
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन्।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीवार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले गोष्ठीमा प्रस्तुत भएको प्राविधिक कार्यपत्रलाई थप परिष्कृत गरी नेपालको आफ्नै तथा विश्व श्रम बजारको माग बमोजिम सीप तथा क्षमता विकासलाई जोड दिए।
मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नु नै पर्ने चुनौतिलाई समाधान गर्न सबै सरोकारवालाहरु गम्भीरतापूर्वक कार्य गर्नु पर्ने बताए। उनले भने, ‘देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरु छन, हामीले तालिम दिएर मात्रै हैन, व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवर्द्धन गर्नु पर्नेछ’।
उक्त कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेपालको श्रम बजारमा देखा परेको असिमेट्रिक मार्केट सिन्ड्रोम र म्युटेसन सिन्ड्रोमलाई तोड्न प्रभावकारी तवरले काम गर्न श्रम बजारको माग र श्रमिकको प्रक्षेपणमा मन्त्रालयले जोड रहेको प्रष्ट्याउनु भयो।
कार्यक्रममा सचिव डा. पुष्करले आन्तरिक रोजगार प्रवर्द्धनको दश बर्षे अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेका थिए। त्यस्तै, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले अहिले देशैभरी स्थानीय तहहरुले सीपमुलक तालिम दिने होडबाजी चलाएको भए पनि तालिम प्राप्त गर्ने व्यक्तिहरुलाई श्रम बजारमा प्रवेश गराउन सहुलियतपूर्ण कर्जा लगायतका प्रवर्द्धनकारी कामहरु समेत अघि बढाउनु पर्ने जानकारी दिनु भयो।
उक्त गोष्ठीमा विज्ञहरुद्वारा आन्तरिक रोजगारी सृजना गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न, बजार र मागमा आधारित सीपमुलक तालिमहरुको पाठ्यक्रम, समयावधी लगायतका बिषयमा तीन वटा कार्यपत्रहरु प्रस्तुत भएको थियो।
सामाग्री श्रोत :
deshparadesh
सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मोरङ, सुनसरी, जारजरकोट लगायतका शाखामा स्टक रहेकोले छोटा समयमा नै उत्पादन सम्भव भएको सूचना अधिकारी नेपाल बताउँछन्। २०५६ सालदेखि सञ्चो उत्पादन गर्न थालेको उक्त कम्पनीको सन्चो स्वदेश तथा विदेशमा बढी लोकप्रिय भएको उक्त उत्पादनसँग निजी स्तरका कम्पनीहरु प्रतिस्पर्धामा जान सकेका छैनन् ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको स्टारशिप रकेट प्रक्षेपण परीक्षणको तयारीका क्रममा विस्फोट भएको छ । टेक्सासस्थित म्यासेज टेस्टिङ सेन्टरमा कम्पनीको दशौं उडान परीक्षणका लागि तयार पारिएको ‘शिप ३६’ नामक स्टारशिपमा ठुलो विस्फोट भएको हो ।
स्थानीय समयअनुसार राति करिब ११ बजे (नेपाली समयअनुसार बिहीबार बिहान करिब १०:४५ बजे) स्ट्याटिक फायर टेस्ट सुरु हुनुभन्दा ठीक अगाडि यो घटना भएको थियो । नासा स्पेसफ्लाइट (NASASpaceflight) का अनुसार रकेटमा इन्धन भर्ने प्रक्रिया सुरु भएको करिब ३० मिनेटपछि विस्फोट भएको थियो ।
विस्फोटपछि परीक्षण स्थलमा घण्टौंसम्म आगोको मुस्लो देखिएको थियो भने स्थानीय ब्राउनस्भिल फायर डिपार्टमेन्टका दमकलहरू घटनास्थल पुगेका थिए ।
घटनालगत्तै स्पेसएक्सले एक विज्ञप्ति जारी गर्दै अपरेसनका क्रममा सुरक्षा क्षेत्र कायम राखिएको र सबै कर्मचारीहरू सुरक्षित रहेको पुष्टि गरेको छ । कम्पनीले भनेको छ, “सबै कर्मचारी सुरक्षित छन् र उनीहरूको खोजी भइसकेको छ । स्टारबेस वरपरका बासिन्दाहरूलाई कुनै खतरा छैन ।”
On Wednesday, June 18 at approximately 11 p.m. CT, the Starship preparing for the tenth flight test experienced a major anomaly while on a test stand at Starbase. A safety clear area around the site was maintained throughout the operation and all personnel are safe and accounted…
— SpaceX (@SpaceX) June 19, 2025
कम्पनीले स्थानीय अधिकारीहरूसँग मिलेर परीक्षण स्थल र वरपरको क्षेत्रलाई सुरक्षित बनाउने काम गरिरहेको जनाएको छ । साथै, सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान पनि आग्रह गरेको छ ।
के हो स्ट्याटिक फायर टेस्ट ?
