ ।
करका कारण इन्धनको मूल्य बढ्दा उपभोक्ताहरू वैकल्पिक ऊर्जातर्फ प्रोत्साहित हुने गर्छन् ।
नेपालमा पछिल्ला वर्षहरूमा एकातर्फ प्रदूषण कर (पेट्रोलमा लाग्ने वातावरणीय कर) तथा हरित कर (जीवाश्म इन्धनमा व्यापक रूपमा लाग्ने कर) लागु गरिएको छ भने अर्कोतर्फ विद्युतीय सवारी (ईभी) को भन्सार शुल्क घटाउने नीति लिइएको छ ।
पेट्रोलियम पदार्थमा लागु गरिएको प्रदूषण कर नेपालको पहिलो वातावरणीय वित्तीय नीति हो, जसको उद्देश्य उत्सर्जन घटाउनु हो । आर्थिक ऐन २०६४ मार्फत, सरकारले पेट्रोल र डिजेल आयात गर्दा भन्सार विन्दुमा थप कर लगाउने व्यवस्था गर्यो । सुरुवातमा यो प्रदूषण कर प्रति लिटर ५० पैसा थियो । त्यो अहिले तीन गुणाले बढेर प्रति लिटर १.५ रुपैयाँ पुगेको छ ।
सरकारले यो कर १७ वर्षभन्दा लामो समयदेखि सङ्कलन गर्दै आएको छ र अर्बौँ रुपैयाँ उठाएको भए पनि उक्त रकम वातावरणीय उद्देश्यका लागि प्रयोग भने गरिएको छैन । आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै सरकारले ३ अर्ब ८ लाख रुपैयाँ प्रदूषण कर सङ्कलन गरेको थियो । हालसम्म सरकारले करिब साढे २५ अर्ब रुपैयाँ यस्तो कर सङ्कलन गरिसकेको छ ।
प्रदूषण करबाहेक, सरकारले सन् २०१५ देखि पेट्रोलमा पूर्वाधार कर पनि लगाउन थालेको हो । अहिले पूर्वाधार करको दर प्रति लिटर १० रुपैयाँ छ। आर्थिक वर्ष २०७२/०७३ देखि गत चैतसम्म सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबाट डेढ खर्ब रुपैयाँभन्दा बढी सङ्कलन गरिसकेको छ ।
सरकारले उत्सर्जन घटाउन र सार्वजनिक आम्दानी बढाउनका लागि हरित कर पनि लागु गरेको छ । आर्थिक ऐन २०८१ मार्फत लागु गरिएको यो कर सबै प्रकारका आयातित पेट्रोलियम तथा कोइला जस्ता वस्तुमा लाग्छ । हरित करको दर भने न्यून छ- कोइलामा प्रति किलो ५० पैसा र पेट्रोलियम उत्पादनमा प्रति लिटर १ रुपैयाँ (प्रदूषण कर बाहेक) । सरकारले २०८१ साउन १ देखि हरित कर सङ्कलन सुरु गरिसकेको छ । यस्ता करबाट उठेको रकम सरकारी साझा कोषमा जम्मा हुने भए पनि वातावरणीय उपयोगको लागि भने नछुट्याइएको विश्व बैंकले जनाएको छ ।
यी विशिष्ट करबाहेक सरकारले पारम्परिक करहरू (जस्तै भन्सार शुल्क, उत्पाद शुल्क, भ्याट) पनि लगाउँछ । धेरै देशमा जीवाश्म इन्धनमा अनुदान दिइन्छ । तर नेपालमा यस्ता इन्धनमा प्रत्यक्ष अनुदान छैन, एलपी ग्यासमा मात्र क्रस-सब्सिडी छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलमा मूल्यको ५८ प्रतिशत र डिजेलमा ४० प्रतिशत थियो । उच्च पेट्रोलियम करले इन्धनको प्रयोगलाई नियन्त्रणमा राख्ने र यसले उत्सर्जन घटाउन मद्दत गर्न सघाउँछ । यदि यी करहरू घटाइयो भने इन्धनको खपत बढ्ने र प्रदूषण तथा वातावरणीय क्षति पनि बढ्ने आँकलन छ ।
उदाहरणको लागि, चीनमा अनुदान र न्यून करले गर्दा जीवाश्म इन्धनको मूल्य कृत्रिम रूपमा सस्तो बनाइएको छ । जसले उद्योगहरूलाई बढी इन्धन प्रयोग गर्न उक्साएको र उत्सर्जन बढाएको बताइन्छ । आईएमएफका अनुसार यसले चीनमा प्रति टन सल्फरडाइअक्साइड उत्सर्जनमा सबैभन्दा बढी मृत्यु हुने अवस्था निम्त्याएको छ । यदि विश्वभर अनुदान हटाएर जीवाश्म इन्धनमा सुधारात्मक करहरू लगाइएमा सन् २०३० सम्ममा कार्बनडाइअक्साइड उत्सर्जन ४३ प्रतिशतले कटौती गर्न सकिने र वायु प्रदूषणका कारण हुने १६ लाख असामयिक मृत्यु टार्न सकिने अनुमान छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १५:१२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई अपराधी नभनिएको बताएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा धारणा राख्दै रास्वपा सांसद चन्दा भण्डारी कार्कीले आफूहरूले गृहमन्त्री लेखकलाई अपराधी नभनेको बताएकी हुन्।
