काठमाडौँ । सामाजिक सञ्जाल विशेषगरी फेसबुक र टिकटकमा अहिले एउटा दाबी भाइरल भइरहेको छ । जसमा भनिएको छ, “मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ ।” अष्ट्रेलियाको एक विश्वविद्यालयको अध्ययनले यस्तो निष्कर्ष निकालेको भन्दै शेयर भइरहेका पोस्टले धेरै प्रयोगकर्तामाझ कौतुहल र एक प्रकारको त्राससमेत पैदा गरेको छ ।

तर, टेकपाना फ्याक्टचेकले यो दाबीलाई अतिरञ्जित र भ्रामक रूपमा प्रस्तुत गरिएको पत्ता लगाएको छ । एउटा वास्तविक तर विवादास्पद वैज्ञानिक अध्ययनको तथ्यलाई बङ्ग्याएर यस्तो अफवाह फैलाइएको हो ।
दाबी
सामाजिक सञ्जालमा फैलिएको दाबी अनुसार धेरै मोबाइल चलाउँदा टाउकोमा सिङ पलाउन सक्छ । सोमबार (१४ जुलाईमा) ‘ग्यालेक्सी खबर’ (galaxykhabar) नामक टिकटक आईडीबाट पोस्ट गरिएको एक भिडिओमा समाचारवाचिकाले भनेकी छिन्, “मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको सनसाइन विश्वविद्यालयमा गरिएको अनुसन्धानमा धेरै मोबाइल चलाउँदा यस्तो नयाँ हड्डी विकसित भएको पाइएको हो ।” भिडिओको पृष्ठभूमिमा सिङजस्तो देखिने मानिसका तस्बिरहरू समेत प्रयोग गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त टिकटक भिडिओमा ६६.५ हजारभन्दा बढी लाइक, २०१२ कमेन्ट र ७४.६ हजारभन्दा बढी शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

‘ग्यालेक्सी खबर’ कै फेसबुक पेजले १३ जुलाईमा सोही भिडिओ राखेको देखिन्छ । जसमा यो सामग्री तयार पार्दासम्म ३६.४ हजार रियाक्सन, १.२ हजार कमेन्ट र २.४ हजार शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अनुसन्धान
गुगल, फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल र सर्च इन्जिनहरूमा विभिन्न किवर्डहरू राखेर सर्च गर्दा यो दाबी व्यापक रूपमा फैलिएको पाइयो । ‘धेरै मोबाइल चलाउनेको टाउकोमा अब सिङ उम्रन सक्ने’ भन्ने दाबीसँग सम्बन्धित किवर्डहरू जस्तै; ‘मोबाइल चलाउँदा सिङ’, ‘मोबाइल सिङ’, ‘मान्छे सिङ’, ‘phone use horns’, ‘head horns study’ आदि राखेर सर्च गर्दा यस्तै दाबी गरिएका दर्जनौँ पोस्ट तथा पुराना सामग्री भेटिए ।
यसक्रममा फेसबुक पेज ‘NEB Result’ ले १२ जुलाईमा पोस्ट राखेको भेटियो, जसमा लेखिएको छ, “मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको सनसाइन विश्वविद्यालयमा गरिएको अनुसन्धानमा धेरै मोबाईल चलाउदा यस्तो नयाँ हड्डी बिकशित भएको पाइएको हो । अनुसन्धानको अनुसार लगातार टाउको झुकाउदा घाँटीमा दबाव परेर हड्डी बाहिर निस्किन सक्ने बताइएको हो ।” यो सामग्री तयार पार्दासम्म ‘NEB Result’ को उक्त पोस्टमा ३.४ हजार रियाक्सन, ३३३ कमेन्ट र २१४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
केही फेसबुक प्रयोगकर्ताहरूले ‘पुरुषको पछाडि र महिलाको अगाडि एन्टेना जस्तो हड्डी पलाउने प्रबल सम्भावना हुन सक्ने’ जस्ता विवरण थपेर समेत पोस्ट गरेका छन् ।