स्ट्याटिक फायर टेस्टमा रकेट इन्जिनलाई प्रक्षेपण माउन्टमा बाँधिएकै अवस्थामा केही सेकेन्डका लागि चलाएर परीक्षण गरिन्छ । यस क्रममा रकेटले उडान भर्दैन, तर इन्जिनको कार्यक्षमता जाँचिन्छ । शिप ३६ को विस्फोट यो परीक्षण सुरु हुनुअघि नै भएको हो । विस्फोटको कारण र परीक्षण स्थलमा भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।
यो पछिल्लो विस्फोटले स्पेसएक्सको परीक्षणमा देखिँदै आएका चुनौतीहरूलाई फेरि सतहमा ल्याएको छ । यसअघि सातौं, आठौं र नवौं स्टारशिप उडान परीक्षणका क्रममा पनि विस्फोटका घटना भएका थिए ।
दशौं उडान परीक्षणका लागि स्पेसएक्सको ‘भी टु’ (V2) डिजाइनको स्टारशिप प्रयोग गरिँदै थियो । कम्पनीका मालिक मस्कले यो डिजाइनले बढी इन्धन बोक्न सक्ने र बढी विश्वसनीय हुने बताएका थिए । कम्पनीले ‘भी थ्री’ नामक नयाँ डिजाइन पनि तयार गरिरहेको छ, जसबाट भविष्यमा हप्तामा एक पटकसम्म प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १५:७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– मलेसियामा आगामी आइतबारबाट सुरु हुने एसिसि मेन्स यु-१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा सुर्याशुं कोइराला रहेका छन्।
गत साता सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोलीको घोषणा गरिएको हो। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।
उक्त प्रतियोगिता जुन २२ देखि जुलाई ५ सम्म मलेसियामा हुनेछ ।हरेक समूहबाट बिजेता र उपबिजेता सेमिफाइनल प्रवेश गर्नेछन्। दुई सेमिफाइनलका बिजेताबीच ५ जुलाई(असार २१) मा फाइनल खेल हुनेछ।
विपिन प्रसाद शर्मा (कप्तान), सुर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष कोरियामा बिताएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन् ।
भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उनको भनाइ छ । आफूले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उनले जानकारी दिए ।
‘वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष कोरियामा बिताए’, कृषक थापाले भने, ‘त्यहाँ मेरो कमाइ राम्रै थियो, तर आफ्नै ठाउँमा कृषिमा उदाहरणीय बन्ने सोचले अहिले कृषि व्यवसायमा जुटेको छु ।’ खुर्सानीखेतीबाट वार्षिक आठदेखि १० लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको उनको भनाइ छ ।
गत वर्षको झै खुर्सानीले मूल्य पाएको खण्डमा लक्ष्यअनुसारको आम्दानी लिन समस्या नरहेको उनको भनाइ छ । युवामा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने सावित गर्न स्वदेश फर्केर कृषि कर्म रोजेको उनले बताए ।
‘हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौं’, उनले भने, ‘विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।’
व्यवसायमा लाग्ने कृषकलाई अनुदानमा रकमभन्दा पनि आधुनिक औजार तथा उपकरणमा राज्यले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । युवा विदेशिएको कारण गाउँघरका धेरै खेतीयोग्य जमिन बाझिँदै गएकाले यसको सदुपयोगमा राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए ।
आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए । राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उनको भनाइ छ ।
‘स्वेदशमा उद्यम गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ’, उनले भने, ‘पहुँचको भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले वास्तविक किसान मारमा परेको अवस्था पनि छ, यसमा सरोकारवाला पक्षले ध्यान दिन जरुरी देख्छु ।’
गत वर्ष परीक्षणको रुपमा लगाएको दुई हजार बोट खुर्सानीबाट तीन लाख आम्दानी गर्न सफल भएको उनले बताए । खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि यस वर्ष १० हजार बिरुवा रोपेको कृषक थापाको भनाइ छ ।
आगामी वर्ष यसलाई थप विस्तार गरेर ४० देखि ५० हजार बिरुवा विस्तार गर्ने सोच रहेको उनले बताए । कोरियामा त्यहाँको मलिकले बस्नु अनुरोध गर्दा पनि आफ्नै ठाउँमा कृषि कर्म गर्ने अठोटका साथ नेपाल फर्किएको उनको भनाइ छ । रासस
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । हालैको एक अनुसन्धानले एसएमएसमा आधारित टु-फ्याक्टर अथेन्टिकेसन (2FA) कोडहरू सुरक्षित नभएको देखाएको छ । ब्लुमबर्ग र लाइटहाउस रिपोर्ट नामक खोज पत्रकारिता समाचार संस्थाले एक लाखभन्दा बढी यस्ता कोडहरू विवादास्पद स्विस कम्पनी फिन्क टेलिकम सर्भिसमार्फत गएको खुलासा गरेपछि यो विषय चर्चामा आएको हो ।
प्रयोगकर्ताहरूको पहिचान पुष्टि गर्न र स्क्यामरहरूबाट खाताहरू जोगाउन टु-फ्याक्टर अथेन्टिकेसन कोड डिजाइन गरिएको भए पनि, यी कोडहरूको ह्यान्डलिङमा पारदर्शिताको अभावले सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । हामी सबैले सायद आफ्नो खातामा लगइन गर्ने प्रयास गर्दा टेक्स्ट मेसेजमार्फत पठाइएका प्रमाणीकरण कोडहरू प्राप्त गरिरहेका हुन्छौँ । तपाईँलाई यस्ता मेसेजहरू अकाउन्ट भएका कम्पनी वा वेबसाइटले सिधै ह्यान्डल गर्छन् भन्ने लाग्न सक्छ, तर ब्लुमबर्ग र लाइटहाउसको विश्लेषणअनुसार यो कुरा सधैँ सही नहुन पनि सक्छ ।
उनीहरूले मोबाइल सेवा क्षेत्रका एक विसलब्लोरबाट कम्तीमा १० लाख डेटा प्याकेट प्राप्त गरेका थिए, जसमा व्यक्तिगत प्रयोगकर्ताहरूले प्राप्त गरेका एसएमएसमा आधारित टु-फ्याक्टर अथेन्टिकेसन कोडहरू समावेश थिए । यी मेसेजहरू फिन्क टेलिकम सर्भिस नामक विवादास्पद स्विस कम्पनीमार्फत गएका थिए । ब्लुमबर्गले फिन्कलाई विवादास्पद भन्नुको कारण पनि छ । “कम्पनी र यसका संस्थापकले मोबाइल फोनको निगरानी र प्रयोगकर्ताको लोकेसन ट्य्राक गर्न सरकारी जासूसी एजेन्सी र सर्भिलेन्स इन्डस्ट्रीका ठेकेदारहरूसँग काम गरेका छन्,” ब्लुमबर्गको रिपोर्टमा भनिएको छ । साथै, साइबरसुरक्षा अनुसन्धानकर्ता र खोज पत्रकारहरूले निजी अनलाइन अकाउन्टहरूमा घुसपैठका धेरै घटनामा फिन्कको संलग्नता रहेको आरोप लगाउँदै रिपोर्टहरू प्रकाशित गरेका छन् ।