‘गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ,’ सांसद कार्कीले भनिन्, ‘तर विवादास्पद अध्यागमन प्रमुखको नियुक्ति उनलाई अख्तियारको छानबिनबाट जोगाउन एक दिनमै सरुवा गर्नु। कारबाही प्रक्रिया अघि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको बेवास्ता गर्नु यी सबैमा प्रश्न त उठेकै हो नी।’
त्यस्तै ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएकाले छानबिन हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘यसको जालो च्यात्नको लागि हामीले उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्न माग गरेका हौँ। यस्तो माग गर्दा पनि सरकारले आक्रोशित हुँदै रोष्ट्रमबाट धम्काउनेको उद्देश्य के हो ?’
उनले आफूहरूले गृहमन्त्री संलग्न रहेको नभने पनि भूमिका शंकास्पद भएकाले प्रश्न उठेकाले बताइन्। उनले गृहमन्त्री मातहतबाटै अनुसन्धान हुनुपर्ने भएकाले उनैमाथि छानबिन हुँदा निष्कर्ष नहुने भन्दै विगतमा उहाँले नै उठाएको मागअनुसार राजीनामा दिनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । झापाको बिर्तामोडमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ । नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पसको सह-आयोजनामा १४ र १५ असारमा दुई दिने सम्मेलन हुन लागेको हो ।
‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ नाम दिइएको यस सम्मेलनले विशेषगरी कृषि, स्वास्थ्य, शिक्षा र वित्तीय प्रविधि (फिनटेक) को क्षेत्रमा एआईको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, कोरिया र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । “यो हाइब्रिड ढाँचाको सम्मेलन हो जहाँ विदेशी विज्ञहरूले भौतिक तथा भर्चुअल माध्यमबाट आफ्नो प्रस्तुति राख्नुका साथै र अनुभव साट्नुहुनेछ,” शर्माले भने ।
दुई दिने सम्मेलनमा विज्ञहरूबाट मुख्य प्रस्तुति, ‘नेपालमा एआईको भविष्य’ शीर्षकमा प्यानल छलफल, विद्यार्थीका लागि आइडिया प्रस्तुत गर्ने अवसर, प्रोजेक्ट तथा सफ्टवेयर प्रदर्शनी र नेटवर्किङ जस्ता कार्यक्रम हुने शर्माले जानकारी दिए । कार्यक्रमले युवा आविष्कारक, अनुसन्धानकर्ता, स्टार्टअप, नीति निर्माता र विश्वभरका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास छ ।
सम्मेलनमा सहभागी हुनका लागि आवेदन खुला गरिएको छ । कार्यक्रममा सहभागी हुन, रिसर्च पेपर वा पोस्टर प्रस्तुत गर्न तथा संस्थागत रूपमा भाग लिन चाहने सबैका लागि एकीकृत रूपमा पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । संयोजक शर्माका अनुसार उक्त शुल्कमा दुई दिनको खाना, खाजा तथा सम्मेलन सामग्री समावेश हुनेछन् । तर बसोबासको व्यवस्था भने सहभागी आफैँले गर्नुपर्नेछ ।
शर्माले भने, “रिसर्च पेपर प्रस्तुत गर्न चाहनेहरूको लागि छनोट प्रक्रिया रहनेछ । तर सामान्य सहभागीका लागि भने दर्ता गरेर जो कोही पनि सामेल हुन सक्नुहुन्छ ।” इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर वा कार्यक्रम स्थलमै भौतिक रूपमा उपस्थित भएर पनि दर्ता गर्न सक्नेछन् । दर्ता गरिसकेपछि आयोजकले नै सम्पर्क गर्नेछन् ।
