काठमाडौँ । माइक्रोसफ्ट अथेन्टिकेटरले मल्टी-फ्याक्टर अथेन्टिकेसन (एमएफए) प्रयोग गरी तपाईँका अनलाइन अकाउन्ट सुरक्षित राख्न र लगइन सजिलो बनाउँछ । निःशुल्क रूपमा उपलब्ध यो सुविधा प्रयोग गर्न तपाईँलाई माइक्रोसफ्ट अकाउन्ट पनि चाहिँदैन । यद्यपि तपाईँले यसमा साइन इन गर्नु भयो भने पासवर्ड म्यानेजरमा समेत पहुँच पाउन सक्नु हुन्छ ।

अनलाइन गोपनीयताका लागि यो एउटा राम्रो टुल (उपकरण) हो, खासगरी माइक्रोसफ्ट प्रयोगकर्ताहरूका लागि । माइक्रोसफ्टको यो अथेन्टिकेटर एप ओपनसोर्स हुनुका साथै डेस्कटपका लागि यसको ब्राउजर एक्सटेन्सन समेत उपलब्ध छ ।
कसरी प्रयोग गर्ने ?
माइक्रोसफ्ट अथेन्टिकेटर एन्ड्रोइड (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्) र आईओएस डिभाइसहरूका लागि (यहाँ क्लिक गर्नुहोस्) उपलब्ध छ । यसले डेस्कटपलाई भने सपोर्ट गर्दैन । तर यसले विकल्पको रूपमा ब्राउजर एक्स्टेन्सनलाई भने उपलब्ध गराएको छ । जुन डेस्कटपमा समेत प्रयोग गर्न सकिन्छ ।

यो एपमा मल्टिफ्याक्टर अथेन्टिकेसन कोड तयार पार्न तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउने वा साइन इन गर्ने झन्झट पनि पर्दैन । जुन यसको एउटा अर्को राम्रो पक्ष हो । अथेन्टिकेसनका लागि केवल टोकन जेनेरेसन आवश्यक पर्छ, जुन त्यति जटिल प्रक्रिया होइन । त्यसैले तपाईँ ईमेल एड्रेस, फोन नम्बर वा अन्य व्यक्तिगत जानकारी बिना नै यो एपको आधारभूत सुविधा प्रयोग गर्न सक्नु हुन्छ । यद्यपि यसको आइडेन्टिटी र पासवर्ड म्यानेजमेन्ट सुविधा प्रयोग गर्न भने तपाईँले माइक्रोसफ्ट अकाउन्ट बनाउनु वा साइनइन गर्नुपर्ने हुन्छ ।
केही अथेन्टिकेटर एपहरूले आफ्नो सुविधा प्रयोग गर्न चाहने प्रयोगकर्ताका थुप्रै डेटा सङ्कलन गरिरहेका हुन्छन् । तर माइक्रोसफ्ट अथेन्टिकेटरको एन्ड्रोइड र आईओएस भर्सनले लोकेसन र डायग्नस्टिक डेटा सङ्कलन गर्छ, जुन अस्वाभाविक पनि होइन ।
यसले तपाईँको अनुमत बिना ब्याकग्राउन्डमा तपाईँको व्यक्तिगत डेटा सङ्कलन गरेर बस्दैन । जब कि गुगलको अथेन्टिकेटर एपको कुरा गर्ने हो भने त्यसले तपाईँको फोनको कन्ट्याक्ट लिस्ट र तपाईँको डिभाइसमा रहेका फोटो तथा भिडिओबाट समेत डेटा सङ्कलन गर्न सक्छ ।
माइक्रोसफ्ट अथेन्टिकेटर एप डाउनलोड गरिसकेपछि यसको प्राइभेसी पोलिसी (गोपनीयता नीति) एसेप्ट (स्वीकार) गर्नुपर्छ । सकेसम्म उक्त नीति पढ्नु होस् ।
माइक्रोसफ्ट अथेन्टिकेटरमा अकाउन्टहरू एड (थप) गर्न निकै सजिलो छ । तपाईँको कुनै पनि (फेसबुक, इन्स्टाग्राम, गुगल, माइक्रोसफ्ट आदि) अकाउन्ट खोलेर टुफ्याक्टर अथेन्टिकेसन अन गरिसकेपछि अथेन्टिकेटर एप सेक्सनमा जानुहोस् । अब त्यहाँ देखिने क्यूआर कोड माइक्रोसफ्ट एपलाई क्यामेरा एक्सेस दिएर स्क्यान गर्नुहोस् ।
अब कुनै अकाउन्टमा लग इन गर्ने क्रममा तपाईँले आफ्नो परिचय प्रमाणीकरण गर्नु पर्यो भने अथेन्टिकेटर एपको ड्याशबोर्डमा रहेको ६ अङ्कको कोड राख्नु पर्ने हुन्छ । यो एपबाट तपाईँ कुनै अकाउन्ट हटाउन चाहनु हुन्छ भने पनि ड्याशबोर्डमा रहेको अकाउन्टमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि स्क्रिनको माथि दायाँ कुनामा रहेको गियरमा गएर रिमुभ अकाउन्ट भन्ने बटनमा दबाउन सक्नु हुन्छ ।
तपाईँ एप्पलको किचेन अथवा गुगल क्रोम र फायरफक्स जस्ता ब्राउजरमा स्टोर गरिएका पासवर्ड पनि यसमा इम्पोर्ट (ल्याउन) गर्न सक्नु हुन्छ । यति मात्र होइन, यसले वनपासवर्ड, बिटार्डेन, ड्याशलेन, लास्टपास तथा नोर्डपास जस्ता लोकप्रिय पासवर्ड म्यानेजरबाट समेत पासवर्डको सूची इम्पोर्ट गर्न सक्छ ।
माइक्रोसफ्ट अथेन्टिकेटरलाई पासवर्ड म्यानेजरको रूपमा प्रयोग गर्न सुरु गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो डिभाइसको सेटिङ मेनुमा गएर अटो-फिलिङलाई इनेबल गर्नुपर्ने हुन्छ । यसका लागि एपले सहज किसिमको निर्देशन उपलब्ध गराउँछ ।
एपको एड्रेस सेक्सनमा तपाईँको नाम, ठेगाना र फोन नम्बर जस्ता जानकारी स्टोर गरिएको हुन्छ । वेबसाइटहरूमा अटो-फिलिङ इनेबल गर्नको लागि सेटिङ मेनुमा जानुहोस् र ‘सेट एज अटोफिल प्रोभाइडर’ टोगल अन गर्नुहोस् ।
यदि तपाईँको ब्राउजरमा अटो-फिलिङले काम गरिरहेको छैन भने तपाईँ ‘मोर एप्स एन्ड साइट सेटिङ्स’ अटोफिल टर्न गर्न सक्नु हुन्छ । याद राख्नुहोस्, यो सेटिङ अन गर्नु भनेको माइक्रोसफ्ट अथेन्टिकेटरलाई एप ब्याकग्राउन्डमा रन भइरहेको बेला तपाईँको डिभाइसमा रहेको एक्सेसिबिलिटी टुलमा पहुँच दिनु हो । यसले उक्त एपलाई भारी बनाउन र ब्याट्री लाइफ समेत घटाइदिन सक्छ ।
माइक्रोसफ्ट अथेन्टिकेटरले तपाईँको एमएफए टोकनका लागि ब्याकअप समेत तयार पारिदिन सक्छ । जुन तपाईँले नयाँ फोन किन्नु भयो वा पुरानो हराउनु भयो भने काम लाग्छ । तपाईँ आफ्नो डेटा आईक्लाउड वा आफ्नो माइक्रोसफ्ट अकाउन्टमा ब्याकअप राख्न सक्नु हुन्छ । ब्याकअप मेनुमा रहेको डिटेल्स बटन ट्याप गर्नु भयो भने त्यहाँ तपाईँले पछिल्लो पल्ट तपाईँको डेटा कहिले ब्याअप गरिएको थियो र ट्रान्सफरका लागि कुन डिभाइस प्रयोग गरिएको थियो भन्ने कुरा देख्न सक्नु हुन्छ ।
एमएफए टोकन सिर्जना गर्न र तपाईँका अनलाइन अकाउन्ट जोगाउन माइक्रोसफ्ट अथेन्टिकेटरले राम्रोसँग काम गर्न सक्छ । यो सेटअप तथा प्रयोगका लागि पनि सजिलो छ, जसले अनलाइन अथेन्टिकेसनका लागि यसलाई एउटा राम्रो विकल्प बनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १५, २०८१ १०:४३
सामाग्री श्रोत :
टेक पाना