गुगल, मेटा, अमेजनजस्ता प्रमुख प्रविधि कम्पनी, विभिन्न युरोपेली बैङ्कहरू, टिन्डर र स्न्यापशटजस्ता एपहरू, साथै बाइनन्स क्रिप्टोकरेन्सी एक्स्चेन्ज र सिग्नल, ह्वाट्सएपजस्ता इन्क्रिप्टेड च्याट एपका कोडहरू समेत फिन्क टेलिकम सर्भिसमार्फत प्रवाहित भएका थिए । कम्पनीहरूले विवादास्पद प्रदायकलाई किन आफ्नो टु-फ्याक्टर अथेन्टिकेसन कोडहरू सुम्पिरहेका छन् भन्ने प्रश्न उठेको छ । यसको मुख्य कारण सुविधा र पैसा हो ।
बाह्य ठेकेदारहरूले कम्पनीहरू आफैँले भन्दा सस्तो र सजिलो तरिकाले यी टेक्स्ट मेसेजहरू ह्यान्डल गर्न सक्छन्, विशेष गरी जब विश्वभरका ग्राहकहरूसँग व्यवहार गर्नुपर्छ, जुन प्रक्रिया जटिल र महँगो हुन सक्छ । फिन्क टेलिकमजस्ता प्रदायकहरूको ‘ग्लोबल टाइटल’ मार्फत विभिन्न देशका क्यारियरहरूसँग सञ्चार गर्न सक्षम हुन्छन्, जसले गर्दा यो कम्पनी कुनै पनि ग्राहकको देशमा आधारित रहेको जस्तो देखिन्छ ।
लाइटहाउसको विश्लेषणअनुसार, फिन्कले नामिबिया, चेचन्या, यूके र आफ्नो देश स्विट्जरल्याण्डमा ग्लोबल टाइटलहरू प्रयोग गरेको पाइएको थियो । यस्ता मेसेजहरू आउटसोर्स गर्ने अभ्यास सुविधाजनक भए पनि, यसमा जोखिमहरू छन् । गत अप्रिलमा यूकेको दूरसञ्चार नियामक संस्था अफकमले मोबाइल फोन प्रयोगकर्ताहरूका लागि खतरा रहेको जनाउँदै यूके क्यारियरहरूका लागि ग्लोबल टाइटल लिजिङमा प्रतिबन्ध लगाएको थियो ।
ब्लुमबर्गसँगको कुराकानीमा फिन्क टेलिकमका सीईओ एन्ड्रियास फिन्कले भनेका छन्, “हाम्रो कम्पनीले पूर्वाधार र प्राविधिक सेवाहरू प्रदान गर्छ, जसमा सिग्नलिङ र राउटिङ क्षमताहरू समावेश छन् । हामी हाम्रा ग्राहकहरू वा तिनीहरूका डाउनस्ट्रिम साझेदारहरूद्वारा प्रसारित ट्राफिकको विश्लेषण वा हस्तक्षेप गर्दैनौँ ।” फिन्कले जेडडीनेटसँग थप एउटा विज्ञप्ति शेयर गर्दै भनेका छन्, “फिन्क टेलिकम सर्भिस जीएमबीएचले सधैँ अधिकारीहरूसँग पारदर्शी र सहयोगात्मक रूपमा काम गरेको छ। कानुनी राय र प्राविधिक दस्ताबेजहरूले कम्पनीको राउटिङ सेवा मापदण्डमा आधारित, अन्तर्राष्ट्रिय रूपमा नियमन गरिनुका साथै स्विस दूरसञ्चार कानून, निर्यात नियन्त्रण कानुन, वा प्रतिबन्ध कानुन अन्तर्गत स्वीकृति आवश्यक नपर्ने देखिएको छ । अधिकारीहरूलाई पनि कम्पनीले आफ्ना सेवाहरूको कुनै पनि दुरुपयोग नभएको जानकारी दिइएको थियो ।”
यता, आउटसोर्सिङ गर्ने कम्पनीहरूमध्ये गुगल, मेटा, सिग्नल र बाइनान्सले ब्लुमबर्गलाई आफूहरूले फिन्क टेलिकमसँग सिधै काम नगरेको बताएका छन् । गुगलले अकाउन्ट अथेन्टिकेट गर्नका लागि एसएमएसको प्रयोगबाट टाढिँदै गएको जनाएको छ भने सिग्नलले एसएमएस कमजोरीहरूबाट बच्ने उपायहरू दिइएको बताएको छ । मेटाका प्रवक्ताले ब्लुमबर्गलाई आफ्ना साझेदारहरूलाई फिन्क टेलिकमसँग संलग्न नहुन सचेत गराएको बताएका छन् ।
यो डेटा जोखिममा थियो वा थिएन भन्ने प्रश्न एकातर्फ छ, तर एसएमएसको सुरक्षा चुनौती भने यथावत् छ । एसएमएसमा उचित इन्क्रिप्सनको अभावका कारण यस्ता अथेन्टिकेसन कोड वा अन्य निजी जानकारी आदानप्रदानका सुरक्षित माध्यम कहिल्यै थिएनन् । यस कारण, सबै कम्पनीहरूले यसको प्रयोग बन्द गरेर अझ बलियो विधिहरू अपनाउनुपर्ने सुझाव दिइएको छ । यो भन्न जति सजिलो छ, गर्न त्यति सजिलो नभए पनि, यस जालबाट बच्न केही कदमहरू भने चाल्न सकिन्छ ।
