२०८२ श्रावण ६ सोमबार
LATEST NEWS
२०८२ श्रावण ६ सोमबार

गुगल म्याप्समा कसले नाम फेर्‍यो पत्ता लगाउन सकिन्छ त ? जोखिम कम गर्न अपनाउनुस् यी तरिका

काठमाडौँ । गुगल म्याप्समा धरहराको नाम ‘सेतो टावर’ देखिएपछि शनिबारदेखि यस विषयले चर्चा पाइरहेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुँदा वर्तमान प्रमुख बालेन्द्र शाह (बालेन)ले नवनिर्मित धरहरालाई ‘सेतो टावर’को उपनाम दिएका थिए ।

२०७२ सालको भूकम्पले भत्काएको पुरानो धरहराको छेउमा यो आधुनिक धरहरा निर्माण गरिएको हो । बालेनले नयाँ धरहराको विरोध गर्नुका पछाडि विभिन्न तर्क थिए । उनका अनुसार ‘धरहरा’ को शाब्दिक अर्थ ‘सबैभन्दा अग्लो’ भए पनि नयाँ धरहरा निर्माण हुँदा राजधानीमा त्योभन्दा अग्ला भवन बनिसकेका छन् । साथै नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको मौलिक धरहराको पहिचान मासिएको भन्दै बालेनले धरहरालाई सेतो टावरको उपनाम दिएका थिए । 

त्यसपछि समय समयमा यो नाम चर्चामा आइरहने गर्छ। गुगल म्याप्समा पनि बारम्बार नाम परिवर्तन भइरहने गर्छ। यसरी बारम्बार धरहराको नाम कसले फेर्छ? के नाम फेर्ने व्यक्तिको पहिचान गर्न सकिन्छ ? के छ तरिका ? भन्नेबारे सामाजिक सञ्जालमा बहस भइरहेको छ । यस लेखमा गुगल म्याप्स र यससँग जोडिएका विभिन्न प्राविधिक पक्षबारे जानकारी दिइएको छ ।

कसले फेर्न सक्छ गुगल म्याप्समा रहेको नाम ?

गुगल म्याप्समा जोकोहीले पनि कुनै ठाउँको नाम फेर्न, नयाँ ठाउँ राख्न, अन्य विवरण थप्न पाउँछ । सामा‍न्य सेटिङबाटै यो काम गर्न सकिन्छ । नाम फेर्न वा राख्न सकिने भए पनि सार्वजनिकरूपमा गरिएका हरेक एडिटको पछाडि को व्यक्ति छ भनेर सिधै पत्ता लगाउन भने सम्भव छैन । गुगलले पनि यस्तो सुविधा दिँदैन । तर, अनुसन्धान तथा कानूनी कारबाहीको विषय भए औपचारिक तरिकाबाट सरकारी निकायले यो विवरण गुगलबाट झिकाउन सक्छन्। तर, सोझै गुगलले प्राइभेट म्यापिङ लगको एक्सेस भने दिंदैन । 

अब गुगल म्याप्सको जानकारी कसरी अपडेट हुन्छ, यी परिवर्तन कसले गरिरहेको हुन सक्छ र तपाईं आफ्नो व्यवसाय (ठाउँको नाम)को जानकारीलाई सही तरिकाले व्यवस्थापन गर्न के-कस्ता कदम चाल्न सक्नुहुन्छ भन्नेबारे चर्चा गरौं । 

गुगल म्याप्स धेरै मानिसका लागि महत्त्वपूर्ण स्रोत हो जसले बाटो पत्ता लगाउनदेखि स्थानीय व्यवसाय र सेवाहरू खोज्नसम्म मद्दत गर्छ । यो जानकारीलाई सधैँ सही र अप-टु-डेट राख्न गुगलले विभिन्न स्रोतबाट डेटा संकलन गर्न विभिन्न प्रणालीमा निर्भर रहन्छ । सन् २०१० देखि अहिलेसम्म ९७ करोडभन्दा बढी मानिसले गुगल म्याप्समा रिभ्यु लेख्ने, फोटो अपलोड, रेटिङ  र ठेगाना तथा खुल्ने समय जस्ता तथ्यगत जानकारी थपेर योगदान पुर्‍याएका छन् । यसरी प्रयोगकर्ताबाट जानकारी संकलन गर्दा म्याप्सको डेटा त बढ्छ तर कहिलेकाहीँ गलत वा अनावश्यक परिवर्तनलाई व्यवस्थापन गर्नुपर्ने चुनौती थपिन्छ । अहिले धरहराको सन्दर्भमा त्यही स्थिति देखिएको हो । 

गुगलका अनुसार तपाईंको म्याप्समा हुने विभिन्न किसिमका परिवर्तन तल उल्लेख गरिएका चार मुख्य स्रोतबाट आउन सक्छन् :

