काठमाडौँ । भिडिओ शेयरिङ प्लेटफर्म युट्युबले आफ्नो १० वर्ष पुरानो र चर्चित ‘ट्रेन्डिङ’ पेज बन्द गरेको छ । सोमबार (२१ जुलाई) देखि प्रयोगकर्ताले यो सेक्सन देख्ने छैनन् । कम्पनीका अनुसार प्रयोगकर्ताहरूको भिडिओ हेर्ने बानीमा आएको परिवर्तन र ट्रेन्डिङ पेजमा घट्दो भिजिटका कारण यो निर्णय लिइएको हो ।

सन् २०१५ मा सुरु भएको ट्रेन्डिङ पेजले प्रयोगकर्ताहरूलाई युट्युब र विश्वभर के भाइरल भइरहेको छ भन्ने कुराको जानकारी दिन्थ्यो । यसमा म्युजिक, गेमिङ, मुभी जस्ता विभिन्न विधाका भिडिओ समावेश हुन्थे । तर, आजकल प्रयोगकर्ताहरूले ‘ट्रेन्डिङ’ पेजबाट भन्दा पनि व्यक्तिगत सुझाव (personalized recommendations), सर्च, युट्युब शर्ट्स र कमेन्टजस्ता माध्यमबाट नयाँ र भाइरल कन्टेन्ट पत्ता लगाइरहेका छन् ।
युट्युबले एक ब्लग पोस्टमा भनेको छ, “पछिल्ला पाँच वर्षमा ट्रेन्डिङ पेजमा आउने प्रयोगकर्ताको संख्यामा उल्लेख्य कमी आएको छ ।” कम्पनीका अनुसार पहिले एउटै सूचीमा भाइरल भिडिओ देखाउन सहज थियो, तर अहिले विभिन्न कम्युनिटीमाझ अनेकौं ‘माइक्रो-ट्रेन्ड’ हरू देखा पर्ने भएकाले एउटै पेजले सबै लोकप्रिय सामग्री समेट्न सक्दैन । यही कारण युट्युबले ट्रेन्डिङ पेजलाई बिदा दिँदै नयाँ तरिकाबाट भाइरल सामग्री देखाउने योजना अघि सारेको हो ।
अब विकल्प के ?

ट्रेन्डिङ पेज हटे पनि युट्युबले प्रयोगकर्तालाई लोकप्रिय सामग्रीसम्म पुग्न नयाँ तरिकाहरू उपलब्ध गराउनेछ । अब ‘युट्युब चार्ट्स’ (YouTube Charts) अन्तर्गत विभिन्न विधाका लोकप्रिय सामग्री हेर्न सकिनेछ ।
सुरुवातमा यसमा ट्रेन्डिङ म्युजिक भिडिओहरू, साप्ताहिक शीर्ष पोडकास्टहरू र ट्रेन्डिङ चलचित्रका ट्रेलरहरू हेर्न सकिनेछ । युट्युबले भविष्यमा मनोरञ्जन, भ्लगजस्ता थप विधा पनि समावेश गर्ने योजना बनाएको छ । गेमिङका पारखीहरूका लागि ‘गेमिङ एक्सप्लोर पेज’ मा छुट्टै ट्रेन्डिङ सामग्री उपलब्ध हुनेछ ।
कन्टेन्ट क्रिएटरलाई कस्तो असर पर्छ ?
ट्रेन्डिङ पेज धेरै कन्टेन्ट क्रिएटरहरूका लागि भाइरल विषय पत्ता लगाउने र त्यसमा भिडिओ बनाएर धेरै दर्शक तथा आम्दानी कमाउने महत्त्वपूर्ण माध्यम थियो । विशेषगरी नयाँ युट्युबरहरूका लागि यो आफ्नो पहिचान बनाउने अवसर थियो ।
अब ट्रेन्डिङ पेज बन्द हुँदा क्रिएटरलाई भाइरल विषय पत्ता लगाउन केही कठिनाइ हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि, युट्युबले यसको समाधान पनि ल्याएको छ ।
क्रिएटरहरूले अब ‘युट्युब स्टुडियो’ को ‘इन्स्पिरेसन ट्याब’ (Inspiration tab) मा व्यक्तिगत रूपमा सुझाव गरिएका कन्टेन्ट आइडिया पाउनेछन्, जसले उनीहरूलाई नयाँ ट्रेन्ड बुझ्न र सोही अनुसार सामग्री योजना बनाउन मद्दत गर्नेछ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १३:२
सामाग्री श्रोत :
टेक पाना