एसएमएसका विकल्प
अनलाइन अकाउन्टका लागि टु-फ्याक्टर अथेन्टिकेसन सेटिङ गर्दा एसएमएसको विकल्प नछान्नुहोस् । यसको सट्टा, भौतिक सेक्युरिटी कि वा अझ सजिलो रूपमा माइक्रोसफ्ट अथेन्टिकेटर वा गुगल अथेन्टिकेटर जस्ता एपहरू प्रयोग गर्नुहोस् । यस्ता एपहरूमा देखिने कोडलाई तपाईँले लगइनका क्रममा वेबसाइट वा एपमा राख्नुपर्ने हुन्छ । यी कोडहरू हरेक ३० सेकेन्डमा परिवर्तन भइरहन्छन् र तपाईँको डिभाइसमै उत्पन्न हुने भएकाले, यो विधि एसएमएसभन्दा धेरै बलियो र चोरी रोक्न सक्षम हुन्छ ।
अनलाइन अकाउन्टहरू सुरक्षित गर्ने अर्को तरिका भनेको पासकी (Passkeys) को प्रयोग हो । यसको फाइदा भनेको पासकीले पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसन कोडहरूको आवश्यकतालाई पनि हटाउँछ अथवा कम्तीमा कम गर्छ । यद्यपि, यसको सपोर्ट हाल सीमित मात्रामा मात्रै उपलब्ध छ । तर, यदि कुनै कम्पनी वा वेबसाइटले पासकीको विकल्प दिइरहेका छन् भने, यो तपाईँले आफ्नो अकाउन्ट प्रमाणीकरणका लागि सरल र सुरक्षित तरिको रूपमा यसलाई प्रयोग गर्न सक्नु हुन्छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १३:३४
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीको एक भीडले न्युयोर्कको सडकमा मार्चपास गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन्।
यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए। तर न्युयोर्क प्रहरीले उनीहरुलाई इजरायली वाणिज्य दूतावास पुग्नुअघि नै रोकेको छ।
यो प्रदर्शन प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – इजरायलको अस्पतालमा इरानले आक्रमण गरेको छ। इरानले दक्षिण इजरायलको बेर्सेबा शहरमा रहेको सोरोका अस्पतालमा सोझै प्रहार गरेको इजरायली सैन्य अधिकारीले पुष्टि गरेका छन्।
इजरायली अधिकारीहरूका अनुसार सोरोका अस्पतालमा इरानले प्रहार गरेको बलिस्टिक मिसाइल आक्रमण भएको हो।
इजरायल र इरानबीचको आक्रमण एक सातादेखि जारी छ। इजरायली सैन्य अधिकारीका अनुसार इरानले आज इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको हो। जसले थुप्रै नागरिकलाई क्षति पुर्याएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका समाचारहरुले अस्पतालमा आक्रमण भएको विषय उल्लेख गर्दै सामाजिक सञ्जालमा आइरहेका केही अपुष्ट भिडियो फुटेजहरू र त्यसका विवरण समेत राखिरहेका छन्। धुलो र भग्नावशेषले भरिएका अस्पतालका करिडोरमा मानिसहरू भाग्दै गरेको र चिकित्सकहरू भवनको भग्नावशेषबाहिर उभिएको भिडियो फुटेजका विवरणहरु बाहिर आइरहेका छन्।
‘दक्षिणी इजरायलको बेर्सेबामा रहेको सोरोका अस्पतालमा प्रत्यक्ष आक्रमण भएको खबर छ। थप विवरण आउन बाँकी छ,’ इजरायलको विदेश मन्त्रालयले एक्समा पोस्ट गरेको छ।