१) सार्वजनिकरूपमा उपलब्ध जानकारी 

गुगलको स्वचालित प्रणाली (एल्गोरिदम)ले इन्टरनेटमा तपाईंको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल (जस्तै: फेसबुक, लिङ्क्डइन) र अन्य अनलाइन स्रोतबाट निरन्तर जानकारी तानिरहेको हुन्छ । यदि कुनै ठाउँ वा व्यवसायको वेबसाइट र गुगल बिजनेस प्रोफाइलमा व्यवसाय खुल्ने समय फरक-फरक छ भने गुगलले बढी विश्वसनीय ठानेको स्रोतको आधारमा उक्त ठाउँ वा व्यवसायको प्रोफाइललाई स्वतः अपडेट गर्न सक्छ । त्यसैले यदि तपाईंको व्यवसाय गुगल म्याप्समा लिस्टिङ गर्नु भएको छ भने आफ्ना सबै अनलाइन प्लेटफर्ममा व्यवसायको जानकारी एकनासको राख्नु अत्यन्त महत्त्वपूर्ण छ ।

२) थर्ड-पार्टी एप्लिकेसन 

धेरै व्यवसायले विभिन्न मार्केटिङ वा व्यवस्थापनका लागि थर्ड-पार्टी एप प्रयोग गर्छन् । त्योमध्ये केही एपलाई उनीहरूले आफ्नो गुगल बिजनेस प्रोफाइलमा डेटा पठाउन अनुमति (API access) दिएका हुन्छन् । यो प्रायः ध्यान नपुग्ने स्रोत हो । यदि सो व्यक्तिले अब प्रयोग नगर्ने एपलाई पहुँच दिएको छ वा ती एपमा गलत जानकारी छ भने त्यसले गुगल म्याप्सको बिजनेस प्रोफाइलमा पुरानो वा गलत डेटा पठाइरहेका हुन सक्छन् । तर, यो माध्यम नेपालमा कमै प्रयोग हुने जानकार बताउँछन् ।

३) ओनर वा मेनेजर 

गुगल म्याप्समा लिस्टिङ गरिएका ठाउँ वा व्यवसाय जोकोहीले क्लेम (दाबी) गर्न पाउँछ । सबैभन्दा पहिले जसले दाबी गर्‍यो, सो ठाउँ व्यवस्थापन त्यही व्यक्तिले गर्न पाउँछ । यदि तपाईंको व्यवसाय पहिले नै अरु कसैले दाबी गरेको छ भने तपाईंले रिपोर्ट गरेर आफ्नो बनाउन सक्नुहुन्छ । तर, सामान्यतः जसले सबैभन्दा पहिले दाबी गर्छ, गुगल म्याप्समा उक्त ठाउँ व्यवस्थापन गर्न उसैले पाउँछ । त्यस्तै व्यवसाय व्यवस्थित गर्ने एक्सेस दिएको अकाउन्टबाट पनि व्यवस्थापन गर्न सकिन्छ । यसरी व्यवसाय दाबी गरेको ओनर वा मेनेजरले जुनसुकै बेला त्यसमा भएका विवरण परिवर्तन गर्न सक्छन् । 

यो विषय सामान्य लागे पनि धेरैले बेवास्ता गर्छन् । नियमितरूपमा आफ्नो प्रोफाइलमा पहुँच भएका प्रयोगकर्ताको सूची जाँच गर्ने र पुराना कर्मचारी वा विश्वास नभएका व्यक्तिलाई हटाउनु अनाधिकृत परिवर्तनहरू रोक्ने एक महत्त्वपूर्ण कदम हो ।

४) सार्वजनिक प्रयोगकर्ताको एडिट

गुगल म्याप्सले प्रयोगकर्ता (जसमा लोकल गाइड पनि पर्छन्)लाई व्यवसायको सूचीमा परिवर्तन सुझाव गर्न अनुमति दिन्छ । सबै सुझाव सिधै लाइभ हुँदैनन्। तर, गुगलको प्रणालीले सुझाव दिने स्रोत (जस्तै: उच्च तहको लोकल गाइड) लाई विश्वसनीय मान्यो भने, त्यो एडिट स्वीकृत हुने सम्भावना बढी हुन्छ । यसको फाइदा र बेफाइदा दुवै छ: यसले जानकारीलाई अप-टु-डेट राख्न मद्दत गर्छ। तर, कहिलेकाहीँ गलत वा अनावश्यक परिवर्तन पनि हुन सक्छन् । त्यो जोखिम रहिरहन्छ ।