पुराना सामग्री खोज्ने क्रममा अनलाइन खबर डटकम (onlinekhabar.com) ले २०७६ असार ९ गते ‘बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’’ शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो । अनलाइन खबरले पनि सनसाइनकोस्ट विश्वविद्यालयका शोधकर्ताको खोजलाई आधार मानी सीएनबीसीले लेखेको समाचारको आधारमा बढी मोबाइल चलाउने मानिसको खप्परमा सिङजस्तो हड्डी पलाउन थालेको लेखेको छ । समाचारमा भनिएको छ, “स्मार्टफोनको स्क्रिनमा हेर्नका लागि टाउको अगाडि झुकाइरहने बानीका कारण खप्परमा यसरी सिङजस्तो हड्डी पलाउन थालेको शोधकर्ताको निष्कर्ष छ । साथै मोबाइल बढी चलाउने मानिसको शरीरको उठबसको शैली अर्थात् पोस्चरमा हुने गडबडीका कारण पनि त्यस्तो भएको हो ।” हेर्नुहोस् ओरिजिनल लिङ्क र समाचारको शीर्षकको स्क्रिनशट ।
त्यस्तै, जुलाई १५, २०१९ मा नयाँ नेपाल न्युज डटकमले ‘कस्तो अचम्म ! धेरै मोबाइल चलाउँदा टाउकोमा उम्रिँदै छ सिङ’ नामको शीर्षकमा समाचार लेखेको छ । स्रोतको आधार सनसाइन कोस्ट युनिभर्सिटीकै शैधलाई लिएपनि नयाँ नेपाल न्युज डटकमले बढाइचढाइ गरी समाचार लेखेको छ । जसमा लेखिएको छ,- “मोबाइल ट्याबजस्ता साना मेसिनरी सामानका कारण हाम्रो शरीरभित्र रहेको अस्थिपञ्जर अर्थात् कंकालको आकारमा पनि परिवर्तन भइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शोधका अनुसार मोबाइल धेरै प्रयोग गर्ने युवाको शिरमा सिङ निस्किरहेको छ । धेरै ग्याजेट्स चलाउने केही युवाको शिरको स्क्यान गर्दा यो कुरा प्रमाणित भएको हो ।” हेर्नुहोस् ओरिजिनल लिङ्क र समाचारको शीर्षकको स्क्रिनशट ।
यसबाहेक सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा विभिन्न आईडीमार्फत यस्तै सामग्री पोस्ट भइरहेका छन्, जसलाई सयौंले रियाक्सन, कमेन्ट र शेयर गरेका छन् । हेर्नुहोस् केही उदाहरण:
भाइरल भइरहेको यो दाबीको सत्यता केलाउन हामीले यसको स्रोत र वैज्ञानिक आधारबारे अनुसन्धान गर्यौँ । अनुसन्धानको क्रममा निम्न तथ्यहरू फेला परे:
यो दाबी सन् २०१६ मा अष्ट्रेलियाको युनिभर्सिटी अफ द सनसाइन कोस्ट (University of the Sunshine Coast) का अनुसन्धानकर्ता डेभिड शाहार (David Shahar) र मार्क सेयर्स (Mark Sayers) ले गरेको एक अध्ययनसँग सम्बन्धित रहेको भेटियो । उनीहरूको अनुसन्धान सन् २०१९ मा बीबीसी, वासिङ्टन पोस्ट जस्ता अन्तर्राष्ट्रिय मिडियाले रिपोर्ट गरेपछि विश्वव्यापी रूपमा भाइरल भएको रहेछ ।
‘Journal of Anatomy’ मा प्रकाशित ‘A morphological adaptation? The prevalence ofenlarged external occipital protuberance in youngadults’ शीर्षकको उक्त अध्ययनले १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको एक्स-रे विश्लेषण गर्दा सहभागीमध्ये कतिपयको टाउकोको पछाडिपट्टि, घाँटीको ठीक माथि एउटा सानो हड्डीको टुक्रा (Bone Spur) बढेको पाएको थियो । यसलाई वैज्ञानिक भाषामा ‘Enlarged External Occipital Protuberance (EEOP)’ भनिन्छ ।
उक्त अध्ययनमा १८-३० वर्ष उमेर समूहका कुल २१८ जना सहभागीहरूमा ‘EEOP’ (बढेको बाहिरी ओसिपिटल प्रोटुबेरेन्स) को प्रचलनको जाँच गरिएको थियो । यसअन्तर्गत कुल जनसंख्याको ४१ प्रतिशत (८९ जना) मा ‘EEOP’ अर्थात् उनीहरुको खोपडीको पछाडि १० देखि ३० मिलिमिटरको हड्डीको गाँठो विकास भएको पत्ता लगाएको थियो । पुरुषहरूमा ‘EEOP’ को प्रचलन महिलाहरूमा भन्दा उल्लेखनीय रूपमा बढी थियो । पढ्नुहोस् अनुसन्धानको नतिजा र निष्कर्ष
उसो भए अनुसन्धानको निष्कर्षमा ‘सिङ’ पलाएको वा पलाउन सक्ने भनिएको छ त ? छैन । अध्ययनमा पाइएको हड्डीको टुक्रालाई सिङ वा एन्टेना कतै भनिएको छैन । यो हड्डीको एउटा सानो असामान्य वृद्धि (बोन स्पर) मात्र हो, जुन सामान्यतया नाङ्गो आँखाले देखिँदैन र बाहिरबाट छाम्दा मात्र महसुस हुन सक्छ । नेपालमा अहिले टिकटक, फेसबुक पोस्टमा देखाइएको जस्तो बाहिरै निस्किएको सिङ पलाउने कुरा अध्ययनले कतै उल्लेख गरेको छैन ।
अनुसन्धानकर्ताहरूको परिकल्पना (हाइपोथेसिस) अनुसार, लामो समयसम्म मोबाइल, ट्याब्लेट वा ल्यापटपजस्ता उपकरण चलाउँदा हाम्रो टाउको लगातार अगाडि झुकिरहन्छ । यो अवस्थालाई ‘टेक्स्ट नेक’ (Text Neck) पनि भनिन्छ । टाउकोको तौल (करिब ५ केजी) लाई सन्तुलनमा राख्न र घाँटीको मांसपेशीमा पर्ने अतिरिक्त दबाबलाई कम गर्न शरीरले अनुकूलनका लागि टाउकोको पछाडि यो सानो हड्डीको विकास गर्छ । यो शरीरको एक प्रकारको रक्षात्मक प्रतिक्रिया हो । अहिले सामाजिक सञ्जालका पोस्टमा भनिएजस्तो यो ‘नयाँ हड्डी’ भने होइन, बरु विद्यमान हड्डीकै सानो वृद्धि हो ।
अर्कोतर्फ पुरुषको पछाडि र महिलाको अगाडि पलाउने दाबी पनि उक्त अध्यययनले पुष्टि गरेको छैन । हड्डीको आकार बढ्यो भने पनि महिला र पुरुष दुवैको टाउकोको पछाडिको भागमा (External Occipital Protuberance) मात्र हुन्छ । पुरुषको पछाडि र महिलाको अगाडि पलाउँछ भन्ने कुरा अफवाहलाई थप रोचक बनाउन थपिएको झुटो विवरण भएको पायौँ ।
अर्कोतर्फ उक्त अनुसन्धानले निकालेका निष्कर्ष नै अहिलेसम्म विवादित बनिरहेको छ । अनुसन्धानकर्तामध्ये एक डेभिड शाहारको व्यावसायिक स्वार्थ रहेको आरोप लागेपछि अध्ययनको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।
शाहार पेशाले एक काइरोप्राक्टिक हुन् । उनले ‘डाक्टर पोस्टर’ नामक अनलाइन स्टोर सञ्चालन गर्दै आएका छन्, जहाँ राम्रो पोस्चरका लागि विभिन्न उपकरण बेचिन्छन् । अध्ययन प्रकाशन गर्ने बेलामा उनले स्वार्थको खुलासा नगरेको पाइएपछि विवाद उत्पन्न भएको थियो । यस विषयमा द वासिङ्टन पोस्टले प्रकाशित गरेको सामग्री यहाँ क्लिक गरी पढ्नुहोस् ।
तर यही अध्ययनलाई लिएर स्मार्टफोन प्रयोगले मानिसकको टाउकोमा सिंग वा हड्डीको वृद्धि गराउने भन्दै बेलाबेलामा सनसनी तरिकाले पोस्ट बनाउने गरेको पाइन्छ । उक्त अध्ययनले स्मार्टफोन प्रयोगको सीधा मापन गरेकै थिएन । पछिका अध्ययनहरूले पनि स्मार्टफोन प्रयोग र हड्डी वृद्धिको सम्बन्धलाई पुष्टि गरेको तथ्य भेटिएन । थिबट ज्याक्ससहितको टोलीले गरेको एक अनुसन्धानमा २०११ र २०१९ बिच ‘EEOP’ को प्रचलन र आकारमा कुनै ठुलो परिवर्तन नभएको पाएको थियो । यो अवधि भनेको स्मार्टफोन प्रयोग वृद्धि भएको अवधि हो । पढ्नुहोस् उक्त रिसर्च पेपर
टाउकोको पछाडि सानो हड्डीको वृद्धि देखिनु सामान्य शारीरिक प्रक्रिया हुन सक्छ भनी विभिन्न अध्ययनहरूले देखाए पनि यस्तो वृद्धिलाई मोबाइल फोनको अत्यधिक प्रयोग (टेक नेक) सँग सिधा जोडेर हालसम्म कुनै वैज्ञानिक अध्ययन नै नभएको पाइयो ।
दाबी
धेरै मोबाइल चलाउँदा टाउकोमा सिङ पलाउन सक्ने ।
दाबीकर्ता
टिकटक/फेसबुक पेज ‘ग्यालेक्सी खबर’, एनईबी रिजल्ट लगायत ।
तथ्य
भाइरल दाबीमा ‘सिङ’ भनिएको कुरा वास्तवमा टाउकोको पछाडि कहिलेकाहीँ देखिने एउटा सानो हड्डीको असामान्य वृद्धि (बोन स्पर) मात्र हो, जुन बाहिरबाट देखिँदैन । यसलाई ‘सिङ’ भन्नु अतिरञ्जित र भ्रामक हो । अनि, हड्डीको वृद्धि मोबाइल फोनको प्रयोगले नै हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा अहिलेसम्म प्रमाणित छैन । एउटा पुरानो (सन् २०१८) अध्ययनले मोबाइल वा अन्य स्क्रिनमा हेर्दा लामो समयसम्म टाउको अगाडि झुक्ने (Text Neck) बानीले हड्डी वृद्धि हुनसक्ने सम्भावना औंल्याए पनि वैज्ञानिक रूपमा प्रमाणित गरेको थिएन । पछि भएका अन्य विश्वसनीय अनुसन्धानहरूले मोबाइल प्रयोग र यो हड्डीको वृद्धिबिच कुनै सिधा सम्बन्ध भेटाएका छैनन् । हड्डीको असामान्य वृद्धि स्मार्टफोनको आविष्कार हुनुभन्दा पहिले पनि मानिसमा देखिने शारीरिक अवस्था हो ।
निष्कर्ष
एक अष्ट्रेलियाली अध्ययनले केही युवाहरूको टाउकोको पछाडि सानो हड्डी (बोन स्पर) बढेको पाएको थियो, जसलाई ‘सिङ’ वा ‘एन्टेना’ भनिएको छैन । यो वृद्धिको कारण मोबाइलको प्रयोग हुनसक्ने भन्ने कुरा केवल एक विवादास्पद र अप्रमाणित परिकल्पना हो । यसलाई पछिल्ला कुनै पनि अध्ययनहरूले समर्थन गर्दैनन् । पुरुषको पछाडि र महिलाको अगाडि सिङ पलाउँछ भन्ने दाबीमा पनि कुनै सत्यता छैन । यो पूर्ण रूपमा मनगढन्ते हो । तसर्थ, विज्ञानको एउटा तथ्यलाई अतिरञ्जित र गलत व्याख्या गरेर सामाजिक सञ्जालमा त्रास र भ्रम फैलाइएको छ । सही शारीरिक मुद्रा कायम राख्नु स्वास्थ्यका लागि राम्रो भए पनि ‘सिङ’ नै पलाउँछ भन्ने हल्लामा कुनै वैज्ञानिक आधार छैन ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ ९:१
सामाग्री श्रोत :
टेक पाना