अस्पतालका प्रवक्ताले अस्पतालमा क्षति पुगेको र विभिन्न क्षेत्रमा व्यापक क्षति भएको प्रतिक्रिया दिएको गार्जियनले उल्लेख गरेको छ। ‘हामी हाल क्षति र घाइतेहरूको मूल्याङ्कन गर्दैछौँ। जनतासमक्ष अहिले अस्पताल नआउन अनुरोध गर्छौ’, प्रवक्ताले भनेको भनाई गार्जियनले उल्लेख गरेको छ।
यसअघि देशभर साइरन बजेका थिए र इजरायली सञ्चारमाध्यमले मध्य इजरायलमा धेरै ठूला विस्फोटका आवाज सुनिएको र अन्य केही स्थानमा पनि प्रत्यक्ष आक्रमण भएको जनाएका छन्। तेल अविव र जेरुसेलममा पनि विस्फोटका आवाज सुनिएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
दिनहुँ अङ्कहरूका लहरको रूपमा रहेका मोबाइल नम्बरसँग प्रायः हामी सबैजसो अभिन्न रूपले जोडिएका छौँ । जो आजको डिजिटल युगमा हाम्रो पहिचान, सम्पर्क, बैङ्किङ, व्यवसाय र सुरक्षा सबैसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील संसाधनको रूपमा रहेका छन् । मोबाइल नम्बरको प्रयोग दिनानुदिन बढ्दो छ, तर कहिल्यै तपाईँले कल्पना गर्नु भएको छ त – देशभर कति मोबाइल नम्बर बाँडिएका छन् ? अब कति बाँकी छन् ? के कुनै दिन मोबाइल नम्बरको अभाव हुने अवस्था आउने पो हो कि ?
यी प्रश्नको उत्तर खोज्न हामीले मोबाइल नम्बरको संरचना, वितरण प्रणाली र नियमनकारी निकायको कार्यशैली बुझ्नुपर्छ । मोबाइल नम्बर केवल सेवा प्रदायकले दिने एउटा सुविधा मात्र होइन, यो एक किसिमको राष्ट्रिय संसाधन पनि हो, जसको सीमितता र भविष्यमा देखिन सक्ने चुनौतीबारे पनि सोच्नुपर्ने हुन सक्छ ।
नेपालमा मोबाइल सेवाको सुरुवातदेखि अहिलेसम्म, नेपाल टेलिकम र एनसेल मुख्य दुई सेवा प्रदायकका रूपमा सञ्चालनमा छन् । ती दुबैले करोडौँ मोबाइल नम्बर जारी गरिसकेका छन् र अझै थुप्रै बाँकी पनि छन् । यद्यपि, केही वर्षअघि मोबाइल नम्बरको रि-साइक्लिङ प्रक्रिया रोकिएको, निष्क्रिय नम्बरहरू बढ्दै गएको, र डिजिटल केवाईसी प्रणाली कार्यान्वयनमा ढिलाइ भइरहेका कारण त्यसको दीर्घकालीन व्यवस्थापनको सवाल छ ।
यस लेखमा, मोबाइल नम्बरको संरचना तथा बनोट, त्यसको वितरण प्रक्रिया, हालको उपलब्ध सङ्ख्या, बाँकी रहेको क्षमता, तथा सम्भावित चुनौती र समाधानबारे विश्लेषण गरिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको प्रणाली
मोबाइल नम्बरहरू विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) को E.164 नामक रेकमन्डेसन अनुसार व्यवस्थापन गरिन्छ । यो मापदण्डले नम्बरको ढाँचा कस्तो हुनुपर्छ भन्ने कुरा तोकेको छ । यसअनुसार, नम्बरको सुरुमा कन्ट्री कोड हुन्छ, जुन एकदेखि तीन अङ्कसम्मको हुन सक्छ । उदाहरणका लागि, अमेरिकाको कन्ट्री कोड १ अङ्कको छ भने नेपालको ९७७ गरी तीन अङ्कको छ । कन्ट्री कोड पछिका नम्बरहरू भने हरेक देशले आफ्नै तरिकाले राष्ट्रिय स्तरमा वितरण गर्न सक्छन् । नेपालमा यस किसिमको काम नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गर्दै आएको छ ।