यसरी विभिन्न तरिकाले गुगल म्याप्समा पहिले नै भएका जानकारी अपडेट हुन्छन् । 

यसरी जोकोहीले सजिलै आफ्नो व्यवसायमा अनावश्यक परिवर्तन गरेर दुःख नदेओस् भन्नका लागि बिजनेस प्रोफाइल भेरिफिकेसन गर्नुपर्ने हुन्छ । बिजनेस क्लेम गर्नु भनेकै बिजनेस प्रोफाइल भेरिफिकेसन गर्नु हो । आफ्नो व्यवसायको अनलाइन जानकारीलाई सुरक्षित राख्न र नियन्त्रण गर्न तपाईंले चाल्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कदम भनेको आफ्नो गुगल बिजनेस प्रोफाइललाई भेरिफाइ (Verify) गर्नु हो । भेरिफाइ गरिएको प्रोफाइलको आधिकारिक व्यक्तिले मात्र गुगल सर्च, म्याप्स र अन्य गुगल सेवामा आफ्नो व्यवसायको जानकारी प्रभावकारीरूपमा व्यवस्थापन गर्न सक्छ ।

भेरिफाइ गरिएको प्रोफाइलका फाइदाहरू:

जानकारी अपडेट गर्ने अधिकार

तपाईंले आफ्नो व्यवसायको जानकारी, फोटो, पोस्ट र ग्राहकका रिभ्युको जवाफ दिन सक्ने अधिकार पाउनुहुन्छ ।

अरूको परिवर्तनबाट सुरक्षा

सबैभन्दा महत्त्वपूर्ण विषय- भेरिफाइ गरिएको प्रोफाइलमा अरूले सुझाएका परिवर्तनलाई तपाईंले स्वीकार वा अस्वीकार गर्न सक्नुहुन्छ । यदि तपाईंको प्रोफाइल भेरिफाइ गरिएको छैन भने, कुनै पनि परिवर्तन स्वतः लागू हुन सक्छ ।

ग्राहकको विश्वास वृद्धि

गुगलकाअनुसार प्रयोगकर्ताले भेरिफाइ गरिएको व्यवसायलाई बढी विश्वसनीय मान्छन् ।

लोकल सर्च (लोकल एसईओ)मा राम्रो र्‍याङ्किङ 

भेरिफाइ गरिएको प्रोफाइलको जानकारीले लोकल सर्च रिजल्टमा तपाईंको व्यवसायको र्‍याङ्किङ सुधार गर्न मद्दत गर्छ ।

गुलग म्याप्समा बिजनेस प्रोफाइल विभिन्न तरिकाले भेरिफाइ गर्न सकिन्छ । हुलाकबाट कोड पठाउने, फोन/एसएमएस, इमेल, भिडियो कल वा भिडियो रेकर्डिङ आदिबाट भेरिफाइ गर्न सकिन्छ । 

जानकारी परिवर्तन भएमा के गर्ने ?

आफ्नो गुगल बिजनेस प्रोफाइलको जानकारीलाई सही राख्न नियमित निगरानी आवश्यक छ । भेरिफाइ गरिएको प्रोफाइल भएका व्यवसायले तल उल्लेख उल्लेख गरिएका तरिका पालना गर्न सक्छन् ।

  • नियमित निगरानी: आफ्नो प्रोफाइलमा कुनै अप्रत्याशित परिवर्तन भए/नभएको नियमितरूपमा जाँच गर्नुहोस् ।

  • सबै प्लेटफर्ममा एकरूपता: आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा व्यवसायको ठेगाना, फोन नम्बर र खुल्ने समय जस्ता विवरण एकनासको राख्नुहोस् ।

  • थर्ड-पार्टी एपको एक्सेस जाँच: समय-समयमा कुन-कुन एपलाई पहुँच दिइएको छ भनी जाँच गर्नुहोस् र अनावश्यक एपको पहुँच बन्द गर्नुहोस् ।

  • बिजनेस प्रोफाइल मेनेजरको सूची व्यवस्थापन: पुराना कर्मचारी वा विश्वास नभएका प्रयोगकर्तालाई पहुँच (एक्सेस) लिस्टबाट हटाउनुहोस् ।

  • गलत जानकारी सिधैं एडिट गर्नुहोस्: तपाईंले गुगल सर्च वा म्याप्स एपबाटै आफ्नो प्रोफाइलको गलत जानकारी सोझै एडिट गर्न सक्नुहुन्छ ।

यदि तपाईंको कुनै व्यवसाय गुगल म्याप्समा लिस्टिङ छैन भने पनि तपाईंको भूमिका हुन्छ । यदि तपाईंले कुनै गलत जानकारी देख्नुभयो भने तपाईंले गुगल म्याप्समा सिधैं एडिटको सुझाव दिन सक्नुहुन्छ वा गलत वा भ्रामक जानकारीको रिपोर्ट गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १७:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट