
इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।

गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीन तले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो।
घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा सारिएको छ। विष्फोटका कारण भएको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ।
ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्।
सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले बताएकी हुन्।
एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा राणाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जानकारी दिएको हो।
मन्त्री डा राणाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ।
सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहेको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले बताइन्।
“यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु। उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ। यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ”, मन्त्री डा देउवालाई उद्धृत गर्दै उनको सचिवालले भनेको छ।
श्रोत: dcnepal.com
काठमाडौँ – भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाट निष्कासन गर्ने निर्णय फिर्ता लिएको छ।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको थियो।
चौतर्फी विरोधपछि विश्वविद्यालयले सोमबार साँझ सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई फिर्ता भएर अध्ययन सुचारु गर्न अपील गरेको हो।
‘केआइआइटी प्रशासनले शैक्षिक गतिविधिहरू सुचारु गर्न क्याम्पस र छात्रावासमा सामान्य अवस्था ल्याउन प्रयास गरिरहेको छ। क्याम्पस छाड्ने वा योजना बनाएका हाम्रा सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षाहरू सुचारु गर्न अपिल गरिन्छ,’ विश्वविद्यालयले भनेको छ।
साथै विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकरणसँग जोडिएका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको पनि जानकारी गराएको छ।
केआइआइटीले नेपाली विद्यार्थीहरूमाथि दमन गरेर निष्कासन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।
भारतस्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गरी प्रकृति लम्सालको मृत्युसम्बन्धमा निष्पक्ष छानबिन गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारतको केन्द्र सरकार, राज्य सरकार र विश्वविद्यालय प्रशासनसँग निरन्तर संवाद भइरहेको बताएको थियो।
प्रकृति लम्सालको न्यायका लागि भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बिरहरू)
नयाँ ऊर्जा सवारी निर्माता बिवाइडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ।

डिपाईलट ६००, डिपाईलट ३००, र डिपाईलट १०० सहितको यो सिस्टमले सबै ग्राहकका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बीवाईडीको प्रतिबद्धता देखाउँछ। यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउनेछ।
बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ। सबैभन्दा कम मुल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९,५५५ डलर मात्र रहेको छ।
कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीमा मात्र उपलब्ध हुने गथ्र्यो। तर बीवाईडी ले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउँदै छ। बी.वाई.डी का सिईओ वाङ छुवान्फुले ले भनेका छन्, “राम्रो प्रविधिमा सबैको पहुँचमा हुनुपर्छ। डिपाईलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ। डिपाईलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ। डिपाईलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ ।’
त्यस्तै, डिपाईलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ।
विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा 5R12V सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम, र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ। यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधा प्रदान गर्छ। राजमार्ग र शहरी एक्सप्रेसवेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाईलट प्रणालीले नेभिगेसन मार्ग पछ्याएर र्याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफै लेन परिवर्तन गर्ने, र केही अवरोधहरू छलेर अगाडि बढ्नेजस्ता काम पूरा गर्न सक्छ।
यसका साथै, अटोमेटेड भ्याले पार्किङ प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ। यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिहरूअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ।
उडिसा। भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ। एक जना नेपाली विद्यार्थीको हत्या भए पछि नेपाली विद्यार्थी माथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ।
केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ, यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ।’
शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको हो।’
केआईआईटीले थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ भइरहेकोसमेत जनाएको छ।
आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन्। उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थी माथी धरपकड गरिएको थियो।
सो घटनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले पनि चासो व्यक्त गरेकी थिइन् ।
श्रोत: www.dcnepal.com

काठमाडौं । भारतको ओडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ।
यस घटनापछि केआईआईटीले सयौं नेपाली विद्यार्थीलाई कलेज छोड्न निर्देशन दिएको थियो, जसको कारण उनीहरू रेल स्टेसनमा विजोग अवस्थामा रहेका थिए। तर, विश्वविद्यालयले पछिल्लो सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पस नछोड्न र कक्षामा फर्किन आग्रह गरेको छ।
केआईआईटीका अनुसार, मृतक छात्रा प्रकृति लम्सालको प्रेमीलाई प्रहरीले उत्पीडनको आरोपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। प्रकृतिका साथीहरूले उनका प्रेमी अद्विक श्रीवास्तवले तीन वर्षको सम्बन्धमा प्रकृतिलाई शारीरिक र मानसिक यातना दिएको आरोप लगाएका छन् र उनीहरू न्यायको माग गरिरहेका छन्।
प्रकृतिले यो अवधिमा निरन्तर उत्पीडन सहनु परेको थियो। यसैबीच, शवलाई क्यापिटल अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ र प्रकृतिका अभिभावकहरूलाई यस घटनाबारे जानकारी गराइएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
सिङ्गापुरका विपक्षी दलका नेतालाई संसद्मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ।

सिङुगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको हो।
केही महिनाभित्रै हुने चुनावमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पिएपी) को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेको बेला यो सजाय आएको हो। पिएपीले सन् १९५९ देखि धनी शहर–राज्यमा शासन गर्दै आएको छ।
सिंहले समितिलाई भनेको कुरा विपरीत सांसद रईसाह खानलाई संसद्मा आफ्नो झूटलाई ढाकछोप गर्न भनिए पनि सिकाए अनुसार ‘बनाउटी कुरा’ गर्दै गर्दा उनी चुकेको देखिएको जिल्ला अदालतका न्यायाधीश ल्यूक टानले बताए।
न्यायाधीशले खानको बयानलाई उद्धृत गर्दै भने, “सिंहले खानलाई बैठकको क्रममा आफ्नो दावीलाई बास्तविक प्रमाणित गर्न’ हदैसम्म्को अभिनय गर्न भनेको रहेछन् तर खानले सिंहले भनेजस्तो गर्न सकेनन्। ”
अदालत बाहिर पत्रकारहरूसँग बोल्दै आफूलाई राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्ताधारी मान्छेहरूले फसाएको बताउँदै सिंहले भने, “मसँग भएको सल्लाह र मलाई शुभेच्छुकहरूले दिएको सल्लाहको आधारमा म आम चुनावमा भाग लिनेछु।”
उनले भने, “मलाई कानुन एकदम स्पष्ट छ भनेर सल्लाह दिइएको छ। निर्वाचन विभागले पछि विज्ञप्ति जारी गर्नेछ भन्ने मैले बुझेको छु।”
उनले भने, “यो चुनाव सजिलो हुनेवाला छैन। हामीले कडा सङ्घर्ष गर्नु पर्नेछ र हामी त्यही गर्नेछौँ।”
सिंहलाई प्रत्येक अभियोगमा सात हजार सिंगापुर डलर जरिवाना गरिएको अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताए।
सिंहले भने, “विपक्षी राजनीति रोज्ने बाटो कमजोर मन भएकाहरूका लागि होइन।”
संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (सात हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ।
“प्रतिआरोप १० हजार अमेरिकी डलर जरिवानाको सीमा ननाघेकाले उहाँ निर्वाचनमा जान अयोग्य ठहरिनुहुने छैन,” सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक यूजीन टानले एएफपीसँग भन्नुभयो।
यस प्रकरणपछि विधायिकाबाट राजीनामा दिएकी रईसा खानले आफूसँगै आएकी एक महिला बलात्कार पीडितको बारेमा संसद्मा सुनाएको कथा तयार पारेको स्वीकारेकी थिइन्।
पूर्व सांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झूट बोलेको स्वीकारेका बताए।
त्यसपछि सिंहमाथि खानको बयानबारे छानबिन गर्ने संसदीय समितिसमक्ष झूट बोलेको आरोप लागेको थियो।
उनले पार्टी नेताको रूपमा आफ्नो जिम्मेवारीलाई कम आँक्ने प्रयासमा खानले बलात्कार पीडितको बारेमा कथा बनाएको बारे आफूलाई थाहा नभएको समितिलाई बताएका थिए।
तर न्यायाधीशले साक्षीको रूपमा सिंहको विश्वसनीयतालाई तोडिदिएका छन्। सन् २०२० को आम चुनावमा पीएपीले आफ्नो प्रभुत्व कायम राख्न ९३ मध्ये ८३ सिट जितेको थियो।
प्रमुख विपक्षी वर्कर्स पार्टीले सन् १९६५ मा स्वतन्त्र भएयताको सबैभन्दा बलियो प्रदर्शन गर्दै १० सिट जितेको थियो।
यसका नेताहरूले आगामी चुनावमा संसद्मा पार्टीको संख्या अझ बढाउने आशा व्यक्त गरेका छन्। यो चुनौति नयाँ प्रधानमन्त्री लरेन्स वोङको पहिलो ठूलो राजनीतिक परीक्षा हुनेछ।
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ।
सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। फागुन ४ गतेको बैठकमा गणपुरक सङ्ख्याको अभावमा यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन।
यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ का सम्बन्धमा सन्देशसहितको विधेयक टेबुल भएको छ। प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन्।
त्यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आव २०८०/८१) ’ पेस गरेका छन्।
श्रोत: www.dcnepal.com
काठमाडौं- सभामुख देवराज घिमिरिले बोल्न नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रतिनिधसभाको बैठक बहिष्कार गरेकी छन्।

पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले आकस्मिक समयमा बोल्नका लागि समय माग गरेकी थिइन्। तर सभामुख घिमिरेले उनलाई बोल्न समय दिएनन्।
बैठकको सुरुमै श्रेष्ठ बोल्न खोजेकी थिइन्। तर घिमिरेले पछि समय दिने भन्दै अन्य सांसदलाई बोल्नका लागि समय दिएका थिए।
अन्तिममा श्रेष्ठलाई बोल्न नदिएर घिमिरेले सून्य समयको कार्य प्रारम्भ गरेपछि श्रेष्ठले फेरि बोल्न पाउनुपर्ने भन्दै समय माग गरेपनि उनले समय नदिएको भन्दै श्रेष्ठलाई बोल्न दिएनन्।
त्यसपछि रिसाएकी सांसद श्रेष्ठले बैठक बहिष्कार गरेकी छिन्। उनले संसद् बैठक बहिष्कार गर्दै संसद्बाट बाहिरिएकी छन्।
थप तस्बिरहरू:
मुम्मइ। भारतको महाराष्ट्रको सातारामा एक विद्यार्थीले परीक्षा केन्द्रमा पुगेर अनौठो तरिका अपनाएका छन्। वाइ तालुकको पसरनी गाउँका विद्यार्थी समर्थ महंगडेले परीक्षा केन्द्रसम्म पुग्न प्याराग्लाइडिङ प्रयोगको अनौठो तरिका अपनाए पछि उनी भाइरल भएका छन्।
भारतीय मिडियाका अनुसार समर्थ महङ्दे परीक्षा दिन कलेज जानुपरेको थियो र परीक्षा आउन १५ देखि २० मिनेट मात्र बाँकी थियो। यस्तो अवस्थामा उनले प्याराग्लाइडिङको नयाँ विधि अपनाएका हुन्।
सञ्चारमाध्यममा दिइएको जानकारी अनुसार समर्थ महङ्देले सहरमा चर्को ट्राफिक जामबाट बच्नका लागि यो कदम चालेका हुन्। परीक्षा आउन थोरै समय बाँकी रहेकाले त्यसको राम्रो विकल्प देख्न सकेनन्। वाई पाँचगनी सडकको पसरनी घाटमा भीडभाड हुन नदिन प्याराग्लाइडिङ गरेर परीक्षा केन्द्रमा पुगेका हुन्। उनी झोला बोकेर प्याराग्लाइडिङ स्कुलमा प्रवेश गरे पछि सबै अचम्मित भएका थिए।
तर, उनले आफ्नो टोलीको सहयोगमा यो सम्पूर्ण उपलब्धि हासिल गरेका हुन्। उनको साथमा प्याराग्लाइडिङका अनुभवी प्रशिक्षकहरूले पूर्ण निगरानीमा राखेका थिए र समर्थ सुको सकुशल आफ्नो परीक्षास्थलमा पुगेका थिए। यस अवधिमा समर्थले प्याराग्लाइडिङका लागि आवश्यक सबै कपडा र अन्य उपकरण लगाएका थिए।
समाचार अनुसार परीक्षाको दिन समर्थ कुनै कामको लागि पाँचगनीमा थिए, त्यहाँबाट परीक्षा दिन जानुपर्यो तर पछि ट्राफिकका कारण परीक्षाका लागि समयमै केन्द्रमा पुग्न नसक्ने थाहा भयो। त्यसपछि उनले प्याराग्लाइडिङ रुट अपनाउने निर्णय गरे । हामी तपाईलाई भनौं कि सातारा पश्चिमी महाराष्ट्रमा अवस्थित छ र प्याराग्लाइडिङ गतिविधिहरूको लागि एक धेरै लोकप्रिय स्थान हो।
पाँचगनीस्थित जीपी एडभेन्चरका खेलकुद विज्ञ गोविन्द येवलेले समर्थका लागि यो कदमको योजना बनाएका हुन् र उनलाई ठीक समयमा कलेजसम्म पुराएका थिए । उनले आफ्नो टोलीको सहयोगमा ट्राफिक र भीडभाड हुने ठाउँमा उड्ने व्यवस्था मिलाउन मद्दत गरेका थिए । अनुभवी प्याराग्लाइडिङ प्रशिक्षकको निगरानीमा समर्थ आफ्नो परीक्षा स्थलमा सुरक्षित र समयमै पुगेको भारतीय समाचार माध्यमले जनाएका छन्।
यो पूरै घटना इन्स्टाग्राम ह्यान्डल ‘Insta_satara’ बाट सेयर गरिएको छ।
श्रोत: www.dcnepal.com