मोबाइल नम्बरको अधिकतम लम्बाइ १५ अङ्कसम्म हुन सक्छ, जसमा कन्ट्री कोड पनि समावेश हुन्छ । नेपालको सन्दर्भमा, कन्ट्री कोड ९७७ पछि १२ ओटा अङ्क वितरण गर्न सकिने क्षमता छ । जनसङ्ख्या र वितरण प्रणाली जस्ता मुख्य मापदण्डका आधारमा कन्ट्री कोडको लम्बाइ निर्धारण गरिएको हुन्छ, जस्तै बढी जनसङ्ख्या भएका देशहरूलाई छोटो कन्ट्री कोड दिइएको हुन सक्छ ताकि त्यस्ता देशहरूले बढीभन्दा बढी नम्बर वितरण गर्न सकून् ।
नेपाली मोबाइल नम्बरको संरचना
अब नेपालमा हाल प्रयोगमा रहेका १० अङ्क (कन्ट्री कोडसहित १३ अङ्क) का मोबाइल नम्बरहरूको संरचनाको कुरा गरौँ । ९७७ नेपालको लागि तोकिएको कन्ट्री कोड हो । कन्ट्री कोड पछिको अङ्क (जस्तै ९८, ९७) ले सर्भिस कोड अर्थात् सेवाको प्रकारलाई जनाउँछ । नेपालमा मोबाइल सेवाका लागि ९८ वा ९७ बाट सुरु हुने नम्बरहरू प्रयोगमा छन् । यसमा रहेको ‘९’ अङ्क दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको लागि तोकेको हो । यद्यपि, विश्वव्यापी रूपमा सबै मोबाइल नम्बरहरू ९ बाट नै सुरु हुनुपर्छ भन्ने छैन; नेपालले यो मापदण्ड पछ्याएको मात्र हो ।
सर्भिस कोडपछिको अङ्क (जस्तै ९८-४, ९८-०) अपरेटर कोड अर्थात् सेवा प्रदायकलाई जनाउने कोड हो । यस्तो कोडले कुन सेवा प्रदायकको नम्बर हो भन्ने छुट्याउँछ । उदाहरणका लागि, ९८ र ९७ पछिका ४, ५, ६ नेपाल टेलिकमका लागि छुट्याइएका कोड हुन् । त्यसैगरी, एनसेलका लागि ९८ पछि ०, १, २ र ९७ पछि ० तोकिएका छन् ।
अपरेटर कोडपछि मात्र ग्राहक नम्बर छुट्टिन्छ, जुन सात अङ्कको हुन्छ । यस्ता अङ्कहरू ग्राहकलाई व्यक्तिगत रूपमा चिनाउन प्रयोग हुन्छन् । सेवाप्रदायकहरूले यी नम्बरहरूको वितरण आफैँ गर्छन् ।
वर्तमान क्षमता र भविष्यको आकलन
हाल नेपालमा मोबाइल नम्बरहरू पर्याप्त मात्रामा उपलब्ध रहेको देखिन्छ । प्रत्येक अपरेटर कोड ब्लकले झन्डै १ करोड नम्बरको क्षमता राख्छ । जस्तै नेपाल टेलिकमको ९८४ बाट सुरु हुने नम्बरहरूको सङ्ख्या करिब एक करोड हुन्छ । यस आधारमा, नेपाल टेलिकमसँग रहेका ६ ओटा अपरेटर कोडमा एक एक करोड गरी करिब कूल ६ करोड नम्बरको क्षमता छ भने एनसेलसँग करिब ४ करोड नम्बरको क्षमता रहेको छ । नियामक प्राधिकरणले कुन सेवा प्रदायकलाई के-कति अपरेटर कोड उपलब्ध गराउने भन्ने तय गर्छ ।
हाल मासिक करिब ४/५ लाख जति नयाँ मोबाइल नम्बर जारी भइरहेका हुन्छन् । यसरी हेर्दा वर्षको ५०/६० लाख नयाँ मोबाइल नम्बर वितरण भइरहेका छन् ।
हाल प्रयोगमा नरहेका अपरेटर कोड ब्लकहरूमा पनि करोडौँ नम्बरहरू उपलब्ध छन् । ९८ र ९७ सिरिजमै क्रमशः करिब ४ करोड र करिब ६ करोड गरी करिब १० करोड थप नम्बरहरू बाँकी छन् । यस बाहेक नेपालको मोबाइल सर्भिस कोड (९) मै ९०, ९१, ९२, ९३, ९४, ९५, ९६, ९९ प्रयोगमै आएका छैनन् । यसमध्ये ९६ स्मार्ट टेलिकमले प्रयोग गरेको भए पनि अहिले कम्पनी बन्द भइसकेकाले सो सिरिज पनि खाली नै छ ।
यसले गर्दा नेपालमा तत्काल १० अङ्कको मोबाइल नम्बरमा क्षमताको अभाव छैन । भविष्यमा जनसङ्ख्या वृद्धि भएर वा अन्य कारणले नम्बरको आवश्यकता बढेमा, १० अङ्कको सट्टा ११ अङ्कमा विस्तार गर्न सकिने अर्को विकल्प पनि छ । तर अहिले यसको आवश्यकता देखिएको छैन ।
उसो भए किन जरुरी छ मोबाइल नम्बर रि-साइक्लिङ ?