सम्मेलनको मुख्य अतिथिमा काठमाडौँ विश्वविद्यालयका प्रध्यापक प्राडा. सुदन झा, प्रमुख संरक्षकमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. बिजुकुमार थपलिया रहेका छन् भने सम्मेलन अध्यक्ष (प्राज्ञिक)मा त्रिभुवन विश्वविद्यालय, आईटी इनोभेसन सेन्टरका निर्देशक प्राडा. सुवर्ण शाक्य छन् । यसैगरी काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरू सल्लाहकार समितिमा रहेका छन् ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ ११:६
सामाग्री श्रोत :
टेक पाना
सुनसरी– इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिएका हुन्।
उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुमाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपालमा करिब २० प्रतिशत जनसङ्ख्याले सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्क छ। हरेक वर्ष यस्ता पदार्थको सेवन गर्ने युवाहरूको सङ्ख्या बढ्नु चिन्ताको विषय पनि हो। युवाहरूमा सामाजिक सञ्जालको प्रयोग तथा साथीहरु बीच लोकप्रिय बन्ने होडका कारण यस्तो पदार्थको प्रयोग बढ्दै गरेको पाइएको छ।
कलाकारहरू सवै पेशासँग जोडिन्छन्। प्राय: सबै उमेर समूहका मानिसहरूसँग जोडिएका हुन्छन्। उनीहरुले समाजका जुनसुकै वर्गमा पनि गहिरो छाप पार्न सक्छन्। हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्। चलचित्रमा देखाएका कतिपय दृश्यको अनुकरण मानिसले गर्ने गरेको पाइएको छ। त्यसको सबैभन्दा युवा पुस्तामा पर्छ, चलचित्रको दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगको विकल्प खोज्ने समय आएको छ। नेपालकै मौलिक शैली अपाउन सकिन्छ। तपाईंहरु सृजनशील हुनुहुन्छ । तपाईंहरु विकल्पमा कुनै त्यस्तो दृष्य सृजना गर्नुहोस्, जसलाई विश्वले नै अनुकरण गरोस्।
आगामी दिनमा सुर्तीजन्य पदार्थको प्रयोग बाहेकका सिम्बोल चलचित्रमा देखाउनुपर्छ भन्ने मलाई लाग्छ। सुर्तिजन्य पदार्थको उत्पादन र रोजगारीको कुरा आएको थियो। त्यो भन्दा बढी यसको सेवनका कारण हुने बिरामीले सिङ्गो अर्थतन्त्र नै प्रभावमा पर्न सक्छ।
नेपालमा क्षयरोगका बिरामी सबैलाई उपचारको दायरामा ल्याउन सकिएको छैन। समुदायमा क्षयरोगी भए पनि उनीहरूलाई उपचारको पहुँचमा ल्याउन नसकिएको वास्तविक अवस्था हो। वायु प्रदूषणको तह बढिरहेको छ साथै क्यान्सर बिरामीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ। क्यान्सर बिरामीहरूको सङ्ख्या बढ्नुको कारण सुर्तीजन्य पदार्थको सेवन पनि एक हो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत कर कोषमा जम्मा भएको रकमको कम्तिमा पनि २५ प्रतिशत रकम यसै क्षेत्रमा लगाउनुपर्ने कानुनी व्यवस्था छ। यद्यपि त्यो हुन सकेको छैन नेपालमा करिब ७ अर्ब बराबरको रकम सुर्तीजन्य पदार्थमा लगाइएको करबाट उठ्ने गरेको छ भने यो क्षेत्रमा करिब ४० करोड रकम मात्रै खर्च हुँदै आएको छ। जुन कानुन विपरीत छ। त्यसकारण सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्ने जुनसुकै कार्यमा पनि मन्त्रालय सकारात्मक रहेको जानकारी गराउँछु।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । मेटाले ओक्लीसँगको सहकार्यमा स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गर्ने भएको छ । सोमबार सार्वजनिक प्रोमो भिडिओ मार्फत कम्पनीको नयाँ स्मार्ट ग्लास यही २० जुनमा लन्च हुने सङ्केत मिलेको हो ।