नम्बरको कुशल व्यवस्थापनका लागि रि-साइक्लिङ महत्त्वपूर्ण हुन्छ । प्रयोग विहीन वा निष्क्रिय भएका नम्बरहरूलाई निश्चित समयपछि पुनः वितरणका लागि उपलब्ध गराउने कार्य नै रि-साइक्लिङ हो । यसले नम्बरको लम्बाइ बढाउनु पर्ने अवस्था आउँदैन र लामो नहुने भएकाले ग्राहकलाई नम्बर सम्झन पनि सजिलो हुन्छ । तर, अदालतको अन्तरिम आदेशका कारण रि-साइक्लिङ प्रक्रिया रोकिएको छ। यसले गर्दा अपरेटरहरूलाई नयाँ ग्राहकका लागि थप नम्बरहरू उपलब्ध गराउनुपर्ने अवस्था सिर्जना भएको छ । नम्बर रि-साइक्लिङ नहुँदा नयाँ नम्बरको माग बढ्छ र यसले भविष्यमा नम्बरको लम्बाइ बढाउनुपर्ने जोखिम समेत निम्त्याउन सक्छ ।
मोबाइल नम्बरको दुरुपयोग र ग्राहक पहिचानको समस्या पनि एक प्रमुख चुनौती हो । धेरै व्यक्तिका नाममा एकभन्दा बढी सिमकार्डहरू दर्ता भएका, निष्क्रिय सिमकार्डहरू बजारमा रहेका र सिमकार्ड लिएर प्रयोग नगरी फालिएका कारण नम्बरहरू खेर गइरहेका छन् । यसले गर्दा नम्बरको लम्बाइ बढ्ने सम्भावना रहन्छ, जुन दीर्घकालमा सबैका लागि असुविधाजनक हुन्छ।
डिजिटल केवाईसी र राष्ट्रिय परिचयपत्र
यी चुनौतीहरूको समाधानका लागि अबको मुख्य प्राथमिकता भनेको मोबाइल नम्बरलाई राष्ट्रिय परिचयपत्र (NID) सँग आबद्ध गर्नु हो । नेपालमा एनआईडी कार्यान्वयनमा ढिलाइ भएकोले मोबाइल नम्बर नै एक प्रकारको युनिक आइडेन्टिफायर जस्तो बनेको छ । भविष्यमा, नयाँ सिमकार्ड लिनका लागि अनिवार्य रूपमा एनआईडी आवश्यक पर्नेछ । यसले गर्दा हरेक सिमकार्ड आधिकारिक वा सम्बन्धित व्यक्तिको नाममा मात्र दर्ता हुनेछ र नम्बरको दुरुपयोग रोकिनेछ ।
यसका साथै, डिजिटल केवाईसी (नो योर कस्टमर) को अवधारणालाई पनि अगाडि बढाइएको छ । यसअन्तर्गत, ग्राहकले आफ्नो बायोमेट्रिक विवरण सेवाप्रदायकमा गएर पुष्टि गर्नुपर्ने हुन्छ । जुन राष्ट्रिय परिचयपत्रको डेटासँग सिंक्रोनाइज हुनेछ । यसले बैङ्किङ लगायतका संवेदनशील सेवाहरूमा मोबाइल नम्बरको प्रयोगलाई अझ सुरक्षित बनाउनेछ ।
(नेपाल दूरसञ्चार प्राधिकरणका उप-निर्देशक तथा सहायक प्रवक्ता डा प्रदीप पौड्यालसँगको कुराकानीमा आधारित)
पछिल्लो अध्यावधिक: असार ५, २०८२ १२:५८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।
प्रहरीका अनुसार पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रूपैयाँ लिएका थिए। त्यसपछि दुवैजना फरार भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