मेटाका सीटीओ एन्ड्रयू बोसवर्थले मेटा र ओक्लीको लोगो देखाउँदै एउटा प्रोमो भिडिओ सामाजिक सञ्जालमा शेयर गरेका छन् । सँगसँगै ओक्ली मेटा नामक इन्स्टाग्राम अकाउन्टमा ‘द नेक्स्ट इभोलुसन इज कमिङ अन जुन २०’ भनेर उल्लेख गरेको छ ।
ओक्लीका नयाँ स्मार्ट ग्लासहरू खेलाडी र साइक्लिङ गर्नेहरूलाई लक्षित गरी बनाइएको चर्चा छ । यसअघि मेटाले रे-बानसँगको सहकार्यमा स्मार्ट ग्लास बजारमा ल्याएको थियो । त्यसमा क्यामेरा चस्माको छेउमा रहेको थियो । तर ओक्लीसँगको सहकार्यमा आउने नयाँ चस्मामा भने फ्रेमको केन्द्रमा क्यामेरा समावेश गरिएको उल्लेख छ ।
यी चस्माहरू ओक्लीको स्फेरा (Sphaera) मोडेलमा आधारित हुने कुराको सङ्केत विभिन्न लिकहरूले दिएका छन् । ब्लुमबर्गले जनवरीमै मेटा र ओक्लीबिचको सम्भावित सहकार्यको समाचार प्रकाशित गरेको थियो ।
यस्ता छन् सम्भावित फिचर
-
क्यामेरा केन्द्रित डिजाइन: ओक्ली मेटा स्मार्ट ग्लासमा क्यामेरा फ्रेमको बीचमा राखिने अपेक्षा गरिएको छ । यो डिजाइन परिवर्तन एथ्लेटिक भिडिओ रेकर्ड गर्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने ठानिएको छ ।
-
खेलाडी र साइकल चालकहरूका लागि लक्षित: रे-बान मेटा ग्लास दौडँदा राम्रोसँग फिट नभएको गुनासो आएकोमा, ओक्ली मेटा स्मार्ट ग्लासको डिजाइन एथ्लेटिक गतिविधिहरूका लागि बढी उपयुक्त हुने अपेक्षा गरिएको छ । यसले गोप्रोलाई एक्सन स्पोर्ट्स बजारमा चुनौती दिन सक्ने सम्भावना पनि छ ।
-
रेकर्डिङ क्षमता: रे-बान मेटा स्मार्ट ग्लासले उच्च गुणस्तरको फोटो र भिडिओ खिच्न सक्छ । ओक्ली भर्सनमा पनि यसै प्रकारको रेकर्डिङ क्षमता हुने अपेक्षा गरिएको छ । ‘हे मेटा, टेक अ भिडिओ’ भन्दै चस्माबाट ह्यान्ड्स-फ्रि फोटो र भिडिओ खिच्न सकिनेछ । साथै यसमा अडियो प्लेब्याक जस्ता फिचर समेत समावेश हुनेछन् ।
-
एआई असिस्टेन्ट: रे-बान मेटा स्मार्ट ग्लासमा एआई असिस्टेन्टको सुविधा छ । यसले अडियो र भिडिओ प्रम्प्टहरू प्रोसेस गर्न र टेक्स्ट वा अडियो आउटपुट उपलब्ध गराउन सक्छ । यसमा ‘लुक एन्ड आस्क’ फिचर समावेश छ, जसले प्रयोगकर्ताहरूलाई फोटो खिचेर त्यसको बारेमा प्रश्न सोध्न अनुमति दिन्छ । ओक्ली भर्सनमा पनि यस्तै एआई फिचरहरू समावेश हुने अपेक्षा गरिएको छ ।
-
अडियो गुणस्तर: यसमा स्पिकर र माइक्रोफोन समावेश हुनेछन् । अडियो गुणस्तर उत्कृष्ट हुने र त्यसले हेडफोनको विकल्पको रूपमा काम गर्न सक्नेछ । फोन कलको लागि माइक्रोफोनको गुणस्तर राम्रो रहेको र ब्याकग्राउन्ड आवाजलाई राम्रोसँग अलग गर्न सक्ने बताइएको छ ।
-
ब्याट्री लाइफ: स्मार्ट ग्लासमा ब्याट्री र अन्य इलेक्ट्रोनिक्स उपकरण फ्रेमका हातहरूमा (arms) राखिएको हुन्छ । सामान्य प्रयोगमा यसको ब्याट्री लाइफ ४ देखि ६ घण्टासम्म रहेको र चार्जिङ केसबाट थप ब्याट्री लाइफ प्राप्त हुन सक्छ ।
-
मूल्य: हार्डवेयरमा खासै अपग्रेडको अपेक्षा नगरिएकाले ओक्ली मेटा ग्लासको मूल्य हाल उपलब्ध रे-बान मेटा ग्लासकै हाराहारीमा हुनसक्छ । जसको मूल्य करिब २९९ अमेरिकी डलरबाट सुरु हुने अनुमान छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८२ १३:९
सामाग्री श्रोत :
टेक पाना